पत्रकार शुद्धीकरणको नाममा पत्रकार महिलाहरू सदस्यबाट बढी फालिए 



काठमाडौं  । 

पत्रकार शुद्धीकरणको नाममा पत्रकार महिलाहरू सदस्यबाट बढी फालिए । हरेक क्षेत्रमा महिलालाई हेप्ने, चेप्ने, हिंसा गर्ने गरेका घटना नेपाल पत्रकार महासंघमा पनि पत्रकार महिला नै बढी पीडित बनेका छन् । पत्रकार महिलाको हकहितका विषयमा नेपाल पत्रकार महासंघ जिम्मेवार बन्न नसकेको र सक्रिय पुरुष पत्रकारको पनि सदस्यता काटेका कारण नेपाल पत्रकार महासंघको निर्वाचन तोकिएको समयमा गर्न नसकेको हो ।

सञ्चारीका समूह नेपालले मंगलबार ललितपुरमा आयोजना गरेको सामाजिक सञ्जालमा हुने लैंगिक हिंसा न्यूनीकरण सम्बन्धी कार्यशालामा बोल्दै नेपाल पत्रकार महासंघका उपाध्यक्ष तथा महिला विभागका प्रमुख बाला अधिकारीले उक्त भनाई राख्नुभएको हो । उहाँले यति बेला पत्रकार महिलाको विश्वासिलो संस्थाका रूपमा सञ्चारीका समूह स्थापित भएको छ भन्नुभयो ।

सोही अवसरमा उहाँले समाचार ब्रेक गर्न जति पुरुष पत्रकारलाई सजिलो छ पत्रकार महिलालाई समाचार स्रोत देखि सञ्चार गृह सम्म पुग्दा र डेक्समा समाचार पस्किएर सम्पादकको नजरमा पुग्दा सम्म उत्तिकै चुनौती छ । यसका साथै पत्रकार महिलाले कुनै समाचार ब्रेक गर्‍यो भने सहकर्मी पुरुष पत्रकारले नै स्राेतकाे खोजी गरी महिलाको पहिचान दिने र लिपि समेत सार्वजनिक गर्ने, ह्यार्यासमेन्ट गर्ने र समाचार नै नछाप्ने सम्मका हर्कत गर्ने गरेका गुनासाहरु महासंघमा आएको बताउनुभयो । यति मात्र नभै महिलाको चरित्र हत्या गर्ने सम्मका हर्कत हुने गरेका घटना बढ्दो क्रममा रहेको अवस्थामा पत्रकार महिलालाई पत्रकारिता पेशामा टिकाउन यस्ता तालिम र आत्मबल बढाउन प्रविधि मैत्री बनाउनुपर्ने खाँचो रहेको कुरा उपाध्यक्ष अधिकारीले औँल्याउनुभयो ।

सोही अवसरमा नेपाल प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारिताका चुनौतीको सामना गर्न सञ्चारीका समूह आएको छ । सञ्चारीकाले पत्रकार महिलाहरूलाई अब्बल राम्रो पत्रकार बन्न प्रदेश, गाउँ गाउँ सम्म पत्रकार महिलाको संख्या र गुणस्तरका बारेमा सरकार समक्ष आवाज उठाउने र प्रविधि मैत्री तालीम दिने कामको नेतृत्व लिन सकोस् भन्नुभयो ।

१० वर्ष अघि र आजको पत्रकारितामा धेरै परिवर्तन आई सकेको छ । यस विषयमा सरकारले पत्रकारिताको विकासका लागि कुनै लगानी नै गरेको छैन । पत्रकारिता अरु पेशा भन्दा भिन्न छ र जुन मुलुकमा स्वतन्त्र पत्रकारिता हुन्छ त्यहि मुलुकका नागरिकले सही सूचना पाउँछन् र सचेत हुन्छन् । गुणस्तरीय पत्रकारिताका लागि सञ्चारीका समूहले खेलेको भूमिका महत्त्वपूर्ण छ । पत्रकार महिलालाई गुणस्तरीय पत्रकारिता र दिगो पेसाका रूपमा पत्रकारितालाई अपनाउन सक्ने बनाउन तालिम दिने मात्र नभै सरकारले लगानी गर्नुपर्छ ।

सरकारले पत्रकारिताको श्रीवृद्धिका लागि कति लगानी गर्‍यो ? सामाजिक सञ्जाल र सञ्चार माध्यम बिलकुलै भिन्न विषय हुन् । सरकार परिवर्तन हुँदैमा विधि र विधान परिवर्तन नहुँदा सम्म सञ्चारकर्मीले खुसी या दुःखी हुनुपर्ने केही कारण छैन । युवा पुस्तालाई पत्रकारितामा ल्याउने तर्फ सरकारको ध्यानाकर्षण गर्नुपर्छ । साथै नेपाल सरकारले हालै ल्याउन लागेको सञ्चार विधेयक एउटा मन्त्रालयको इकाईको लागि ल्याउन लागे जस्तो हुँदै छ । यस विषयमा आमसञ्चार को विकास र पत्रकारको रक्षार्थ हुनुपर्छ भन्ने विषयमा सरकारको ध्यानाकर्षण गराउनु जरुरी छ भन्नुभयो । 

कार्यक्रममा पत्रकार उज्ज्वल आचार्यले पत्रकारितामा सोसल मिडिया प्रयोग र जोखिमका बारेमा दक्षिण एसियाका पत्रकारहरूले गर्दै आएका अभ्यास र चुनौतीका बारेमा प्रकाश पार्नुभयो । उहाँले प्रविधिको प्रयोग गर्न धेरैले नबुझेर गर्दा हिंसा बढेको कुरा औँल्याउनुभयो । पत्रकार महिला र पुरुष दुबैलाई प्रविधि नबुझी प्रयोग गर्दा हिंसा हुन्छ तर असर बढी महिलालाई पर्ने गरेको दक्षिण एसियाको अध्ययन अनुसन्धानले देखाएको कुरा बताउनुभयो ।

कार्यक्रममा सञ्चारीका समूहका अध्यक्ष विमला तुम्खेवा, गोरखापत्र संस्थानका महाप्रबन्धक लाल बहादुर ऐरी, सञ्चारीका समूहका अनिता गुरुङ, सञ्चारीका समूहका महासचिव वसन्ती बास्तोला, उपाध्यक्ष पवित्रा सुनारलगायतले सामाजिक सञ्जाल र एआईको प्रयोगले दिएका फाइदा र प्रयोग गर्न नजान्दा भएका सास्तीमाथि चर्चा गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्