सभामुखको पहलमा आज सात दलको बैठक



काठमाडौं, (नेस)
सभामुख ओनसरी घर्तीको पहलमा आज (सोमबार) शीर्ष सात दलको बैठक बस्दै छ। सदनमा जारी गतिरोध अन्त्यका लागि सभामुखले शीर्ष सात दलका प्रमुख नेता र प्रमुख सचेतकलाई बैठकमा डाक्नुभएको हो।
सरकारले दर्ता गराएको संशोधन प्रस्तावको विरोधमा प्रमुख प्रतिपक्षी दलसहितका दलहरूले सदन अवरुद्ध गर्दै आएका छन्।गतिरोध अन्त्यका लागि यसअघि पनि सभामुखले प्रयास गरे पनि सहमति हुन सकेको छैन। यसअघि सभामुखले शीर्ष तीन दलका नेताहरूसँग औपचारिक र अनौपचारिक रूपमा छलफल गर्दै आउनुभएको थियो।

सभामुखका प्रेस सल्लाहकार बबिन शर्माले नेपाल समाचारपत्रसँग कुराकानी गर्दै सदनको अवरोध अन्त्यका लागि सभामुखले बैठक डाकेको बताउनुभयो। शर्माले यसअघि तीन दललाई मात्र छलफलमा बोलाउँदा अन्य दलहरू असन्तुष्ट देखिएकाले निकासका लागि सदनमा दुई अंकको सदस्य संख्या पुग्ने दलहरूलाई छलफलमा बोलाइएको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्