मलको मूल्य घट्यो युरियामा प्रतिबोरा २ सय, डीएपीमा १ सय रुपियाँ सस्तो



नेपाल समाचारपत्र
काठमाडौं

सरकारले अन्तर्राष्ट्रिय बजारको मूल्यअनुसार रासायनिक मलको मूल्य समायोजन गरेको छ। कृषि मन्त्रालयले रासायनिक मलमा प्रतिकिलो ४ र डीएपीमा प्रतिकिलो २ रुपियाँ घटाउने निर्णय गरेको हो। अन्तर्राष्ट्रिय मूल्यअनुसार रासायनिक मलको मूल्य समायोजन गर्न कृषि सामग्री कम्पनीको बोर्ड बैठकले गरेको सिफारिसअनुसार सरकारले मूल्य समायोजन गरेको हो।

अन्तर्राष्ट्रिय बजारको मूल्यअनुसार मलको मूल्य समायोजनका लागि बोर्ड बैठकले मन्त्रालयलाई सिफारिस गरेको थियो।

अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य घटे पनि नेपालमा २०६८ सालदेखि मलको मूल्य समायोजन हुन सकेको थिएन। जसको कारण किसानहरूले महँगो मूल्यमा मल खरिद गर्न बाध्य भएका थिए।

सरकारले मलको मूल्य समायोजन गरेपछि किसानका लागि राहत भएको छ। कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ लिमिटेडले सरकारसँग अनुदान लिएर रासायनिक मल खरिद गरी किसानलाई विक्रीवितरण गर्दै आएका छन्। नेपालमा सात लाख मेट्रिकटन मलको माग हुने अध्ययनले देखाए पनि तीन लाख मेट्रिक टन मलबाट नै किसानको माग पूरा हुँदै आएको कृषि सामग्री कम्पनीले बताएको छ।

कृषि सामग्री कम्पनीले विराटनगर, वीरगन्ज र भैरहवामार्फत देशभर मल विक्रीवितरण गर्दै आएको छ। कृषि सामग्री कम्पनीका अध्यक्ष तोयानाथ थपलियाले नयाँ मूल्य समायोजनसँगै किसानलाई ठूलो राहत पुगेको बताउनुभयो। ‘हाम्रो सिफारिसमा सरकारले नयाँ मूल्य समायोजन गरेको छ, किसानलाई सुविधा पुगेको छ।⁄ –उहाँले बताउनुभयो। नयाँ मूल्य समायोजनसँगै युरिया मल प्रतिबोरा ९ सय रुपियाँबाट घटेर ७ सय रुपियाँ र डीएपी २ हजार २ सय ५० बाट २ हजार १ सय ५० रुपियाँ निर्धारण भएको छ।

प्रतिक्रिया दिनुहोस्