१२ मुलुकका वनमन्त्री काठमाडौंमा



काठमाडौं (नेस)। हिउँ चितुवा पाइने विभिन्न १२ मुलुकका वनमन्त्री र एवं वन्यजन्तु विज्ञ काठमाडौंमा भेला भएका छन्।
‘ग्लोबल स्नो लियोपार्ड एन्ड इकोसिस्टम प्रोटेक्सन प्रोग्राम’ (जीएलएसईपी) को बैठकमा सहभागी हुन उच्च अधिकारीहरू काठमाडौं आएका हुन्।

किर्गिस्तानमा मुख्यालय रहेको जीएलएसईपीको दोस्रो उच्चस्तरीय बैठकमा सहभागी हुन रुस, किर्गिस्तान, अफगानिस्तान र चीनका वनमन्त्रीहरू काठमाडौंमा भेला भएका हुन्। बिहीबार अपराह्नसम्ममा ती मुलुकका वनमन्त्री काठमाडौं आइपुगेका छन् भने पाकिस्तानका वनमन्त्री आज शुक्रबार बिहान काठमाडौं आइपुग्दै हुनुहुन्छ। चीनबाट स्टेट फरेस्टी एडमिनिस्ट्रेसन उपमन्त्री झ्याङ जियानलङ सहभागी हुनुहुन्छ।

भुटान र भारतको उत्तराखण्ड राज्यबाट वन सचिव तथा मंगोलिया, काजाकिस्तान, ताजाकिस्तान र उज्वेकिस्तानबाट राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशकहरू काठमाडौं आइसकेका बैंठकको संयोजन गरिरहनुभएका वन मन्त्रालयका सहसचिव डा. महेश्वर ढकालले जानकारी दिनुभयो।

बैठकले आगामी सेप्टेम्बरमा उज्वेकिस्तानमा आयोजना हुने अन्तर्राष्ट्रिय हिउँ चितुवा सम्मेलनको आधार तयार गर्ने उहाँले बताउनुभयो। ‘यस्तो महत्वपूर्ण बैठक र उपस्थितिले संरक्षणकर्मीलाई हातेमालो गरेर अघि बढ्ने वातावरण तयार गर्नेछ भने हिउँ चितुवा जस्तो दुर्लभ जन्तु संरक्षणमा दात्तृ निकायहरूको ध्यानाकषर्ण गराउन मद्दत मिल्ने छ’ –ढकालले नेपाल समाचारपत्रसँग भन्नुभयो।

उज्वेकिस्तान सम्मेलनमा हिउँ चितुवा पाइने नेपाल, अफगानिस्तान, भुटान, चीन, भारत, काजाकिस्तान, किर्गिस्तान, मंगोलिया, पाकिस्तान, रुस, ताजाकिस्तान, उज्वेकिस्तानका १२ राष्ट्र प्रमुखहरू सहभागी हुनेछन्।

प्रतिक्रिया दिनुहोस्