लायन्स पाठशाला सञ्चालनमा

6.58k
Shares

काठमाडाैं ।

लायन्स डिस्ट्रिक्ट ३२५ आई नेपालले लायन्स पाठशाला सञ्चालनमा ल्याएको छ । पोखरा-९, नयाँबजारस्थित नवप्रभात माध्यमिक विद्यालयमा सामान्य ज्याला मदजुरी गरी जिवन यापन गर्दै आएका लक्षित वर्ग वा समूहका विद्यार्थीहरूलाई स्कुल समय पछिको समयलाई सदुपयोग गराउने उद्देश्यले लायन्स पाठशाला सञ्चालनमा ल्याएको हो ।

बुधवार लायन्स पाठशालाको उद्घाटन गर्दै लायन्स डिस्ट्रिक्ट ३२५ आई नेपालका डिस्ट्रिक्ट गभर्नर विनोद ढुङ्गानाले न्यून आए भएका बालबालिकाको शैक्षिक गुणस्तर अभिवृद्धि गरी उनीहरुको भौतिक तथा शैक्षिक पक्षको विकास गर्ने उद्देश्यले लायन्स पाठशाला सञ्चालनमा ल्याइएको बताए । सो अवसरमा गभर्नर विनोद ढुङ्गानाले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रीति पाण्डे र विद्यालयका प्रधानाध्यापक माया थापालाई लायन्स पाठशाला सञ्चालन कार्यविधि पनि हस्तान्तरण गरेका थिए ।

लायन्स पाठशालामा बिदाको दिनबाहेक विद्यालय समय सकिएपछि दैनिक करिब २ घण्टाको पढाई हुनेछ भने यसबिचमा विद्यार्थीलाई खेल्ने र खाजा खाने समय समेत सोही समयभित्र व्यवस्थापन गरिनेछ । लायन्स पाठशाला सञ्चालनमा आवश्यक शैक्षिक सामग्री लायन्सले नै निःशुल्क रूपमा उपलब्ध गराउने छ ।

गभर्नर ढुङ्गानाले भने, डिष्ट्रिक्टले यस वर्ष अगाडि सारेको महत्त्वपूर्ण काम हो, ‘लायन्स पाठशाला’ । लायन्स अन्तर्राष्ट्रियले सुरुदेखि अन्धोपन निवारण लगायत विविध क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आएको छ । नेपालको सन्दर्भमा लायन्समा युवालाई जोडी लायन्सलाई ब्राण्डिङ गर्ने र साँचो अर्थमा सामाजिक सेवा पनि हुने हिसाबले लायन्स पाठशाला शुरु गरेका हौं ।’ उनले भने( पढ्न पर्छ, पढ़ाउन पर्छ भन्ने चेतना हुँदाहुँदै पनि न्यून आम्दानीका कारण सामान्य पढ्न पाठनमा समेत अवरोध सृजना हुने कक्षा १ देखि ५ सम्म सामुदायिक एवं सरकारी विद्यालयमा अध्ययन गर्ने विद्यार्थी जो स्कुल समय पश्चात् घर नगई बाबुआमाले काम गर्ने ठाउँमा गई समय बिताउँछन् तिनैलाई लक्षित गरी पढ्नु पर्छ, गृहकार्य गर्नुपर्छ भन्ने चेतना जगाउन स्कुल समय पश्चात् दुई घण्टा कक्षा सञ्चालन गरिने छ ।’

गभर्नर ढुङ्गानाले विपन्न तथा लक्षित वर्गका विद्यार्थीहरूको शैक्षिक गुणस्तर अभिवृद्धि, समता मूल शिक्षामा लक्षित समूहका बालबालिकाहरूको सहज पहुँचको आधार तयार गर्ने उद्देश्यले लायन्स पाठशाला कार्यक्रम ल्याइएको बताए ।
लायन्स पाठशाला सञ्चालन कार्यक्रमका संयोजक एवं डिस्ट्रिक्ट को(चिफ एडभाईजर शान्ता थापाले विद्यार्थीहरूको छनौट प्रक्रियाका बारे जानकारी गराएकी थिइन् ।

उनका अनुसार विद्यार्थीहरू जो नियमितरुपमा विद्यालयमा हाजिरी भएको हुनुपर्ने, लायन्स पाठशालाले लक्षित विद्यार्थीहरूका लागि आवेदन दिनका लागि सार्वजनिक सूचना प्रकाशित गर्ने, तोकिएको आधारहरू पूरा गरेका विद्यार्थीले तोकिएको समयभित्र सम्बन्धित विद्यालयको सफारिसपत्र सहित आवेदन दिनुपर्ने लगायतका विषय राखिएको बत्ताइन् ।

लायन्सको तर्फबाट लायन्स पाठशाला सञ्चालनका लागि तालिम प्राप्त दक्ष शिक्षकहरूको व्यवस्था, शिक्षण सिकाई प्रक्रिया अपनाउँदा आधुनिक शिक्षण विधि र प्रविधिसहितको शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गरिने, शिक्षण सिकाकाई लागि आवश्यक पर्ने उपर्युक्त र पर्याप्त सिकाई सामग्रीको समेत व्यवस्था, नियमित विद्यालयको छुट्टिलगत्तै कक्षा सञ्चालन गरिने लगायतका रहेका छन् ।

संयोजक थापाले लायन्स पाठशाला सञ्चालनका लागि विभिन्न क्लब र लायन्स साथीहरूबाट सहयोग प्राप्त हुने अपेक्षा समेत राखेकी थिइन् । पहिलो चरण अन्तर्गत लायन्स पाठशालामा ३० देखि ३५ जना विद्यार्थी समावेश गराइने र उनीहरूको लागि खाजा, स्टेशनरी र दुई घण्टाका लागि शिक्षक खटाउँदा र बिदाको समय कटाउँदा करिब चार लाख खर्च आउने अनुमान गरिएको थापाले जानकारी गराइन् ।

‘लायन्स पाठशाला’ डिस्ट्रिक्ट गभर्नर प्रोग्राम चेयरपर्सन शान्ति अधिकारीको अध्यक्षता ग्लोबल कजेज चेयरपर्सन कमला गुरुङको सञ्चालन रहेको कार्यक्रममा पूर्व डिस्ट्रिक्ट गभर्नर रामबहादुर बसेलले दीर्घकालीन रूपमा प्रभाव पार्ने काम डिस्ट्रिक्ट गभर्नरले ल्याएकोमा धन्यवाद दिदैं कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए । लक्षित वर्गलाई राहत पुग्ने खालको गरिबी तथा अन्य विविध कारणले विद्यालय जानबाट वञ्चित भएका बालबालिकाहरू शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यका साथ यो अभियान अगाडि बढाएकोमा गभर्नरको प्रशंसा गरेका थिए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रीति पाण्डेले विद्यालयका गतिविधि बारे प्रकाश पार्दै लायन्स डिस्ट्रिक्ट ३२५ आई नेपालले सही विद्यालय छनोट गरेको बताएकी थिइन् । लायन्सले खोजे जस्तै लक्षित वर्गका विद्यार्थी यस विद्यालयमा रहेको र विद्यालय छनोट गरेकोमा आभारसहित धन्यवाद व्यक्त गर्दै विद्यालयको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

विद्यालयमा अध्ययन गर्ने विद्यार्थीका अभिभावक मनकुमारी बुढा, शशिराम विक, सीता गुरुङ लगायतले स्कुल छुट्टी भएपछि बालबच्चा कहाँ जान्छन् के गर्छन् भन्ने पिरलो हटाएको छ । ४ बजे पछिको दुई घण्टामा २० बोरा बालुवा चाल्न र बोक्न पाइने भयो भनी ख़ुशी व्यक्त गरेका थिए ।