काठमाडौं।
नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठानले बालबालिकामा आँखासम्बन्धी समस्या बढ्दै गएको भन्दै समयमै आँखा परीक्षण र उपचारमा ध्यान दिन अभिभावक तथा सरोकारवालालाई आग्रह गरेको छ।
विश्व दृष्टि दिवस २०२६ को अवसरमा प्रतिष्ठानले ‘आफ्नो आँखालाई माया गरौं, दृष्टिको रक्षा गरौं’ भन्ने सन्देशसहित साताव्यापी रूपमा विभिन्न सचेतनामूलक कार्यक्रम तथा आँखा शिविर सञ्चालन गरेको जनाएको छ।
प्रतिष्ठानका अनुसार विश्वभर कम्तीमा २.२ अर्ब मानिस कुनै न कुनै प्रकारको दृष्टि दुर्बलताबाट प्रभावित छन्। तीमध्ये करिब १ अर्ब मानिसमा रहेको दृष्टि दुर्बलता रोकथाम गर्न सकिने वा उपचारमार्फत सम्बोधन गर्न सकिने अवस्था रहेको छ। सम्बोधन हुन नसकेको दृष्टि दुर्बलता वा अन्धोपन भएका व्यक्तिमध्ये करिब ९० प्रतिशत न्यून तथा मध्यम आय भएका मुलुकमा रहेको प्रतिष्ठानले जनाएको छ।
नेपालमा कुल जनसंख्याको ०.२८ प्रतिशतमा कुनै न कुनै प्रकारको अन्धोपना रहेको तथ्यांक उद्धृत गर्दै प्रतिष्ठानले ५० वर्षभन्दा माथिको जनसंख्यामा यो दर १.०५ प्रतिशत रहेको जनाएको छ। पुरुषको तुलनामा महिलामा अन्धोपनको समस्या बढी देखिने पनि प्रतिष्ठानको भनाइ छ।

नेपालमा अन्धोपना तथा गम्भीर दृष्टि दोषका प्रमुख कारणमा मोतीबिन्दु, दृष्टिदोष, आँखाको नानीमा फुलो पर्ने समस्या, जलविन्दु तथा मधुमेहका कारण हुने आँखासम्बन्धी समस्या रहेका छन्।
प्रविधिको बढ्दो प्रयोगसँगै बालबालिकामा पनि दृष्टिदोषको समस्या बढिरहेको प्रतिष्ठानले जनाएको छ। समयअगावै जन्मिएका शिशुमा देखिने रेटिनोपेथी अफ प्रिम्याच्युरिटी, आँखाको क्यान्सर, जन्मजात मोतीबिन्दु, जलविन्दु लगायतका समस्याको समयमै पहिचान र उपचार गर्न सके बालबालिकाको दृष्टि जोगाउन सकिने प्रतिष्ठानले जनाएको छ।
विश्व दृष्टि दिवसको अवसरमा प्रतिष्ठानले विद्यालय, समुदायलगायत बालमैत्री क्षेत्रमा सचेतनामूलक कार्यक्रम तथा आँखा शिविर सञ्चालन गरेको छ। काठमाडौंसहित देशका विभिन्न स्थानमा रहेका सामुदायिक आँखा अस्पताल, सर्जिकल आँखा केन्द्र तथा सामुदायिक आँखा केन्द्रमार्फत पनि विभिन्न कार्यक्रम आयोजना गरिएको प्रतिष्ठानले जनाएको छ।

कार्यक्रमअन्तर्गत विद्यालय आँखा परीक्षण शिविर, स्वास्थ्य सेवा विभागका निजामती कर्मचारीका लागि आँखा परीक्षण, कैदीबन्दी तथा कारागारमा कार्यरत कर्मचारीका लागि आँखा जाँच शिविर र सचेतनामूलक र्याली आयोजना गरिएको थियो। आँखा परीक्षणपछि निःशुल्क औषधि तथा चश्मा वितरण गर्नुका साथै मोतीबिन्दुका बिरामीका लागि निःशुल्क शल्यक्रिया तथा आँखा परीक्षणसमेत गरिएको प्रतिष्ठानले जनाएको छ।
प्रतिष्ठानले आँखामा लाग्ने चोटपटक, बालबालिकामा हुने आँखासम्बन्धी समस्या लगायतका विषयमा जनचेतना अभिवृद्धि गर्न अडियो–भिडियो तथा अन्य प्रचार सामग्रीसमेत तयार गरी सामाजिक सञ्जाल र समुदायमा प्रसारण गरिरहेको जनाएको छ।
प्रतिष्ठानले बच्चा जन्मिएको एक महिनामा, विद्यालय भर्ना गर्नुअघि र त्यसपछि प्रत्येक वर्ष अनिवार्य रूपमा आँखा परीक्षण गराउन अभिभावकलाई आग्रह गरेको छ।
आँखा रातो हुने, डेढो हुने, धमिलो देखिने, आँखा दुख्ने, निरन्तर चिप्रा लाग्ने वा आँसु बगिरहने, आँखा सामान्यभन्दा सानो वा ठूलो देखिने, आँखाको कालो भागमा सेतो देखिने तथा आँखामा चोटपटक लाग्ने समस्या देखिएमा तत्काल नजिकको आँखा केन्द्र वा अस्पतालमा परीक्षण गराउन प्रतिष्ठानले सुझाव दिएको छ।

त्यस्तै, समयअगावै जन्मिएका तथा कम तौलमा जन्मिएका शिशुको पनि जतिसक्दो छिटो आँखा परीक्षण गराउन प्रतिष्ठानले आग्रह गरेको छ।
आँखा स्वास्थ्य सेवामा सबैको पहुँच, उपयोग र निरन्तरताका लागि सरकार, स्वास्थ्यकर्मी, बिरामी, समुदाय, स्थानीय तह, साझेदार संस्था तथा सञ्चारकर्मीको संयुक्त प्रयास आवश्यक रहेको प्रतिष्ठानले जनाएको छ।
विश्व दृष्टि दिवसको सन्दर्भमा प्रतिष्ठानले ‘आफ्नो आँखालाई माया गरौं, दृष्टिको रक्षा गरौं’ भन्ने अभियानमा सबैलाई ऐक्यबद्ध हुनसमेत आह्वान गरेको छ।











प्रतिक्रिया