तेलको मूल्य बढ्न सक्ने



कमला अर्याल, काठमाडौं
न्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेसँगै नेपालमा पनि बढ्न सक्ने संकेत देखिएको छ। कच्चा तेल रिफाइन गर्ने उद्योग अभावका कारण हाल नेपालले भारतबाट प्रशोधित तेलको आयात गर्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेपछि आईओसीले रिफाइन तेलको मूल्य बढाउन सक्ने भएकाले त्यस्तो संकेत देखिएको हो। कच्चा तेलको मूल्य ठूलो मात्रामा घटबढ हुँदा आईओसीले विगतमा तेलको मूल्यमा हेरफेर गर्दै आएको छ। विगतको घटनालाई आधार मानेर हेर्दा तेलको मूल्य बढ्न सक्ने सम्भावना अहिले निकै बढेको हो। आईओसीले मूल्य घटाउँदा नेपाल आयल निगमले खासै घटाएको छैन, तर मूल्य बढाउँदा भने तत्काल बढाउने गरेको छ।
तेलको मूल्य बढाउने वा नबढाउने भन्ने विषयमा आयल निगमले अहिले नै यकिन गरेको छैन। मूल्य बढाउने कि नबढाउने भन्ने निश्चित भएको छैन। निगमका प्रवक्ता दीपक बरालले नेपाल समाचारपत्रसँग भन्नुभयो– नेपालमा तेलको मूल्य बढ्यो भने सर्वसाधारणलाई निकै आर्थिक भार पर्ने छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेपछि आईओसीले रिफाइन तेलको मूल्य बढाउने अवस्था हुने सक्ने पनि निगमले जनाएको छ। तर आईओसीले रिफाइन तेलको मूल्य बढाउँदा पनि कुनै बेला निगमले मूल्य नबढाइकन तेल उपलब्ध गराएको जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य सामान्य बढेकाले त्यसले नेपालमा तत्कालै खासै असर नगर्ने विज्ञहरूको भनाई छ। पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले थोरै मात्र मूल्य बढेकाले आत्तिनुनपर्ने बताउनुभयो। लगातार तेलको मूल्य बढ्यो भने समस्या पर्छ, तर अहिले त्यस्तो ठूलो असर गर्दैन। उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो। पहिले जुन मात्रामा तेलको मूल्य घटेको थियो, त्यसको तुलनामा अहिलेको मूल्य वृद्धि त्यति बढी नभएकाले पनि तत्काल खासै असर नपर्ने क्षेत्रीको भनाई छ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँगै नेपालमा त्यसको प्रत्यक्ष असर पर्ने कुराले सर्वसाधारण चिन्तित हुन थाले पनि वास्तविकता त्यस्तो नभएको अर्थविज्ञ युवराज भूषालको भनाई छ। उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो सामान्य मूल्य बढ्दैमा आत्तिनु पर्दैन।

तेल निर्यातकर्ताहरूको संगठन (ओपेक)का साथै नन्ओपेक देशहरूले कच्चा तेल उत्पादनमा कमी गर्ने निर्णय गरेसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको हो। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ यतिबेला प्रति ब्यारेल ५७ दशमलव ८९ अमेरिकी डलर पुगेको छ। सन् २०१४ को जनवरीमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १ सय ७ दशमलव ७८ अमेरकी डलर रहेको थियो। २०१६ को जनवरी २५ मा घटेर ३० दशमलव ५ सम्म झरेको थियो। चीनले तेलमा खपतमा कमी ल्याएको तथा अमेरिकाले पनि तेलको उत्पादन थालेसँगै बजारमा माग भन्दा तेलको उत्पादन बढी भएकाले मूल्यमा ठूलो गिरावट आएको हो। ओपेकमा संलग्न राष्ट्रहरूले मात्रै विश्वमा उत्पादित तेलको एक तिहाई तेल उत्पादन गर्ने गरेका छन्। ओपेकमा संलग्न राष्ट्रहरूले हरेक दिन ३३ लाख ब्यारेल तेल उत्पादन गर्दै आएको छ। तेलको मूल्यका कारण आर्थिक मन्दी छाएपछि ओपेक र नन ओपेक राष्ट्रहरू तेल उत्पादनमा कमी ल्याएर मूल्यमा वृद्धि गर्ने भएकाले यतिबेला तेलको मूल्य बढेको हो। आपेकमा इरान, इराक, साउदी अरेबिया, अल्जेरिया, कुबेत, दुबई, लिबिया,र भेनेजुयला जस्ता राष्ट्रहरू रहेका छन्। ओपेकले हरेक दिन १२ लाख ब्यारेल तेल कटौती गर्ने निर्णय गरेको छ, जसले गर्दा तेलको मूल्य बृद्धि भएको हो। त्यस्तै नन ओपेक राष्ट्रहरूले पनि गत शनिबार हरेक दिन ५ लाख ५८ हजार तेल कटौती गर्ने भएका छन्। यसले गर्दा कच्चा तेलको भाउ हरेक दिन बृद्धि भैरहेको छ।

प्रतिक्रिया दिनुहोस्