संविधान संशोधन प्रस्तावलाई फिर्ता गर्न सकिन्छः सभामुख



नेपाल समाचारपत्र
भक्तपुर
सभामुख ओनसरी घर्तीले दलहरूबीच सहमति भए संविधान संशोधन प्रस्तावलाई फिर्ता गर्न सकिने बताउनुभएको छ। शुक्रबार भक्तपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले दलहरूबीच सहमति भए संविधान संशोधन प्रस्तावलाई फिर्ता गर्न सकिने वा प्रक्रियामा जान सकिने बताउनुभयो।

संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव कार्यसूचीमा आइसकेको भए पनि दलहरूबीच सहमति गरेर सो विधेयकलाई सरकारले फिर्ता लिने वा परिमार्जन गर्नसक्ने बताउनुभयो। सभामुख घर्तीले संविधान संशोधन नै गर्न हुन्न भन्ने पक्षमा कुनै पनि दल नरहेको बताउँदै संशोधन प्रस्तावभित्रको विषयमा मात्र दलहरूबीच असहमति रहेको उल्लेख गर्नुभयो।

उहाँले अहिले संविधान कार्यान्वयनको संक्रमणकालीन चरण भएकाले राजनीतिक दलहरू निकासका लागि सहमतिनजिक आएको उहाँको भनाइ थियो। आगामी पुस ११ गते सोमबार सहमतिका लागि आफूले दलहरूको संयुक्त बैठक आह्वान गरेको र त्यो बैठकले राष्ट्रलाई निकास दिने सभामुख घर्तीले विश्वास व्यक्त गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्