कांग्रेस पदाधिकारी बैठकको ठहर “चुनावमा नगए मुलुक दुर्घटनामा”



रामृकष्ण चापागार्इं, काठमाडौं
सीमांकन हेरफेरसहित संविधान संशोधनको प्रस्ताव आएसंगै बिथोलिँदै गएको राष्ट्रिय राजनीतिको पछिल्लो अवस्थाबारे छलफल गर्दै कांग्रेसका नेताहरूले तत्काल स्थानीय निर्वाचनलाई प्राथमिकतामा राखेर तत्काल तयारीका साथ अघि नबढे मुलुकमा ठूलो दुर्घटना निम्तन सक्ने औंल्याएका छन्।

संविधान कार्यान्वयनका लागि निश्चित समय सीमाभित्र तीन तहको निर्वाचन गर्नुपर्ने भन्दै कांग्रेस नेताहरूले संविधान संशोधनको विषयले मुलुकमा निर्वाचन नहुने अवस्था पैदा हुन लागेको आशंका पनि गरेका छन्। पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा आइतबार बसेको पूर्व तथा वर्तमान पदाधिकारी तथा प्रभावशाली नेताहरूको बैठकमा निर्वाचनलाई प्राथमिकता दिएर अघि नबढे मुलुक दुर्घटनामा जाने औंल्याइएको हो। बैठकमा पार्टीको आन्तरिक गतिविधिमा सभापति देउवा निष्कृय रहेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले असन्तुष्टिसमेत प्रकट गर्नुभएको थियो।

बैठकबारे जानकारी दिँदै कांग्रेस वरिष्ठ नेता पौडेलले भन्नुभयो– ‘संविधान संशोधनका नाममा मुलुकमा निर्वाचन नहुने स्थिति पैदा हुन लागेको भन्दै नेताहरूले संविधान कार्यान्वयनमा लाग्नुपर्नेमा जोड दिएका थिए।’ साथै, अधिकाशं पदाधिकारीले तत्काल स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्न आग्रह पनि गरेका छन्। कांग्रेस बैठकले आज सोमबार पनि बस्ने भएकाले औपचारिक निर्णय भने गरेको थिएन।

बैठकले स्थानीय तह वा निकाय जुनसुकै भए पनि चैतमा चुनाव हुनुपर्ने सुझाव आएको बताउँदै महामन्त्री डा. शशांक कोइरालाले संविधान संशोधन बिधेयक थाति राखेर भए पनि चुनाव घोषणा गर्न अधिकांश पदाधिकारीले सुझाव दिएको बताउनुभएको थियो। एमालेलाई सहमतिमा नलिई संविधान संशोधन र चुनाव दुबै असम्भव भएकाले संशोधन बिधेयक थाति राखेर निर्वाचनमा जानु उपयुक्त हुने उहाँको भनाइ थियो।

पुरानो संरचनामा भए पनि नयाँ संरचनामा भएपनि स्थानीय निकायको निर्वाचन समयमै हुनुपर्छ भन्दै बैठकमा राखिएको धारणाबारे कांग्रेस नेता डा. रामशरण महतले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘संविधान संशोधनको विषय संसद्बाटै टुंग्याउनुपर्छ संसद् अवरुद्ध गर्नु हँुदैन।पुरानो संरचनामा भए स्थानीय निकायको निर्वाचन समयमै सम्पन्न गर्न सकिने तथा नया संरचनामा भए समयमै स्थानीय निर्वाचन गर्न नसकिने उहाँको भनाइ थियो। ५ नम्बर प्रदेशको सीमा विवादबारे जनमतको धारणाअनुसार नै टुंग्याउनुपर्ने भन्दै उहाँले बैठकमा सबै नेताहरूको एउटै धारणा शीघ्र निर्वाचनको पक्षमा भएको बताउनुभएको थियो। ‘स्थानीय तह भए पनि स्थानीय निकाय भए पनि तत्काल निर्वाचन हुनुपर्छ’ बैठकमा सहभागी डा. मिनेन्द्र रिजालले भन्नुभयो– ‘अहिलेको मुख्य कुरा भनेको संविधान कार्यान्वयन हो।’

बैठकमा कांग्रेसका वरिष्ठ नेता पौडेलले सभापति देउवाले प्रभावकारी रूपमा पार्टी सञ्चालन गर्न नसकेको भनि आलोचना पनि गर्नुभएको थियो। विधानअनुसार पदाधिकारी तथा बाँकी केन्द्रीय सदस्य मनोनित गर्न नसक्नु, केन्द्रीय विभागहरू गठन गरी जिम्मेवारी बाँडफाँड गर्न नसक्नु सभापति देउवाको कमजोरी रहेको भन्दै उहाँले आन्तरिक रूपमा पार्टीलाई एक ढिक्का बनाउनुपर्नेमा सभापतिले उल्टै गुटबन्दी गरेको आरोप पनि लगाउनुभएको थियो। कांग्रेसबाट सरकारमा सामेल भएका मन्त्रीहरूको कार्यशैली पनि ठीक नभएको वरिष्ठ नेता पौडेलको भनाइ थियो।

कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले जानकारी दिएअनुसार बैठकमा संविधान संशोधन र निर्वाचनका बारेमा छलफल भइरहेको छ। बैठकमा सभापति देउवाले संविधान संशोधन नगरी मधेसी मोर्चा चुनावमा आउने सम्भावना नरहेकाले एमालेले हठ नछाड्दा समस्या उत्पन्न भएको बताउनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्