निर्दाेष ‘सिपाहि’ छ वर्षदेखि जेलमा



मोतीराम तिमल्सिना, काभ्रे

हत्या आरोपमा घटनामा संलग्न नै नभएका नेपाली सेनाका सिपाही ६ वर्ष देखि धुलिखेल कारागारमा कैद जीवन विताईरहेका छन् । हत्यामा संलग्न नभएको यथेष्ठ प्रमाणहरु हुँदा हुँदै अनुसन्धानमा संलग्न भएको देखाई सोहि आधारमा जिल्ला अदालतले उनलाई कैद सजाँय सुनाएको थियो ।

२०६८ साल माघ ३ गते बनेपा नगरपालिका वडा नम्वर ५ मा सिन्धुृली जरेटार गाविस ७ नेत्रबहादुर पुलामीको हत्या आरोपमा काभ्रेपलाञ्चोक जिल्ला डाँडागाउँ गाविस वडा नम्वर ८ की १९ बर्षिया फुलकुमारी लामा र  कैलाली जिल्ला प्रतापपुर गाविस वडा नम्वर ४ का २७ बर्षिय निर्मल भन्ने धिरेन्द्र मल्ललाई कारागारमा राखिएको हो । २०६१ साल भदौ २० देखि नेपाली सेनामा कार्यरत मल्लको उक्त घटनामा संलग्न नभएको तथ्य र प्रमाणहरुले देखाएको छ ।

अदालतमा पेश गरिएका प्रमाणहरुमा घटना भएको दिन मल्ल बाग्लुङ्ग जिल्ला स्थित भिमगिठ्ठे ठाउँमा कार्यरत थिए । उनी भक्तपुरको सुर्य विनायकबाट २०६७ साल फागुन माहिनामा बाग्लुङ्ग गएका थिए । त्यहि मिति देखि मल्ल काभ्रे आएका छैनन । फुलकुमारी र धिरेन्द्रको भेट त्यहि सुर्यविनायकमा साथीको माध्यमबाट भएको थियो । बाग्लुङ्ग गएपछि फुलकुमारी र मल्लको फोन समेत हुन छाडेको फुलकुमारीको मोवाईल कल डिटेलमा देखिएको छ ।

नेत्रबहादुर पुलामी मगरका दाजु गोपाल पुलामीले समेत धिरेन्द्रलाई किटानी उजुरी दिएका थिएनन् । फुलकुमारीले पुलामीलाई धिरेन्द्र मल्ल समेत मिलेर सलले घाँटी कसी, अण्डासयमा निचोरी मारेको भन्ने बयान प्रहरीले बनाउन लगाएर धिरेन्द्रलाई फसाएको फुलकुमारीले पत्र लेखेरै बुझाएकी छिन् । फुलकुमारीले नेत्रबहादुरलाई अण्डासयमा थिचेर मारेपछि साईकलमा राखेर शब बाटो मुनी खेतमा फ्यालेकी थिईन् ।

उनले त्यतिबेला सहयोग लिने ब्यक्तिका बारेमा प्रहरीले अनुसन्धान गरेको छैन बरु बाग्लुङ्गमा हुने धिरेन्द्र मल्ललाई दोषि देखाउँदै पक्राउ गरी अदालत पेश गरेको थियो । त्यतिबेला धिरेन्द्र बाग्लुङ्गमै कार्यरत रहेको तत्कालिन प्रमुख सेनानी इन्द्रबहादुर शाहले दिएको पत्र र हाजिरीबाट समेत पुष्टि भएको छ । शाहले आफ्नो फुली जोगाउन सिपाहीका बारेमा लागेको गलत आरोपको समेत खण्डन नगरेको गुनासो मल्लले गरेका छन् ।

फुलकुमारीले महिला बन्दि गृह जगनाथ देवलबाट जिल्ला कारागार धुलिखेलमा रहेका बन्दी धिरेन्द्र मल्ललाई प्रहरीको थर्ड डिग्री सजाँयको आतंकबाट डराएर भुलवस एक वर्ष अगाडी चिनजान भएको ब्यक्तिको नाम लिएको र सोहि आधारमा प्रहरीले पक्राउ गरी हत्यारा सावित गर्न खोजेकोमा आपत्ति जनाएकी छिन् । प्रहरीले उनलाई २०६८ माघ १५ गते बाग्लुङ्गबाटै पक्राउ गरेको थियो । प्रहरीले अनुसन्धानका क्रममा पेश गरेको कागजातमा धिरेन्द्र मल्लको विदाको हाजिरीलाई र सरुवा भएको समयलाई समेत सच्याएको फेला परेको छ ।

जिल्ला अदालतको फैसला उपर धिरेन्द्र पुनरावेदन गए तर फाईल नै अध्ययन नभई जिल्ला अदालतको फैसला सदर भयो । सर्वाेच्च अदालतमा शुरु भएको बहसमा मल्लले तथ्य र प्रमाणका आधारमा फैसला गर्न माग गरेका छन् । घटनामा संलग्न नै नभएको ब्यक्तिलाई दोषि करार गरी दोषि देखाउँदै निर्दाेष ब्यक्तिलाई जेल राख्ने प्रहरी अधिकारी विरुद्ध पनि मल्लले उजुरी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्