ओलीको कडा भनाई–संशोधन कुनै हालतमा पास हुन दिन्नौं



 
सिर्जना पन्त,

बागलुङ ।
नेकपा एमालेका अध्यक्ष एंव पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीले संविधान संसोधन प्रस्ताब कुनैपनि हालतमा पास हुन नदिने बताउनुभएको छ । नेकपा एमाले बागलुङको आठौं जिल्ला अधिबेशनको उद्घाटन गर्न शनिबार बागलुङ आईपुगेका ओलीले अहिलेको समयमा संविधान कार्यान्वयनको लागि चुनाव गराउन आवश्यक भएपनि सरकारले नेपाली जनताको चाहना र राष्ट्रिय हित विपरीत संविधान संसोधन प्रस्ताब दर्ता गराएको हुँदा नेकपा एमालेले संसोधन प्रस्ताब पास हुनै नदिने बताउनुभयो ।
अध्यक्ष ओलीले कानुनी हिसावले समेत गलत र संविधानमा निषेध भएको कुरा राजनीतिको पछाडि आतङकनीति जनतामाथि जबरजस्ती लाद्न खोजिएको आरोप लगाउनुभयो । उहाँले राष्ट्रिय एकतालाई जोड दिएर देशलाई विकासको गतितर्फ लैजान थालेको समयमा आफुहरुले राम्रो काम गरेकै कारण सरकार छोडनुपरेको भन्दैं नेकपा एमलेलाई सरकारबाट हटदैंमा कसैले रोक्न नसक्ने समेत बताउनुभयो । ओलीले एक वर्ष पहिले नेपाली जनताले बल्ल सरकार भन्ने कस्तो हुन्छ भन्ने थाहा पाएको भन्दैं त्यो भन्दा पहिले र अहिले विजुलीको विल र पानीको विल तिर्दा मात्र देशमा सरकार भएको महसुस गर्ने गरेको बताउनुभयो ।
देशमा उद्योगको स्थापना, विकास र उन्नतीको लागि नेकपा एमालेको सरकार विना सम्भव नहुने भन्दैं ओलीले अहिलेको सरकार जनताप्रति उतरदायी नभएको समेत आरोप लगाउनुभयो । उहाँले वर्तमान प्रधानमन्त्री अलि बढी बोल्न थालेको भन्ने आफुले सुनेको भन्दैं ‘के–के’ गरेर आएको मान्छे यत्तिको बोल्नु खासै ठुलो कुरा नभएको बताउनुभयो ।
जिल्ला अधिवेशनको उद्घाटन गर्न बागलुङ आईपुगेका ओलीले नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन शिकार आरक्षको समेत अवलोकन गर्नुभएको थियो । उहाँले ढोरपाटनमा असाधारण प्रर्यटकीय सम्भावना भएको भन्दैं बागलुङको वुर्तिवाङ देखि ढोरपाटन सम्म पुग्ने सड्कलाई थप व्यवस्थीत गर्न आवश्यक रहेको बताउनुभयो । बागलुङ जिल्लाको मात्र नभएर समग्र देश विकासको लागि ढोरपाटनका सम्भावनाहरुलाई उचित व्यवस्थापन र प्रयोग गर्न आवश्यक भएको उहाँले बताउनुभयो ।
यसैबीच नेकपा एमाले बागलुङको जिल्ला अधिवेशनको लागि जिल्लाभरबाट ५ सय ९२ जना प्रतिनिधिहरु छनोट भएका छन् । शनिबारको उद्घाटन कार्यक्रम संगै तीन दिन सम्म चल्ने अधिबेशनको दोस्रो दिन बन्द शत्र र तेस्रो दिन निर्वाचनको कार्यक्रम हुने बताईएको छ ।
आठौ जिल्ला अधिवेशनले आगामी कार्यकालका लागि अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिव सहित ६३ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । कार्यसमितिका लागि अध्यक्षमा ४ जनाको चर्चा छ । वर्तमान उपाध्यक्ष नरबहादुर थापा, उर्जा विभागका सदस्य हिराबहादुर केसी र प्रदेश कमिटीका सदस्य इन्द्रलाल सापकोटाले उमेदवारी दिने बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्