विद्यालय पुनर्निर्माणपछि इचोकबासीले भने ‘भुइँचालो त अवसर लिएर आएछ’



नानीराम नेपाल, सिन्धुपाल्चोक
इँचालो नआएको भए यहाँ कसले स्कुल बनाइदिन्थ्यो?’ –इचोक गाविसस्थित महेन्द्र माध्यमिक विद्यालयमा पुग्दा स्थानीय अभिभावक कृष्ण केसी भन्दै थिए। उनकै भाषामा भन्दा भुइँचालो नआएको भए इचोकको ठाउँमा सुविधा सम्पन्न बालमैत्री तथा अपांगमैत्री विद्यालय भवन सायदै बन्ने थिएन। भूकम्पमा भत्किएको घर ठड्याउन सकेका छैनन् उनले। कसरी अनि कस्तो किसिमको घर बनाउने भन्ने अन्योल त छँदै छ। तर पनि विद्यालय पुनर्निर्माणले उनीजस्तै इचोकबासीका मुहारमा खुसी ल्याइदिएको छ। ‘क्षति त भयो नै तर भुइँचालोले स्कुलका लागि अवसर लिएर आएछ’ –गाउँमा सुविधा सम्पन्न विद्यालय भवन बन्दाको खुसी यसरी पोखे उनले।

भूकम्पले महेन्द्र माध्यमिक विद्यालयको भवन क्षति भयो। डेढ वर्षसम्म अस्थायी संरचनामा पठनपाठन हुँदै आयो। टहरामा पठनपाठन असहज बनिरहेका बेला विद्यालयको सुविधा सम्पन्न भवन निर्माणले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हस्त पण्डितको मुहारमा पनि खुसी ल्याइदियो। विद्यालय पुनर्निर्माणको पिरलो छैन अब उनलाई। ‘विद्यालय कसरी बनाउने भन्ने चिन्ता थियो’, पण्डितले भने– ‘सुविधा सम्पन्न भवन निर्माण शुरू भएपछि सिंगो गाउँमै खुसी छाएको छ।’

भूकम्पपीडितले निजी आवास पुनर्निर्माण गर्न नसकिरहे पनि गाउँमा सुविधा सम्पन्न विद्यालय भवन बन्दा इचोकबासीमा खुसीयाली छाएको छ। भूकम्पको डेढ वर्षका बीच दशकोठे बालमैत्री तथा अपांगमैत्री पक्की भवन ठडिएपछि इचोकका स्थानीयमा खुसी छाएको हो। ४ करोड बढीको लगानीमा कारितास स्वीजरल्यान्डले शिक्षा विभागसँग महेन्द्र माध्यमिक विद्यालय भवन निर्माणको सम्झौता गरेको थियो। सम्झौताअनुसार कारितासले भवन निर्माणको प्रक्रिया अघि बढाएको थियो। अहिलेसम्म ढलान र गारोको काम सम्पन्न भइसकेको छ। अब फलसिलिङ र छानोका लागि ट्रस्ट राख्न मात्र बाँकी छ।

आगामी ४ महिनाभित्र विद्यालय भवन निर्माण सम्पन्न गरी समुदायलाई हस्तान्तरण गरिने कारितासले जानकारी दिएको छ। ‘ठेकेदारले काम तीव्रताका साथ अघि बढाएको छ, निर्धारित समय अगाडि नै निर्माण सम्पन्न हुन सक्छ’ –कारिताससँग विद्यालय पुनर्निर्माणमा समन्वय गरिरहेको टुकी संघ सुनकोसीका कार्यक्रम संयोजक निराजन चौलागाईंले भने। महेन्द्र माविको यो भवन जिल्लाकै नमुना र सुविधा सम्पन्न हुने उनले बताए।

प्रतिक्रिया दिनुहोस्