गण्डकीका मुख्यमन्त्री पाण्डेले २८ गते विश्वासको मत लिने



काठमाडौँ।

गण्डकी प्रेदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले २८ गते विश्वासको मत लिने भएका छन् । गत जेठ १६ गते मुख्यमन्त्री नियुक्त भएका पाण्डेले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। जस अनुसार उनले आगामी २८ गते विश्वासको मत लिने भएका हुन्।

१४ जेठमा सर्वोच्च अदालतले तत्कालीन मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत प्राप्त गर्दा अपनाएको प्रक्रिया असंवैधानिक ठहर गर्दै उनी पदमुक्त हुने फैसला गर्दै कांग्रेस नेता पाण्डेलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखलाई आदेश दिएको थियो ।

गण्डकीमा सरकार टिकाउन ३१ सांसदको समर्थन चाहिन्छ । तर, पाण्डेसँग कांग्रेसका २७ सांसदमा छन् ।

विश्वासको मत पाउन उनलाई थप चार सांसदको साथ चाहिन्छ । दुई सिट रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रतिपक्षमा छ । राप्रपाले समर्थन गरिहाले पनि अझै दुई सांसदको अभाव रहन्छ ।

विपक्षमा रहेको एमाले–माओवादी गठबन्धनले विश्वासको मत दिने सम्भावना छैन । अर्कातर्फ स्वतन्त्र सांसद दीपक मनाङे (राजिव गुरुङ) पनि वर्तमान सरकारमा तत्काल नजाने बताइरहेका छन् ।

तत्काल विश्वासको मत पाउने सम्भावना नरहेपछि मुख्यमन्त्री पाण्डे बिहीबार काठमाडौं गएका थिए । काठमाडौंमा शीर्ष नेताहरूसँगको भेटपछि पाण्डेले विश्वासको मत लिने तयारी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्