पाँचखालको वन कार्यालय बनेपामा



(मोतीराम तिमल्सिना)/ काभ्रे ।

लोकतन्त्र आएको एक दशक वितिसक्दा समेत जिल्ला वन कार्यालय मातहतको सेक्टर वन कार्यालय गैह्र कानुनी रुपमा संचालन भएको खुलासा भएको छ । ब्यवसायी तथा सर्वसाधारणहरुको सहजताका लागि पाँचखाल क्षेत्रमा रहनु पर्ने कार्यालय बनेपाको बुडोलबाट संचालन भईरहेको छ ।

रेञ्जपोष्टहरु इलाका वन कार्यालयमा स्तरोन्नती भएपछि रेञ्जपोष्टले गर्ने सबै काम इलाका वन कार्यालयबाट हुँदै आएको छ । महादेवस्थानमा रहेको इलाका वन समेत पाँचखालबाट संचालन हुँदै आएको छ । कार्यालय पाँचखाल राखेको महादेवस्थान इलाकाका सबै कागजात सोहि ठेगानाबाट संचालनमा ल्याईएको छ भने सेक्टर वन कार्यालयले समेत बनेपाको बुडोलबाट कार्यालय संचालन गरिरहेको छ ।

सेक्टर वन कार्यालयका प्रमुख रामकुमार भण्डारी पाँचखाल कार्यालय राखेर बस्नै मान्दैनन । उनी आफैले पाँचखालको कार्यालय बनेपाबाट संचालन गरेपछि महादेवस्थानको कार्यालय पनि पाँचखालबाट संचालन भएको हो । जिल्ला वन कार्यालय काभ्रेपलाञ्चोकले समेत गैह्र कानुनी ढंगबाट कार्यालय संचालन गर्ने मातहतका कार्यालयहरुलाई कारवाही गर्न सकेको छैन ।

उता पाँचखाल नगरपालिका ३ फेदी बजारमा रहेको उमादेवी फर्निचरमा थुपारिएको ५ सय २१ थान गोलिया काठ तस्करी गर्ने मुख्य अभियुक्त तेजप्रसाद न्यौपानेलाई मुद्दा दर्ता गरे पनि उनको फर्निचर बाहिर रहेका काठहरुका बारेमा अनुसन्धान गरेको थिएन । तेज न्यौपानेको फर्निचर भित्र रहेको काठहरु कहाँबाट ल्याईए ? कि उनको फर्निचर भित्र उनको काठ उत्पादन हुने जंगल छ ? जंगल भित्र रहेको काठ कसरी न्यौपानेको फर्निचरमा जम्मा भयो ? त्यसका बारेमा अनुसन्धान गर्नु पर्दैन ? वन कार्यालयले तोकेका अनुसन्धान अधिकृत ओमबहादुर ओलीले सबै काठ न्यौपानेको भन्दै प्रतिवेदन तयार पारी अदालत बुझाए ।

थप अनुसन्धानका लागि उनले चासो राखेनन् । अहिले फर्निचर बाहिर भएको काठका मालिकलाई खोजि भईरहेको छ । बाहिर ५ सय क्युफिट काठ रहेको छ । निरन्तर पत्रपत्रिकामा समाचार आउन थालेपछि वन कार्यालयका प्रमुख प्रेम खनालले थप अनुसन्धानका लागि निर्देशन दिए तर अनुसन्धान फित्तलो बनाउँदै मुख्य अभियुक्तहरुलाई जोगाउने तयारी गरिएको छ । वन कार्यालय भित्र हुकँदै गरेका धमिराहरुले वन तहस नहस हुँदा समेत मुकदर्शक बनेर रकम कुम्ल्याईरहेको सूचना कार्यालय प्रमुखलाई हुँदा समेत राजनीतिक दलहरुको संरक्षणका कारण उनले कारवाही गर्न सकेका छैनन ।

वन फँडानी भएको देउपुरको सालठाँटी वन तथा सोहि क्षेत्रका बन पाखाहरुको समेत अवलोकन र अनुसन्धान कार्यालयले गर्न चाहेन । तर खनालले सेक्टर वन कार्यालयका प्रमुख रामकुमार भण्डारीलाई जिल्लाका सबै इलाका कार्यालय मातहतका सामुदायिक, नीजि र राष्ट्रिय वनको अनुगमन गरी प्रतिवेदन बुझाउन पत्र नै लेखेका छन् । भण्डारी उक्त पत्रको वेवास्ता गर्दै उल्टै वन कार्यालय प्रमुखलाई कसरी यो छोटो समयमा अनुगमन हुन सक्छ ? फेरी पाँचखालको घटना अन्यत्र अनुगमन गरेर दुख दिने ? भन्दै रन्किन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्