जेष्ठ नागरिकलाई निमोनियाविरुद्धको नि:शुल्क खोप दिने



काठमाडौं ।

बागमती प्रदेश सरकारले ७० वर्ष माथिका जेष्ठ नागरिकलाई निमोनियाविरुद्धको खोप नि:शुल्क दिने भएको छ । कोभिड – १९ को संक्रमणमा परेका धेरै जेष्ठ नागरिकलाई निमोनियाले सताएको भन्दै प्रदेश सरकारले निशुल्क खोप दिन लागेको हो ।

‘बागमती प्रदेश सरकारले जेष्ठ नागरिकको स्वास्थ्यलाई विशेष ख्याल राख्दै यो कार्यक्रम अघि सारेको हो र यो जेष्ठ नागरिक प्रतिको हाम्रो सम्मान पनि हो,’ बागमतीका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले भने । स्वास्थ्य निर्देशनालय बागमती प्रदेशले मंगलबार काठमाडौँमा आयोजना गरेको स्वास्थ्य प्रवर्धन सेवा सम्वन्धि पत्रकार अन्तरक्रिया कार्यक्रममा सहभागी मन्त्री श्रेष्ठले निशुल्क खोप कार्यक्रमको प्राथमिकता विपन्न नागरिक भए पनि यो अवसर सबैलाई प्रदान गर्न लागिएको बताए ।

सो अवसरमा उनले चालु आर्थिक बर्षमा भएका काम र आगामी आर्थिक बर्षमा गर्न खोजिएका कामका बारेमा जानकारी गराएका थिए । ‘स्वास्थ्य मन्त्रालय बागमती प्रदेशको मुल नीति स्वस्थ व्यक्ति, स्वस्थ परिवार र समाज होस भन्ने हो । त्यसका लागि निदान र उपचार मात्रै होइन सचेतनाका माध्यमबाट रोग लाग्नै नदिने र रोकथामका लागि पहल गर्ने भन्ने हो । आगामी आर्थिक बर्षको बजेटमा यी कुरालाई ध्यान दिइएको छ,’ मन्त्री श्रेष्ठले भने ।

बागमती प्रदेशले यसपटक सबै १३ वटा जिल्लामा मानसिक स्वास्थ्यको प्रवर्धन आत्महत्या न्यूनिकरण अभियान सञ्चालन गर्दै छ । त्यसका लागि १ करोड ७३ लाख बजेट विनियोजन गरेको समेत मन्त्री श्रेष्ठले जानकारी दिए । उनले भने, ‘बार्षिक ७ देखि ८ हजार बढीले आत्महत्या गर्दा रहेछन् र अधिकांश युवा पुस्ता । यसलाई रोक्नका लागि अभियान सञ्चालन गर्दैछौँ ।’

पश्चिम तराईका थारु समुदायमा देखिएको सिक्कल सेल एनिमिया बागमती प्रदेशमा देखिएको थाहा छैन । तर बागमती प्रदेश सरकारले यसको परीक्षणको लागि समेत बजेट व्यवस्था मिलाएको छ । ‘किन यस्तो रु’ स्वास्थ्य निर्देशनालय बागमतीका निर्देशक दीपक तिवारीले सम्भावित जोखिम र अध्ययनका लागि यो कार्यक्रम अघि सारिएको बताए ।

‘यो दाङ नेपालगञ्ज तिरका थारु समुदायमा देखिने गरेको छ । अहिले त्यताका थारुहरु यता पनि बसाई सरेर आएका अवस्था छ । र यहाँ पनि थारु समुदायको बसोबास रहेकोले थाहा पाउनका लागि पनि यो कार्यक्रम अघि सारिएको,’ उनले भने । उनले चालु आर्थिक बर्षमा गरिएका काममा केही नयाँपन देखिने गरी बजेट आएको भन्दै यसले बागमतीलाई अलग पहिचानसहित अघि बढाउने विश्वास व्यक्त गरे ।

‘विगतका योजनाहरु कुन प्रभावकारी भयो कुन कार्यक्रम थप गर्नु पर्ने भयो ती सबैको विश्लेषण गरी यसपटक बजेट आएको छ । यो बजेटमा केही नयाँ कार्यक्रमहरु पनि जोडिदैछ । हामी अब देखि नै यसलाई प्रभावकारी ढंगले कसरी अघि बढाउने भन्नेमा लागेका पनि छौँ,’ निर्देशक तिवारीले भने ।

कार्यक्रममा स्वास्थ्य निर्देशनालयका बरिष्ठ जनस्वास्थ्य प्रशासक सतिश बिष्टले मन्त्रालयले चालु आर्थिक बर्षमा गरेका काम, पाएका उपलव्धी संगै आगामी आर्थिक बर्षमा गर्न खोजिएका कामका बारेमा विस्तृत रुपमा प्रस्तुतिसहित जानकारी दिएका थिए । कार्यक्रममा स्वास्थ्य शिक्षा अधिकृत अर्जुन पौडेलले स्वास्थ्य सचेतनाका लागि सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने भन्दै पत्रकार पैरवी कार्यक्रमको आयोजना गरिएको बताए ।

कार्यक्रम सञ्चालनको सहजीकरण निर्देशनालयका सूचना अधिकारी शिबप्रसाद बडालले गरेका थिए । कार्यक्रममा स्वास्थ्य मन्त्रालय बागमती प्रदेशका प्रवक्ता डा खगेश्वर गेलाल, प्रदेश स्वास्थ्य तालीम केन्द्र बागमतीका डा नरेन्द्रकुमार झा लगायतका अधिकारीहरुको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्