खोई बालबालिकाको अनुदान ?



मोतीराम तिमल्सिना
काभ्रे
भुकम्प गएको २१ महिनासम्म भुकम्प पीडित बालबालिकाहरुले प्राप्त गर्नु पर्ने युनिसेफको अनुदान सहयोग वितरण हुन सकेको छैन । केहि गाउँ विकास समितिका सचिवहरुले पहिलो किस्ता बापत लगेको रकमको पेश्की फछ्र्यौट हुन नसक्दा उक्त रकम वितरण हुन नसकेको हो ।

‘हामीले सबै गाउँ विकास समितिमा पहिलो किस्ता बापतको रकम वितरण गरिसकेका छौं, छुटेका बालबालिकाहरुको रकम वितरणमा केहि समस्या देखिएको छ’–जिल्ला विकास समितिका गायत्रीरमण घिमीरेले भने–‘गाउँ विकास समितिका सचिवहरुले लगेको पेश्की फछ्र्याैट नगरेका कारण खातामा थप रकम निकासा भएको छैन भने केहि गाउँ विकास समितिमा परिषद् तथा अन्य कारण वितरणमा ढिलाई भएको छ ।’ पौष मसान्त भित्रै उक्त रकम वितरण सकिसक्न गाविस सचिवहरुलाई निर्देशन दिई सकिएको स्थानीय विकास अधिकारी टेकराज निरौलाले जानकारी दिए ।

युनिसेफले भुकम्प प्रभावित जिल्लाका ५ वर्ष मुनिका बालबालिकाहरुको पोषणका लागि सहयोग गर्ने घोषणा गरेपछि फर्जी जन्मदर्ता गर्ने बालबालिकाहरुको संख्या बढेको छ । सरकारी तथ्याङ्कमा ५वर्ष मुनिका बालबालिका कति छन् र ? कतिलाई पोषणको सहयोग आवश्यक छ भन्ने यकिन तथ्याङ्क भेटिन छाडेको छ । गाविस र नगरपालिकाहरुमा जन्म दर्ताको आधिकारिक तथ्याङ्क राख्ने सफटवेयर प्रणाली नहुँदा दोहोरो जन्मदर्ता गर्नेहरुको संख्या बढेको हो । शंकास्पद लागेका ब्यक्तिहरुलाई सचिवहरुले सम्वन्धित गाविस र नगरपालिकाको सिफारिस विना रकम भुक्तानी गरेनन् । बनेपा नगरपालिकाको एउटा वडामा ५ सय जति बालबालिका हुने लक्ष्य राखिएकोमा २ हजार ५ सय बालबालिकाहरुले सहयोग रकम लिन जन्म दर्ता बुझाएका थिए ।

विभिन्न क्षेत्रबाट आई बनेपामा बसोबास गरेका ब्यक्तिहरुले उक्त वडामा सहयोगका लागि जन्मदर्ता बुझाएका थिए । सरकारले ६ महिना देखि सोहि ठाउँमा बसोबास गरेका बालबािलकाहरुलाई त्यहि स्थानीय निकायबाट रकम उपलब्ध गराउने निर्णय गरेपछि आफ्नै गाविस वा नगरपालिका र बसोबास गरिरहेका स्थानबाट रकम लिने बढेका हुन् । काभ्रेपलाञ्चोक जिल्लामा ५ वर्षसम्मका ४३ हजार ४ सय बालबालिकाहरुले युनिसेफ अन्र्तगतको चार हजार रकम वितरणका लागि गाविस र नगरपालिकामा पठाईएको छ । उक्त रकम १७ करोड ३६ लाख रकम बालबाकिलाहरुले प्राप्त गरेका छन् । अझै केहि बालबाकिलाहरु छुट भएको भन्दै गाविसमा र नगरपालिकामा निवेदन दिएका छन् ।
पहिलो चरणमा २८ हजार ४ सय १३, दोश्रो चरणमा ७ हजार ४ सय ४९, तेश्रो चरणमा ५ हजार ८ सय ५० र पछिल्लो समय १६ सय ८८ बालबालिकाहरुका लागि रकम वितरण गरिएको छ । १२ वटा स्थानिय निकायले प्राप्त गरेको पेश्की रकम अझै फछ्रर्याैट नगरेकाले अन्तिम किस्ता पठाउन नसकिएको जिल्ला विकास समितिले जानकारी दिएको छ । ढुंखर्क लगायतका केहि गाविसहरुमा रकम वितरण नहुँदा बालबालिकाहरु उक्त अनुदानबाट बञ्चित भएको भन्दै जिल्ला विकास समितिमा उजुरी परेको छ ।

प्रतिक्रिया दिनुहोस्