राष्ट्रिय झन्डाको कति सदुपयोग, कति दुरूपयोग !



(सानुराजा पुरी ) स्वाभिमान राष्ट्रिय झन्डाको, गौरव नेपालको। देशको राष्ट्रिय झन्डाको सम्मान गर्नु त्यस देशका प्रत्येक नागरिकको कर्तव्य र जिम्मेवारी हो। नेपालको राष्ट्रिय झन्डाको लामो र गहिरो इतिहास एकातिर छ भने अर्कोतिर अन्य देशको भन्दा हाम्रो झन्डा फरक प्रकृतिको रहेकोछ। नेपालको संविधान २०७२ को धारा ८ अनुसूची १ मा राष्ट्रिय झन्डाको विषयमा उल्लेख गरिएकोछ। विगतका अन्य संविधानहरूमा राष्ट्रिय झन्डाको वर्णन जस्तो गरिएको थियो यस संविधानमा पनि हुबहु उस्तैछ।

‘नेपालको राष्ट्रिय झन्डा र राष्ट्रिय गानको प्रयोगसम्बन्धी कार्यविधि २०६९’ मा राष्ट्रिय झन्डाको प्रयोग कसरी गर्ने र यसको दुरूपयोग गर्ननहुने व्यवस्था गरिएकोछ। नेपालको संविधान, २०७२ को धारा ८ (१) मा उल्लेख भएबमोजिम सिम्रिक रंगको पृष्ठभूमि र गाढा नीलो रंगको किनारा भएको दुई त्रिकोण अलिकति जोडिएको, माथिल्लो भागमा खुर्पे चन्द्रको बीचमा सोह्रमा आठ कोण देखिने सेतो आकार र तल्लो भागमा बाह्र कोणयुक्त सूर्यको सेतो आकार अंकित भएको, परम्परागत झन्डा नेपालको राष्ट्रिय झन्डा हो। राष्ट्रिय झन्डाको आकार र प्रयोग पदीय हैसियत र जिम्मेवारीअनुसार फरक–फरक रहेको छ।

सवारीसाधनमा र कार्यालय भवनमा राष्ट्रिय झन्डाको प्रयोग विधि प्रक्रिया रहेको छ। विशिष्ट व्यक्तिको रातो र नीलो मिसिएको नम्बर प्लेट प्रयोग भएको सवारीसाधनमा ३० गुणा २० सेन्टिमिटरको झन्डा प्रयोग गर्ने व्यवस्था गरिएको छ। राष्ट्रपति कार्यालयदेखि सरकारी भवनमा विदेशस्थित नेपाली राजदूतावासहरू र अन्य कूटनीतिक नियोगमा समेत राष्ट्रिय झन्डा राख्दा झन्डाको आकार ८ गुणा ६ फिटको हुनुपर्नेछ। संवैधानिक निकाय तथा सरकारी कार्यालय प्रमुखको कार्यकक्षभित्र ४ गुणा ३ फिटको राष्ट्रिय झन्डा संवैधानिक निकाय वा सरकारी कार्यालय प्रमुख बस्ने कुर्सीको दायाँपट्टि राख्नुपर्नेछ।

यसै गरी विदेशी राष्ट्राध्यक्ष वा सरकार प्रमुख नेपालमा अतिथि भई बसेको भवन, विदेशस्थित नेपाली राजदूत र अन्य कूटनीतिक नियोग प्रमुखको निजी निवासमा ६ गुणा ४ फिटको राष्ट्रिय झन्डा राख्नुपर्नेछ। नेपाली राजदूत र अन्य अन्य नियोगका प्रमुखले प्रयोग गर्ने सवारीसाधनमा ३० गुणा २० बमोजिमराष्ट्रिय झन्डाको प्रयोग गर्दा सम्बन्धित मुलुकको प्रचलनअनुसार गर्नुपर्नेछ। राष्ट्रिय पर्व, राष्ट्रप्रमुख वा सरकार प्रमुखको औपचारिक भ्रमण तथा समकक्षी विदेशी पाहुनाहरूको सवारीका बखत तोकिएबमोजिमको सडकको दायाँ–बायाँ र चोकमा फहराइने झन्डाको आकार ३ गुणा २.५ फिट हुने व्यवस्था गरिएकोछ। कुनै नेपाली नागरिकले राष्ट्रिय झन्डा राख्न चाहेमा ४ गुणा ३ फिटको राष्ट्रिय झन्डा डन्डामा भुइँमा नलत्रने किसिमले राष्ट्रिय झन्डाको उचित सम्मान प्रकट हुने गरी ठड्याएर राख्ने। राष्ट्रिय झन्डाको प्रयोग गर्ने विधिमा कार्यालय भवनमा स्थिररूपमा राखिएको न्यूनतम ५ मिटर ८० सेन्टिमिटर (१९ फिट) को अग्लो पोलमा डोरीले बाँधेर राष्ट्रिय झन्डा फहराउने, विशिष्ट व्यक्तिले प्रयोग गर्ने सवारीसाधनमा राष्ट्रिय झन्डा राख्दा सवारीसाधनको दाहिनेपट्टि अग्रभागमा ३५ सेन्टिमिटरको डन्डाको आधारमा नछुने गरी राख्नुपर्ने व्यवस्था छ।

सरकारी कार्यालय भवनभित्र र बाहिर तथा आवास भवनहरूमा प्रयोग गरिने राष्ट्रिय झन्डा हरेक वर्षको बडादशैं र नववर्षको अवसरमा अनिवार्य नयाँ फेर्नुपर्नेछ। तर राष्ट्रिय झन्डा च्यातिएमा, बिग्रेमा, रंग उडेमा वा अन्य कारणले अशोभनीय देखिएमा जुनसुकै समयमा पनि फेर्न सकिनेछ।झन्डालाई मौसमअनुसार बिहान ५ः००–५ः३० बजेदेखि साँझ १७ः३०–१८ः००बजे सम्म मात्र फहराउने र नेपाल सरकारले राष्ट्रिय शोक घोषणा गरेकोमा सोही बमोजिम झन्डा झुकाउनुपर्ने व्यवस्था गरिएकोछ।

राष्ट्रिय झन्डाको अपमान हुने कुनैकार्य गर्न, झन्डालाई उल्टो पार्न, च्यात्न, सामान पोको पार्न, व्यापारिक प्रयोजनका लागि विज्ञापनमा प्रयोग गर्न पाइनेछैन भने शरीरको कम्मरभन्दा माथिको भागमा मात्र प्रयोग गर्नपाइनेछ। झन्डाको दुरूपयोग भैरहेको पाइएको छ। सामान्य नागरिकदेखि जनतालाई सुसूचित गराउने सञ्चारमाध्यम, व्यापारिक प्रयोजनका विज्ञापनहरूमा खुलेआम राष्ट्रिय झन्डाको प्रयोग भएको छ। निजी सवारी, सार्वजनिक सवारीसधान, मोटरसाइकललगायतमा मापदण्डभन्दा विपरीतको आकार एवं रंगका झन्डा प्रयोग, झन्डा फोहोर गर्ने, झन्डालाई नफेर्ने समस्याका बारेमा कसैको ध्यान गएकोछैन। प्रविधिको विकासले गर्दा हामीले प्रयोग गर्ने सामाजिक सञ्जालमा राष्ट्रिय झन्डाको व्यापक दुरूपयोग गरिरहेकाछौं। कहिले कुनै देशको झन्डाले हामी हाम्रो देशको झन्डा आधा छोपिदिन्छौं। के यही हो राष्ट्रिय झन्डाको सम्मान ? अनि देशका जनताले झन्डाको सम्मान गरेको खोई त ? राष्ट्रिय झन्डाको सदुपयोग वा दुरूपयोगको बारेमा ‘नेपालको राष्ट्रिय झन्डा र राष्ट्रिय गानको प्रयोगसम्बन्धी कार्यविधि २०६९’को परिच्छेद४ दफा १७ बमोजिम प्रमुख जिल्ला अधिकारीले आफ्नो क्षेत्रभित्र झन्डाको प्रयोग अनुगमन गर्ने अधिकार रहेको छ। तर हालसम्म झन्डाको दुरूपयोगका बारेमा कहीँ–कतै कसैलाई सचेतसम्म गराइएको छैन। सचेत नागरिकले झन्डाको दुरूपयोगमा प्रमुख जिल्ला अधिकारीलाई जानकारी दिनेहो कि ?कार्यविधि २०६९ बमोजिम प्रत्येक नेपाली नागरिकले झन्डालाई सम्मानपूर्वक आफ्नो घरमा राख्न सक्छन् तर हामीले कार्यविधिको जानकारी नभएर वा जानजान राष्ट्रिय झन्डाको राष्ट्रियताका नाममा दुरूपयोग गरिरहेकाछौं।
(लेखक पुरी अधिवक्ता हुनुहुन्छ।)

प्रतिक्रिया दिनुहोस्