उत्कृष्ट पाँचको नाम सार्वजनिक



नेपाल समाचारपत्र
काठमाडौं
जवाफदेहिता र पारदर्शिताको क्षेत्रमा कार्यरत सामाजिक संस्था एकाउन्टबिलिटी ल्याबको आयोजनामा हरेक वर्ष सञ्चालन हुने सम्मान इन्ट्याग्रिटी आइडलको तेस्रो संस्करण इन्ट्याग्रिटी आइडल नेपाल २०१६ को उत्कृष्ट पाँचमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका उप–सचिव भिष्मकुमार भुषाल, महिला तथा बालबालिका कार्यालय जुम्लाका महिला विकास निरीक्षक बिन्दु कुँवर, सिद्धबाबा उमावि, गुल्मीका प्रधानाध्यापक डोरबिक्रम श्रीस, बागेश्वरी उमावि, भक्तपुरका प्रधानाध्यापक कृष्णप्रसाद धन्छा र मौनाबुधुक स्वास्थ्यचौकी, धनकुटाका स्वास्थ्य सहायक तारा सुवेदी पर्न सफल हुनुभएको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्याय संयोजक रहेको निर्णायक मण्डलमा सरकारका भूतपूर्व सचिव जीवनप्रभा लामा, ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका भरतबहादुर थापा र पूर्वविज्ञान तथा प्रविधिमन्त्री गणेश शाह रहनुभएको थियो।

सन् २०१४ मा तात्कालीन पाँचथरका जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपाल इन्ट्याग्रिटी आइडल बिजेता हुनुभएको थियो भने सन् २०१५ को बिजेता तात्कालीन गुल्मीका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कंडेल हुनुभएको थियो। नेपालबाट शुरु भएको यो अभियान तेस्रो संस्करणसम्म आइपुग्दा, लाइबेरीया, पाकिस्तान र मालीलगायतका देशहरूमा पनि विस्तार भइसकेको छ भने इन्डोनेसियामा शुरु हुने प्रकृयामा रहेको छ।

इन्ट्याग्रिटी आइडलका लागि १५ फेब्रुअरी २०१६ बाट चार महिनाका लागि मनोनयन खुल्ला गरिएको थियो। जसअन्र्तगत देशका ६७ वटा जिल्लाबाट जम्मा ८ सय ३८ जनाको आवेदन परेको थियो। इन्ट्याग्रिटी आइडलले तय गरेको पूर्व निर्धारीत मापदण्डलाई आधार बनाएर विभिन्न ७ चरणको छनोट प्रकृयापश्चात् स्वतन्त्र निर्णायक मण्डलको गठन गरी उत्कृष्ट पाँचको छनोट गरिएको आयोजक संस्थाले जानकारी दिएको छ।

अन्तिम पाँचको छनोटपछि एसएमएस र वेबसाइटबाट प्राप्त जनताको मत र निर्णायक मण्डलको मतका आधारमा इन्ट्याग्रिटी आइडल २०१६ को छनोट गरिने भएको छ। एसएमएस र वेबसाइटबाट भोटिङका लागि उत्कृष्ट पाँचै जनालाई बेग्लाबेग्लै भोटिङ कोडको निर्धारण गरिएको छ। भोट गर्नका लागि मोबाइलको म्यासेज बक्समा गएर आइआइएन टाइप गरी स्पेस दिएर आफूलाई चित्त बुझेको व्यक्तिको भोटिङ कोड लेखी ३४००१ मा पठाउन सकिनेछ।

पारदर्शिता र सुशासनको वर्तमान अवस्थामा सुधार गर्न सहयोग पुगोस्। राष्ट्रसेवकप्रतिको जनधारणामा सकरात्मक परिवर्तन होस्। राम्रो काम गर्ने कर्मचारीहरूको संगठनभित्र र बाहिर सम्मान होस् र त्यसको सबैले अनुकरण गरून् भन्ने उद्देश्यले इमानदार कर्मचारीलाई नागरिक स्तरबाट सम्मान गर्न इन्ट्याग्रिटी आइडल सम्मानको थालनी गरिएको आयोजक संस्था एकाउन्टबिलिटी ल्याबका प्रमुख नारायण अधिकारीले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्