रिपोर्टिङमा गएका पत्रकार प्याराग्लाइडिङमा उडे



नेपाल समाचारपत्र
काभ्रे
कुशादेवी–६ गुर्दुमडाँडाबाट माघे संक्रान्तिको अवसर पारी शनिबार प्याराग्लाइडिङको परीक्षण गरिएको छ। विहावर क्षेत्रको अग्लो स्थान गुर्दुमडाँडाबाट कुशादेवी बजारसम्म तीनवटा प्याराग्लाइडिङ उडान गरिएको छ।
राजधानीबाट समाचार संकलनका लागि गएका पत्रकार दीपक धिताल कुशादेवीको गुर्दुमडाँडाबाट कुशादेवी बजारसम्म पहिलो परीक्षणमा सहभागी भए।

अघिल्लो दिन साइकल र्याली आयोजना गरी गुर्दुमडाँडा पुगेको टोली, स्थानीय, सञ्चारकर्मी तथा पर्यटन व्यवसायीको उल्लेख्य सहभागितामा प्याराग्लाइडिङ परीक्षण गरिएको थियो। शुरूमा कुशादेवी सरोकार समाजका नामबाट गर्ने भनेको परीक्षण अनुमति प्राप्त नभएपछि स्थगित गरिएको थियो। रामेछापका पाइलट मदनकुमार सुनुवारले पत्रकार दीपक धिताललाई लिएर उडाएका प्याराग्लाइडिङ १५ मिनेटमा बजारमा अवतरण गरिएको थियो। ‘पहिलो पटक भएकाले होला शुरूमा प्याराग्लाइडिङमा बस्न आनाकानी हुँदै थियो’, दीपकले भने– ‘मैले आँट गरें चढें, नयाँ अनुभव भयो।’

दोस्रो उडान सोलुखुम्बुका लाक्पा छिरिङ शेर्पाले गरे। १३ वर्षीय बालक प्रज्ज्वल हुमागाईंलाई लिएर शेर्पा १४ मिनेटमै सोही स्थानबाट कुशादेवी आइपुगे। तेस्रो उडानमा एमालेका कुशादेवी गाउँ कमिटी अध्यक्ष उद्धव थापा ओखलढुंगाका युवराज राईसँग उडे। व्यावसायिक रूपमा पर्यटकहरूलाई आकर्षण गर्न कुशादेवीको गुर्दुमडाँडा, नागिडाँडालगायतका महत्वपूर्ण स्थानहरूको प्रचारप्रसारका लागि कुशादेवी नागरिक समाजले माघे संक्रान्तिको अवसर पारेर प्याराग्लाइडिङ परीक्षणको आयोजना गरेको थियो। प्रहरी र अन्य निकायले कानुनी अनुमति नलिई संस्थाले परीक्षण गर्न नपाउने बताएपछि सरोकार समाजले पत्रकार सम्मेलन गरेर परीक्षण संस्थागत नहुने स्पष्ट पारेको थियो। सरोकार समाजका सचिव पुरुषोतम अधिकारीले प्याराग्लाइडिङका कारण पर्यटकहरूको आकर्षण हुने र स्थानीय क्षेत्रको विकास तथा पर्यटकीय स्थानहरूलाई थप पहिचान र प्रसार प्रसारमा सहयोग पुग्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्