चिसो बढेपछि बेँसी झर्दै



बेँसीसहर (लमजुङ), १० पुस । चिसो बढ्न थालेपछि हिमालपारिको जिल्ला मनाङका अधिकांश नागरिक पहाडी जिल्लामा झर्न थालेका छन् ।

विशेष गरी मनाङका बासिन्दा अत्याधिक चिसोका समयमा पोखरा, काठमाडौँका साथै लमजुङ सदरमुकाम बेँसीसहरमा आफन्तकहाँ अथवा डेरा गरी बस्छन् भने कोही तीर्थ यात्रामा निस्कन्छन् ।
मनाङको निकै विकट क्षेत्र मानिने नार र फु गाविसका साथै माथिल्लो मनाङका सात गाविसका बासिन्दाको घरमा यतिबेला ताला लागेको छ । बाध्यताले जाडो छल्न सहरतिर झरेका कोही सो समयमा लेकाली जडीबुटी बिक्री वितरण गरी आम्दानी समेत गर्छन् ।

कतिपयले जिम्बु वीरेनुन र सियो बेचेर आफ्नो जीवन धान्दै आएका छन् । कतिपयले चिसोको समय पहाड तथा तराईका केही भागमा पदयात्रा गर्छन् । तेह्र गाविस रहेको मनाङमा २०६८ सालको जनगणनानुसार छ हजार पाँच सय ३८ जनसङ्ख्या छ । यहाँका अधिकांश बासिन्दा बेँसी झरिसकेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्