एक महिनाका लागि रसुवागढी नाका बन्द



नेपाल समाचारपत्र
रसुवा
रसुवागढी नाकामा हिजो शनिबारदेखि एक महिनासम्म मालवाहक कन्टेनर सञ्चालन गर्न नपाइने भएको छ।

चीनसँगको एक मात्र व्यापारिक नाका रसुवागढीमा चिनियाँ नयाँ वर्ष तथा चाडपर्वलाई मध्यनजर गर्दै मालवाहक कन्टेनर सञ्चालनमा रोक लगाइएको हो। यही जनवरी २८ तारिखदेखि चिनियाँ नँया वर्ष शुरू हुने र नयाँ वर्षसँगै ग्याल्वो ल्होसार मनाइने भएकाले एक महिनाका लागि चिनियाँ पक्षले मालवाहक कन्टेर सञ्चालनमा रोक लगाएको हो।

रसुवागढी भन्सार कार्यालयका प्रमुख गोपाल कोइरालाका अनुसार चीनतर्फ शुक्रबारदेखि नै मालवाहक कन्टेनरमा सिल लगाउन बन्द गरिएको छ। सिल लगाइएका मालवाहक कन्टेनर शनिबार बेलुकीसम्म रसुवागढी नाका आइपुग्ने रसुवागढी भन्सार कार्यालयले जनाएको छ। नेपालबाट चीन जाने तयारीमा रहेका ढेढ सय कन्टेनर हिजोदेखि नै रसुवाको धुन्चे, कालिकास्थान, वेत्रावती तथा टिमुरेमा रोकिएका छन्।

चीनबाट नेपालमा सामान ढुवानी गर्दै आएको मुसा ट्रान्सर्पोट कम्पनीले हिजोदेखि ट्रान्सपोर्टको काम बन्द गरिसकेको नेपाल–चीन–केरुङ व्यापार संघका सचिव मुकुन्द पौडेलले जानकारी दिनुभएको छ।

प्रतिक्रिया दिनुहोस्