सहमतिकै आधारमा संविधान संशोधन प्रस्तावः गृहमन्त्री निधि



नेपाल समाचारपत्र
भक्तपुर

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले पछिल्लो समयमा संविधान संशोधनको विषयलाई लिएर देशको माहौल ताते पनि यसले छिट्टै निकास पाउने बताउनुभएको छ।

भक्तपुरको चाँगुनारायणमा रहेको महांकाल त्रिशूलडाँडा परिसरलाई धार्मिक तथा पर्यटकीय स्थलको रूपमा विकास गर्न आइतबारबाट शुरु भएको श्रीमद् भागवत धान्याञ्चल ज्ञान महायज्ञमा बोल्दै मन्त्री निधिले सरकारले एकलौटी ढंगले संसद्मा संविधान संशोधन विधेयक नल्याएको बताउँदै विगतमा एमालेसँग भएको छलफल र सहमतिकै आधारमा संविधान संशोधन प्रस्ताव आएको बताउनुभयो।
संविधान कार्यान्वयनका लागि दलहरूबीच छिट्टै सहमति जुट्ने विश्वास व्यक्त गर्दै उहाँले संविधान संशोधनको विषयलाई लिएर आन्दोलनमा जानु र पक्ष⁄विपक्षमा विभाजित हुनुभन्दा वार्ताबाटै निकासका लागि अधिकतमभन्दा अधिकतम सहमति खोज्नुपर्ने बताउनुभयो।

उहाँले संविधान कार्यान्वयन गरी निर्वाचनमा जानु सरकारको प्राथमिकता रहेको बताउँदै संविधान कार्यान्वयनको वातावरण तयार पार्नकै लागि संसद्मा संशोधन विधेयक दर्ता भएको उल्लेख गर्नुभयो।

सरकारले अब छिट्टै निर्वाचनको मिति तोक्ने तयारी गरेको बताउँदै उपप्रधानमन्त्री निधिले आन्दोलनरत दल एमाले र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई सहमतिका लागि संवादमा जुट्न आग्रह गर्नुभयो। संविधान घोषणा भएदेखि नै संविधान संशोधनको कुरा उठेको बताउँदै उहाँले दलहरू मिलेर संविधान कार्यान्वयनमा जानुको विकल्प नरहेकोमा जोड दिनुभयो।

सो अवसरमा उहाँले गुरु गोरखनाथ मन्दिरको निर्माणका लागि ५ लाख प्रदान गर्नुभएको ज्ञान महायज्ञ मूल आयोजक समितिका संयोजक कृष्णलाल भँडेलले बताउनुभयो।

संयोजक भँडेलले महायज्ञ २८ गतेसम्म सञ्चालन हुने बताउँदै दोलागिरी पर्वतमा अवस्थित ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल त्रिशूलडाँडाको पूर्वाधार विकासका लागि सञ्चालन गरिएको महायज्ञमा सहभागी हुन सबैलाई आग्रह गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्