हेटौंडाको बजेट १६ प्रतिशत कम



हेटौंडा।

हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१-०८२ का लागि २ अर्ब ४३ करोड ८९ लाख ७१ हजार बजेट सार्वजनिक गरेको छ ।
आइतबार १५ औं नगरसभा बैठकमा उपमहानगर उपप्रमुख राजेश बानियाँले बजेट सार्वजनिक गरेका हुन् । आगामी आर्थिक वर्षका लागि सार्वजनिक भएको बजेट चालु आर्थिक वर्षको तुलनामा ४६ करोड ७२ लाख २९ हजार अर्थात १६ दशमलव ०७ प्रतिशत कम हो ।

बजेट सार्वजनिक गर्दै उपप्रमुख बानियाँले अर्थतन्त्रमा पारेको प्रतिकूल प्रभाव तथा संघ र प्रदेशबाट भएको घट्दो बजेटसीमालाई ख्याल गर्दै बजेटको आकार घटाइएको जानकारी गराए ।

उपमहानगरले पूर्वाधार क्षेत्र विकासतर्फ ८८ करोड ८६ लाख ९९ हजार, आर्थिक विकासतर्फ ७ करोड ५६ लाख, सामाजिक विकासतर्फ ९३ करोड १९ लाख, वातावरण तथा विपद् व्यवस्थापनतर्फ ३ करोड १२ लाख विनियोजन गरेको छ । कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च एवम् वित्तीय व्यवस्थापनतर्फ साँवाब्याज भुक्तानीका लागि ४० करोड ६२ लाख, सुशासन तथा संस्थागत विकासतर्फ २ करोड ५१ लाख छ्ट्याइएको छ ।

हेटौंडा–१० मा निर्माणाधीन एकीकृत बसपार्क तथा टर्मिनल भवन निर्माण सम्पन्न गरी आगामी वर्षबाट सञ्चालन गर्न ६ करोड तथा सहकारी सडकमर्मतका लागि १ करोड ७० लाख विनियोजन भएको छ । विभिन्न पूर्वाधार आकस्मिक मर्मतका लागि १ करोड ५० लाख विनियोजन गरेको उपमहानगरले पदमपोखरी मुख्य सडक विस्तारका लागि ७ करोड छुट्याएको छ ।

आगामी आर्थिक वर्षमा जिम्मेवारी सर्ने योजना भुक्तानीका लागि १७ करोड, खानेपानीको न्यूनतम् महसुल भुक्तानीका लागि २ करोड ८ लाख, नागस्वती फुटबल स्टेडियम निर्माणका लागि १ करोड ७२ लाख, हेटौंडा चक्रपथअन्तर्गत १५, १६ र १७ नम्बर वडाका लागि २ करोड विनियोजन गरिएको छ ।

नगरको वृहत्तर विकासमा महत्व राख्ने ठूला आयोजनाको सम्भाव्यता अध्ययन, डिजाइन, ड्रइङ, अनुसन्धान तथा परामर्श एवम् आवधिक योजना निर्माण गरी परियोजना बैंकका लागि २० लाख, नेपाल विद्युत् प्राधिकरणसँगको सहकार्यमा सडकमा उज्यालो शहर कार्यक्रमअन्तर्गत हाइमास्ट लाइट जडान, नगरको मुख्य चोक र बजार क्षेत्रमा उज्यालो सहर कार्यक्रमअन्तर्गत स्ट्रिटलाइट जडानका लागि ३० लाख, सहिद स्मृति पार्क निर्माणका लागि ३६ लाख, अटोभिलेज निर्माण र स्तरोन्नति, निर्माणाधीन तामाङ संग्र्रहालय निर्माणका लागि ५० लाख विनियोजन गरिएको छ ।

उन्नत बालीको विउ तथा मिनिकिट खरिद, विषादी खरिद तथा वितरण, साना सिचाईं कार्यक्रम, ल्याब सञ्चालन, कृषिमा युवालक्षित कार्यक्रम, यान्त्रिकीकरण प्रवद्र्धन, आकस्मिक बाली क्षतिपूर्ति कार्यक्रम, अदुवा बेसार, पिंडालु, सखरखण्ड तथा तरुल प्रवद्र्धन, कोदोको समर्थन मूल्य निर्धारणलगायत योजना तथा कार्यक्रमका लागि २ करोड ४ लाख बजेट विनियोजन गरिएको छ ।

महिलासँग पशुपालन, गरिब-विपन्न-दलित तथा एकल महिलालक्षित कार्यक्रम, मिल्क एनालाइजर खरिदलगायत पशुविकासतर्फका विविध कार्यक्रम तथा योजना सञ्चालन गर्न सशर्तसमेत गरी १ करोड ३५ लाख २० हजार बजेट विनियोजन गरिएको छ ।

शिक्षक महिला सुत्केरी भएका बखत पठनपाठन हुने सिकाइ नोक्सानीलाई न्यूनीकरण गर्न सिकाइ आपुरणका लागि आवश्यक बजेट, शिक्षणसिकाइ प्रवद्र्धन गर्न नमुना ज्ञानपार्कका लागि पनि बजेट विनियोजन गरिएको छ । विद्यार्थीलाई मनोरञ्जनात्मक तवरले सिक्ने अवसर सिर्जना गर्दै सिपमूलक सिकाइका लागि ‘सुनौलो शुक्रबार’ कार्यक्रम सञ्चालन गर्न बजेट विनियोजन गरिएको छ ।

उनले विकासका लागि आर्थिक, सामाजिक, भौगोलिक पूर्वाधार खडा गर्ने, शासनमा सुधार र सेवाप्रवाहमा जनताको सहज पहुँच वृद्धि गर्ने, आन्तरिक क्षमता विकास र सुदृढीकरणमा जोड दिने, सन्तुलित एवम् दीगो समावेशी विकासको अवधारणालाई आत्मसात गर्ने, गरिबी न्यूनीकरण तथा जनजीविकामा टेवा पु¥याउने, समृद्ध नगर–सुखी नगरबासीको अवस्था हासिल गर्ने उद्धेश्यसाथ बजेट तर्जुमा गरिएको बताए ।

नगरसभामा नगर प्रमुख मीना लामाले प्रस्तुत गरेको उपमहानगरको नीति तथा कार्यक्रम सर्वसम्मत् पारित भएको छ ।

प्रतिक्रिया दिनुहोस्