काठमाडौं विश्वविद्यालयलाई २४ घण्टे अल्टिमेटम



उपकुलपतिमा प्राज्ञिक व्यक्ति नियुक्तिको माग

(मोतीराम तिमल्सिना)/काभ्रे, २ माघ ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन केन्द्रिय कमिटीले काठमाडौ विश्वविद्यालयलाई विद्यार्थी कल्याण परिषद्को स्थगित गरिएको निर्वाचन २४ घण्टा भित्र शुरु गर्न अल्टिमेटम दिएको छ । संगठनका केन्द्रिय अध्यक्ष नविना लामाले विश्वविद्यालय परिसरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै उक्त चेतावनी दिएकी हुन् ।

काठमाडौ विश्वविद्यालयमा पौष ८ गते भएको विद्यार्थी कल्याण परिषद्को निर्वाचन अन्तर्गत कक्षा प्रतिनिधिहरुको चुनाव सम्पन्न भई कार्यसमितिको चुनाव स्थगित गरेको झण्डै एक महिनासम्म प्रकृया शुरु नगरेको भन्दै अनेरास्ववियुले अल्टिमेटम सहितको चेतावनी दिएको हो ।

काठमाडौ विश्वविद्यालय प्रशासनले तत्काल देखिएको समस्या समाधानका लागि भन्दै छानविन समिति गठन गरेको र छानविन समितिले पनि पौष १७ गते निर्वाचन तोकिसकेको अवस्थामा एउटा अमुक संगठनको विरोधलाई लिएर निर्वाचन नगरेको भन्दै अनेरास्ववियुले  विरोध गरेको हो ।

त्यस्तै अनेरास्ववियुले लामो समय देखि विश्वविद्यालयमा रिक्त रहेको उपकुलपति पदमा प्राज्ञिक प्रमाण पत्रमा राजनीतिक सदस्यको नियुक्ति नगर्न माग गरेको छ । विश्वविद्यालयका हरेक समस्यासँग जुध्न सक्ने प्राज्ञिक ब्यक्तित्व उपकुलपति हुनु पर्ने भन्दै अनेरास्ववियुले तत्काल नियुक्तिको माग गरेको हो ।  अनेरास्ववियुले आफ्ना मागहरुलाई २४ घण्टा भित्र पुरा नगरे विश्वविद्यालय ठप्प पार्ने चेतावनी दिएको छ ।

पत्रकार सम्मेलनमा प्रेस विज्ञप्ती जारी गर्दै अध्यक्ष नविना लामाले उक्त चेतावनी दिएकी हुन् । सम्मेलनमा केन्द्रिय सचिव समिक बडाल, केन्द्रिय सचिवालय सदस्य जेनिस लामा, केन्द्रिय सदस्य विनिता खतिवडा, जिल्ला अध्यक्ष हरिशचन्द्र घिमीरे, केयु अध्यक्ष आदित्य लामिछाने लगायतले विद्यार्थी हक हितका लागि लडिरहेको संगठन अनेरास्ववियुलाई नजिस्क्याउन विश्वविद्यालय प्रशासनलाई चेतावनी दिईएको छ ।

प्रतिक्रिया दिनुहोस्