ल्यान्डलाइन टेलिफोन सेवाको उपादेयता



(ढुनबहादुर बुढाथोकी) आधारभूत स्थानीय टेलिफोन अर्थात् ल्यान्डलाइन टेलिफोन सेवा दूरसञ्चार क्षेत्रकै सबैभन्दा पुरानो प्रविधि हो । आधरतभूत स्थानीय टेलिफोन सेवाको इतिहास आफैंमा धेरै पुरानो छ । नेपालमा आधरतभूत स्थानीय टेलिफोन सेवाको शुरुवात सन् १९३५ ताका अटोमेटिक एक्सचेन्ज स्थापनासँगै भएको हो । पहिलो पटक १९९२ ताका राणा शासकको प्रयोजनका निमित्त २५ लाइन आधारभूत स्थानीय टेलिफोन जडान भएको थियो । मुलुकले अवलम्बन गरेको खुला अर्थनीतिका बाबजुद अहिले पनि यो राज्यको एकाधिकारमा छ ।

अहिले आधरतभूत स्थानीय टेलिफोन सेवाको उपादेयता र आर्कषणमा परिवर्तन आएको छ । समय बित्दै जाँदा, सूचना तथा सञ्चार प्रविधिमा भित्रिएको क्रान्तिसँगै आधारतभूत स्थानीय टेलिफोन सेवाप्रतिको आकर्षणमा परिवर्तन आएको हो । अथवा दूसञ्चार फाँटमा जीएसएम तथा सीडीएम मोबाइल र डाटा सेवाको प्रवेशले आधरतभूत स्थानीय टेलिफोन सेवालाई पछाडि पारिसकको छ ।

भावी सयममा डाटा सेवाले सिंगो भ्वाइस सेवालाई निलिदिने हो कि भन्ने त्रासदी पनि त्यत्तिकै छ । साँच्चिकै भन्नुपर्दा आधारभूत स्थानीय टेलिफोन सेवाले आफ्नो सञ्चालन खर्चसमेत धान्न हम्मेहम्मे पर्दो छ । २०७३ श्रावणसम्ममा कुल ३ करोड १८ सेवाग्राहीले दूरसञ्चार सेवा लिइरहेकोमा आधारभूत स्थानीय टेलिफोन सेवाको उपभोक्ता ८ लाख ५२ हजार मात्र रहेका छन् । आधरतभूत स्थानीय टेलिफोन वितरणका लागि नेपाल टेलिकमले ७५ वटै जिल्लाका विभिन्न स्थानमा ६ सय ५७ वटा टेलिफोन एक्सचेन्जहरू स्थापना गरेको छ । तर उपभोक्तावर्गले वर्षौंदेखि चलाइरहेको टेलिफोन धमाधम फिर्ता गरिरहेका छन् । समष्टिगत टेलिघनत्व १२०.१० प्रतिशत पुगिरहँदा आधारभूत स्थानीय टेलिफोनको टेलिघनत्व ३.२२ प्रतिशतमै सीमित छ ।

विश्वमा स्न २००५ मा १ अर्ब २४ करोड पुगेको सेवाग्राही सन् २०१५ मा १ अर्ब ६ करोडमा ओर्लिएका छन् । सोही अवधिमा आधरतभूत स्थानीय टेलिफोनको घनत्व १९.१ वाट १४.५ प्रतिशतमा ओर्लिएको हो । युरोपमा मात्र सन् २०१०–२०१५ को अवधिमा आधरतभूत स्थानीय टेलिफोन सेवाको उपभोक्ता ४२.८ प्रतिशतबाट ३७.३ प्रतिशतमा सीमित भएका छन् । सोही अवधिमा एसिया प्रशान्त क्षेत्रमा आधरतभूत स्थानीय टेलिफोन सेवाको घनत्व १४.२ प्रतिशतबाट ११.३ प्रतिशतमा संकुचित भएको छ । उक्त आँकडाले आधारभूत स्थानीय टेलिफोन सेवाको जीवनमा संशय भित्रिएको प्रतीत हुन्छ । यसै पनि कपर नेटवर्क मर्मत गर्नु बोझझैँ महसुस गरिएको छ । एटी एन्ड टी जस्तो विश्वकै चर्चित सेवाप्रदायकले आफ्ना २५ प्रतिशत आधारभूत स्थानीय टेलिफोनका ग्राहकका खातिर सतप्रतिशत पुराना पूर्वाधारहरू मर्मत गर्न लगाएको छ ।
आधारभूत स्थानीय टेलिफोन सेवाको विकल्पमा सेलुलर मोबाइल तथा सीडीएम प्रविधिको मोबाइल सेवा भित्रनु, मोबाइल सेवामा आधारभूत स्थानीय टेलिफोन सेवामा भन्दा अधिक सुविधाहरू (भ्यालु एडेड सर्भिस) उपलब्ध हुनु, थ्रिजी मोबाइलमा भिडिओ कल, लाइभ टीभी, हाइस्पिड इन्टरनेट, अन डिमान्ड भिडिओ, भिडियो च्याटको सुविधा उपलब्ध हुनु, मनोरञ्जनात्मक र सूचनामूलक एप्सहरू उपलब्ध हुनु, डाटा सेवालाई भ्वाइस सेवाको विकल्पको रुपमा प्रयोग गर्न सकिनु, वैकल्पिक सेवाको प्रवेशले महसुल दर कटौती गर्ने बाध्यता सृजना हुनु, आधारभूत स्थानीय टेलिफोन सेवा स्थानान्तरण मोबाइल सेवाको तुलनामा निकै झन्झटिलो हुनु, आधारभूत स्थानीय टेलिफोन सेवाको तुलनामा मोबाइल सेवामा भ्यालु एडेड सुविधा अधिक हुनु आदि आधारभूत स्थानीय टेलिफोन सेवाको आकर्षणमा ह्रास आउनुका प्रमुख कारक तत्व हुन् ।

यसको अर्थ आधारभूत स्थानीय टेलिफोन सेवाको भविष्य पूरै अन्धाकार छ भन्नेचाहिँ होइन । दुनियाँमा वायर सेवाले जस्तो गुणस्तरीय सेवा (भ्वाइस क्लियरिटी) वायरलेस सेवाले अझै पस्कन नसकेको अवस्था छ । कल भइरहेको लोकेसन पहिचान गर्न आधारभूत स्थानीय टेलिफोन सेवाजस्तो वायरलेस सेवा उपयोगी हुन सक्दैन । कुनै उपभोक्ताले कुन स्थानबाट कल गरिहरको हो, उक्त लोकेसन सतप्रतिशत पहिचान ल्यान्डलाइन सेवाबाट मात्र हुनसक्छ । त्यस्तै स्याटलाइट प्रविधिमा गडबडी आउँदा आधारभूत स्थानीय टेलिफोन सेवा आफैंमा विकल्प हो । सन् २००१ सेप्टेम्बर ११ को न्युयोर्क टुइन टावर हमलाका बखत एकैपटक १० हजार मानिसले ९११ नम्बरमा इमरजेन्सी कल गरिरहँदा मोबाइल सेवाको फ्रिक्युन्सीे अभाव मात्र भएको थिएन, नेटवर्क क्र्याससमेत हुन पुगेको थियो । सो समयमा आपतकालीन सेवाको लागि ल्यान्डलाइन टेलिफोन सेवा वरदान साबित हुन पुगेको थियो ।

आधारभूत स्थानीय टेलिफोन सेवामा कलर आईडी, लकिङ कोड, कल हन्टिङ, थ्री पार्टी कन्फ्रेन्स, कल ट्रान्सफर, कल वयटिङ, होम मिटर रिडिङ, एब्रिवेसन डायलिङ, वयकअप कललगायतका अनेक सुविधा उपलब्ध छन् । आधारभूत स्थानीय टेलिफोन सेवामार्फत प्रदान भइरहेका अतिरिक्त सेवाहरूका (भ्यालु एडेड सर्भिस) आफ्नै पृथक् विशेषताहरू छन् । आधारभूत स्थानीय टेलिफोन सेवाप्रदत्त भ्वाइस मेल बक्स, फ्याक्स मेल बक्स, नोटिस बोर्ड, एड्भान्स फ्री फोन, होम कन्ट्री डाइरेक्ट डायलिङ, प्रिपेड कलिङ कार्ड, आईभीरआर लगायतका अतिरिक्त सेवाहरूले उपभोक्ताका विविध आवश्यकता र चाहनालाई सेवा गरिरहेको छ ।

एनजीएन प्रविधि भित्रिँदा कपरवायरको उपादेयता फराकिलो तुल्याएको छ । त्यसमा एकैपटक भ्वाइस र ब्रोडब्यान्ड इन्टेन चलाउन सकिने एडीयसएल सेवाको उपादेयता अझै उचो छ । सारमा आधारभूत स्थानीय टेलिफोन सेवाको आफ्नै उपादेयता, महत्व र विरासत ओजपूर्ण छ ।

प्रतिक्रिया दिनुहोस्