प्रचण्ड सरकारबारे बाबुरामको कटाक्ष ‘यो सरकार कसैको भ¥याङ मात्रै हो’



कुमार श्रेष्ठ
बाँके । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले प्रचण्ड सरकार कसैको ‘भ¥याङ’ मात्रै रहेको टिप्पणी गर्नुभएको छ । नेपालगञ्ज विमानस्थलमा नेपाल समाचारपत्रसँग कुरा गर्दै डा. भट्टराईले काम चलाउ र भ¥याङ बनेको सरकारले केही गर्न नसक्ने ठोकुवा गर्नुभयो । ‘म्याद तोकेर बनेको सरकारले केही गर्न सक्दैन, डा. भट्टराईले भन्नुभयो, यो सरकार त काल पर्खिने, दिन बिताउनेमात्रै हो ।’ डा. भट्टराईले प्रचण्ड कसको भ¥याङ हुन् भन्ने चाहि खुलाउनु भएन ।

 
डा. भट्टराईले समस्याको समाधान गर्नका लागि संशोधन प्रस्ताव परिमार्जन गरेर अघि बढ्नु पर्नेमा जोड दिनुभयो । ‘अहिलेको प्रस्तावलाई फिर्ता लिएर नयाँ लैजाने या त्यसैमा संशोधन हालेर परिमार्जित गर्न आवश्यक छ, भट्टराईले भन्नुभयो– ७ नम्बरको कैलाली र कञ्चनपुरलाई ५नम्बरमा, ५नम्बरको मगर बाहुल्य क्षेत्रलाई ४ नम्बर र पूर्वको मोरङ र सुनसरीलाई २ नम्बरमा राख्दा धेरै समस्या हट्छ ।’ उहाँले पूर्व र पश्चिमको विवादित जिल्ला दुई ‘शेर’ले गर्दा सच्याउनु नपर्ने र एक ठाउँको मात्रै चलाउदा समस्या उत्पन्न भएको बताउदै सबै ठाउँको विवाद एकैपटक मिलाउन आवश्यक रहेको बताउनुभयो ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले एमालेले रोग नै नदेख्ने र सरकार रोग निदान गर्नुको साटो टालटुल गर्ने पक्षमा रहेकाले समस्या बल्झिएको बताउनुभयो । एमालेले संशोधन प्रस्तावविरुद्ध छलफल नै गर्न नदिएकोप्रति डा. भट्टराईले लोकतन्त्रको उपहास भएको प्रतिक्रिया दिनुभयो । ‘जनता जसरी बसेका छन्, त्यसरी प्रदेश निर्माण गर्ने हो, भट्टराईले थप्नुभयो– तराईमा छुट्टै प्रदेश बनाउदा राष्ट्रियतामाथि आँच आउँछ भन्नु बेमाइनीपूर्ण तर्क हो ।’
डा. भट्टराईले परिमार्जनसहितको संशोधन प्रस्ताव पास भएपछि मात्रै चुनावमा जानुपर्ने बताउनुभयो । उहाँले वर्तमान शासकीय स्वरूपले देशको हित नगर्ने भएकाले प्रत्यक्ष कार्यकारीको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।
एमालेका केही नेताहरूले संघीयता नै जबरजस्ती लादिएको भनेको तर्फ डा. भट्टराईले एजेन्डा नै नभएकाको हातमा अग्रगामी एजेन्डा सुम्पिनु हुँदैन भन्नुभयो । उहाँले राजनीतिक मुद्दा धेरै भएकाले अब विकासको मुद्दालाई अघि सार्नुपर्ने बेला आएको बताउनुभयो । भट्टराईले विचार र मुद्दा मिल्नेसँग कार्यगत एकता गर्दै अघि बढ्नेसमेत बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्