जिशिअ र प्रधानाध्यापकबीच शैक्षिक सुधारका २१ बुँदे सम्झौता



पुष्कर बुढाथोकी भक्तपुर,(नेस) ।
सरकारी विद्यालयको समग्र व्यवस्थापन तथा शैक्षिक उपलब्धि सुधारका लागि भक्तपुरका जिल्ला शिक्षा अधिकारी र जिल्लाका सरकारी सामुदायिक विद्यालयका प्रधानाध्यापक बीच २१ बुँदे कार्य सम्पादन सम्झौता भएको छ । जिल्लाको थप शैक्षिक उपलब्धिमा अझ सुधार गर्न जिशिअ अर्जुनबहादुर रायमाझी र विद्यालयका प्रअहरुबीच सम्झौता भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

विद्यालयको समग्र व्यवस्थापन सुधार गर्दै शैक्षिक उपलब्धि वृद्धिका लागि विगतमा भएका कार्यलाई निरन्तरताको साथ शैक्षिक गुणस्तर उकास्नका लागि कार्य सम्पादन सम्झौता भएको जिल्ला शिक्षा अधिकारी रायमाझीले बताउनुभयो ।

सम्झौतापत्रमा चालू आर्थिक बर्षको असार मसान्तभित्र विद्यालय सुधार योजना तयार गर्ने,क्षेत्र निर्धारण गरेर सो क्षेत्रका बालबालिकालाई विद्यालयमा ल्याउने, विद्यालयबाहिर बालबालिका नरहेको घोषणा गर्ने, बालमैत्री विद्यालय व्यस्थापनको वातावरण बनाउने, धुलोरहित कक्षाकोठामा विद्यार्थी पढाउने, अभिभावकसँग अन्तरक्रिया गर्दै विद्यार्थीलाई नियमित रुपमा विद्यालय आउने वातावरण बनाउने लगायतका वुँदाहरु समाबेश गरिएका छन् ।

रायमाझीले प्रअले सम्झौता अनुसार काम गरे नगरेको भन्ने विषयमा अनुगमन गर्ने बताउनुभयो ।सम्झौतामा शैक्षिक सत्रको अन्त्यमा प्रत्येक शिक्षकलाई आफूले शिक्षण गरेको विषयको सिकाइ उपलब्धि यकिन गर्न लगाई त्यसैका आधारमा आगामी शैक्षिक सत्रका लागि शिक्षण सुधार योजना बनाउने, विद्यालयले स्वीकृत पाठ्यक्रम तथा आवश्यकताअनुसार सन्दर्भ सामग्रीको यथोचित प्रबन्ध गर्ने, विद्यालयको नाममा निकासा भई बेरुजु कायम भएको कुनै पनि कार्यक्रम भएमा सम्झौता मितिले एक महिनाभित्र र अन्यको हकमा भदौ महिनाभित्र फछ्र्योटका लागि शिक्षा कार्यालयमा कागजात पेस गर्नेलगायतका बुँदा समेत समावेश गरिएको जिशिअ रायमाझीले बताउनुभयो ।

प्रअले गरेको सम्झौतामा उल्लेख ती वुँदाहरु कार्यान्वयनका लागि विद्यालय ब्यबस्थापन समिति, शिक्षक अभिभावक संघ र शिक्षक कर्मचारीको संयुक्त बैठकबाट स्पष्ट कार्ययोजना बनाउनुपर्ने पनि जिशिअ रायमाझीको भनाइ छ । जिल्लाका माध्यमिक, निमावि र प्रावि तहका १ सय ३० जना प्रअहरु र जिशिअबीच उक्त सम्झौता भएको हो ।

प्रतिक्रिया दिनुहोस्