सुशासन समितिमा भ्रष्टाचारको चर्चाः प्रधानमन्त्रीसँग सोधपुछ गर्न माग



नेपाल समाचारपत्र
काठमाडौं ।
देशमा भ्रष्टाचार मौलाउँदै गएको भन्दै सांसदहरूले प्रधानमन्त्रीसँग भ्रष्टाचारबारे सोधपुछ गर्नुपर्ने माग गरेका छन्। व्यवस्थापिका संसद्को सुशासन तथा अनुगमन समितिमा सांसदहरूले देशमा भ्रष्टाचार बढ्दै गएकोमा प्रधानमन्त्री पुष्पकमल दाहालले जवाफ दिनुपर्ने बताएका छन्।

सिंहदरबारस्थित समितिको कार्यालयमा बिहीबार बसेको बैठकले बढ्दै गएको भ्रष्टाचार नियन्त्रणका लागि राज्यले ठोस कदम चाल्नुपर्ने निष्कर्ष निकालेको हो। भ्रष्टाचार नियन्त्रणका लागि प्रधानमन्त्री दाहालसँग सोधपुछ गर्नैपर्ने अवस्था आएको निष्कर्ष निकाले पनि निर्णय भने गर्न सकेको छैन।

समितिका सदस्य सिद्धिलाल सिंहले भन्नुभयो– ‘भ्रष्टाचार नियन्त्रण गरी जनतालाई सुशासनको प्रत्याभूति दिलाउन प्रधानमन्त्रीसँगै सोधपुछ गरिनुपर्छ।’ उहाँले भ्रष्टाचार झाँगिँदै गएको उल्लेख गर्दै प्रधानमन्त्रीले यसको जवाफ दिनुपर्ने माग गर्नुभयो। स्थानीय विकास मन्त्रालयअन्तर्गतका भ्रष्टाचारबारे स्थानीय विकासमन्त्रीलाई समितिमा बोलाएर जवाफ माग्नुपर्ने सिंहले बताउनुभयो।

सद्भावना पार्टीका सांसद नरसिंह चौधरीले सांसदहरू आफैं भ्रष्टाचारमा मुछिएको भन्दै त्यसको छानविन गर्नुपर्ने विषयलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो। उहाँले सांसद कोषको समेत दुरुपयोग हुने गरेको भन्दै त्यस्ता कामको अनुगमन गर्न ढिलाइ गर्न नहुने बताउनुभयो।

सांसद सुशीला नेपालले स्थानीय निकायमा भ्रष्टाचार मौलाउँदै गएकाले यसलाई नियन्त्रण गर्न संसदीय समितिले विशेष योजना ल्याउनुपर्ने माग गर्नुभयो। उहाँले गाविस सचिवहरूलाई कार्य क्षेत्रमै गएर काम गर्न सरकारले कडाइ नगरेको बारे स्थानीय विकासमन्त्रीसँग स्पष्टीकरण लिनुपर्ने धारणा राख्नुभयो।

तराई मधेश लोकतान्त्रिक पार्टीका सांसद अकवाल महमद शाहले चन्द्रागिरी हिल्स लिमिटेडले चन्दागिरीमा भौतिक पूर्वाधार निर्माण गर्दा वातारणीय प्रभाव मूल्यांकनसमेत नगरेकोमा आक्रोश व्यक्त गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्