नागरिकता माग्दै आमा–छोरा



मोतीराम तिमल्सिना, काभ्रे

४३ वर्षकी आमा र २४ वर्षका छोरा जन्मदर्ता र नागरिकता माग्दै सदरमुकाम आइपुगेका छन्। जिल्ला विकास समिति, जिल्ला प्रशासन कार्यालय हुँदै उनीहरू जिल्ला प्रहरी कार्यालय पुग्दासमेत जन्मदर्ता प्राप्त गर्ने आधार नभेटेपछि उनीहरू निराश हुँदै फर्किएका छन्।

देशैभर महिला हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन भएको छ। दरमुकामसँग जोडिएको पाँचखाल नगरपालिका होक्से घर भएकी ४३ वर्षीया मसली विक, उनका छोरा २४ वर्षीय सञ्जय विक, २१ वर्षीया छोरी कृष्णमाया विकको जन्मदर्तासहितको नागरिकता प्राप्त हुन सकेको छैन। मसलीका श्रीमान् भाइकाजी तेस्रो श्रीमतीसँग सुकुम्बासीका रूपमा बसिरहेका छन्। पहिलो श्रीमती मसली विकको कोखबाट जन्मिएका छोराको जन्मदर्ता र नागरिकता, श्रीमती र छोरीको नागरिकता बनाइदिन तयार छैनन्। मसलीसँग विवाह गरेको छैटौं वर्ष नपुग्दै भाइकाजीले दोस्रो विवाह गरे। दोस्रो विवाह गरेको केही वर्षमै उनले तेस्रो विवाह गरे। भाइकाजीका अर्की श्रीमतीबाट ३ छोरा र एक छोरी छन्। मसलीबाट जन्मिएकी छोरी कृष्णमायाको भने जन्मदर्ता गरिएको छ। सञ्जयको जन्मदर्तासमेत भएको छैन।

अहिले सञ्जय र कृष्णमाया दुवैले विवाह गरिसकेका छन्। उनीहरूबाट जन्मिएका सन्तानको पनि जन्मदर्ता हुन सकेको छैन। ‘हाम्रोभन्दा पनि नातिनातिनीको जन्मदर्ता र अध्ययनका लागि नागरिकता खोजेकाले बनाउन धाएका हौं’, पीडित मसली विकले भनिन्– ‘पटक–पटक श्रीमान्लाई आफ्नो र छोराछोरीको नागरिकता र जन्मदर्ताका लागि अनुरोध गर्दा पनि बनाउन मानेनन्।’ १८ वर्षको उमेरमा विवाह गरेकी मसलीको माइती र्यालेको मानेदोभान हो। सामान्य लेखपढ मात्रै गरेकी मसलीका तीन दिदीबहिनी छन्। उनी जेठी हुन्। विवाह गरेको केही वर्षदेखि नै छोप्ने रोगका कारण बिरामी भएपछि सासू–ससुराले डोकोमा बोकेर माइती पुर्याइदिए। छोराछोरीसमेत माइतीमै रहेका बेला मसलीलाई छाडेर भाइकाजीले अर्काे विवाह गरे। उनी घरमा आउँदा पनि श्रीमान्ले बेवास्ता गरेपछि माइतीमै बस्न थालिन्।

मसलीलाई अहिले पनि छोपुवा रोग छ। औषधीले ठीक नभएपछि झारफुकबाटै निको पारेकी मसलीलाई एउटै चिन्ता थपियो। बाबु वा आमामध्ये एकको नागरिकता नभई छोराछोरीको नागरिकता बनाउन सकिएन। छोराको जन्मदर्ता नभई १६ महिने नातिको समेत जन्म दर्ता भएन। छोरीको नागरिकता बनाउन पनि बाबुआमाको नागरिकता चाहियो। नागरिकताकै कारण संकटमा परेका मसलीका परिवारलाई न्याय दिने आश्वासन दिँदै महिला सेल प्रमुख सीता श्रेष्ठले कारबाही प्रक्रिया अगाडि बढाएको प्रतिक्रिया दिइन्। ‘अंशभन्दा पनि अधिकार चाहियो, मैले अधिकार पाउन नसक्दा छोराछोरी र नातिनातिनासमेत वञ्चित भए’, मसलीले भनिन्– ‘श्रीमान् वर्षाैं बाहिर बस्ने श्रीमतीलाई किन नागरिकता बनाउने भन्दै पन्छन खोज्छन्।’

श्रीमान्ले छाडे पनि आफूले विवाह नगरी छोराछोरीको रेखदेखमा बसेको भए पनि श्रीमान्ले आरोप लगाएको उनले बताइन्। ‘उसँग केही सम्पत्ति छैन, आफैं सुकुम्बासी छ, हामीलाई त के दिन सक्छ र तर पनि नागरिकताको अधिकारबाट वञ्चित नगराइदिए हुन्थ्यो भन्ने चाहना हो’ –उनले भनिन्।

प्रतिक्रिया दिनुहोस्