संकीर्ण सत्ता-संस्कारमा रविको रमाइलो



विगतमा नेपाली कांग्रेस र नेकपा एमालेले बहुमतको सरकार चलाउँदा पनि राजनीतिक स्थायित्वको स्वाद चाख्न नपाएको सत्ताले यसपटक स्थिरता हासिल गर्छ भनेर कसैले अपेक्षा गरेको छैन।

पछिल्लोपटक जब नेपाली कांग्रेससँग छोडपत्र गरेर एकसाथ एमाले र रास्वपासँग प्रेम गर्न आएका प्रचण्डको प्रवृत्तिले सत्ताको संस्कार कति प्रदूषणयुक्त हुने रहेछ, प्रस्ट पारेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका शब्दहरु छन्– अनेक गरिन्छ तर सत्ता जोगाइन्छ। सामाजिक सञ्जालमा भाइरल बनेको प्रधानमन्त्रीको यस अभिव्यक्तिले सत्तामा पुगेर पनि आनन्द उठाउन नसकेका गृहमन्त्री रवि लामिछानेको राजनीतिक भविष्यलाई पनि चकनाचूर पारेको छ।

दुई–दुईपटक जनतालाई मतदान गर्ने दुःख दिएर गृहमन्त्री बनेका रविले अन्ततः आफैँ पनि सत्ताको आनन्द लिन सकेनन्। उनको चरित्र, स्वभाव र कर्मले उनलाई तेस्रोपटक अब गृहमन्त्री बनाउने सम्भावना देखिन्न।

समयमा त्याग गर्न नसक्दा कति ठूलो नोक्सान हुन्छ भन्ने सत्य नबुझेकै कारण सत्ता ढलेको उदाहरण बोकेको नेपाली राजनीतिको इतिहासमा प्रचण्ड, रवि र ओलीले ऐतिहासिक गल्ती गर्दै छन्। यस गल्तीमा संस्कार र प्रवृत्ति स्रोत बनेको छ।

मानिसको व्यवहारमा संस्कार र प्रवृत्ति स्रोतको रुपमा रहेको हुन्छ। पूर्वराजा ज्ञानेन्द्रले दाजु वीरेन्द्रको सम्पत्ति र विरासतलाई अधिकारका रुपमा लिने गल्ती गरे, उनीसँगै दुई सय चालीस वर्ष लामो राजतन्त्र ढल्यो। अब जति छिटो रविको राजनीतिक आरोहण भएको थियो, उति छिटो उनको राजनीतिक अवतरण हुने बलिया आधारहरु खडा भइसकेका छन्। जसरी पनि सत्तामा टिकिरहने मानसिकताले प्रचण्डको राजनीति पनि समाप्तिको दिशामा अघि बढ्ने सम्भावना छ।

ओलीको पनि यात्रा त त्यही दिशामा जाने सम्भावना छ, तर पछिल्लो निर्वाचनले सबैभन्दा ठूलो दल बनाएको र सांगठनिकरुपमा निकै बलियो अनि सत्ता रक्षाका अनेकौं सीप हासिल गरिसकेका कारण उनको अवतरण हुन भने समय लाग्नेछ। राजनीतिमा संस्कार र प्रवृत्तिले कसरी भूमिका खेलिरहेको हुन्छ, बुझ्नका लागि केही सामाजिक प्रवृत्तिहरु बुझ्नु आवश्यक छ।

शेरबहादुर तामाङले कानुनमन्त्री भएका बेला बंगलादेशमा एमबीबीएस पढ्ने नेपाली छात्राहरु जाँच पास गर्न शरीर सुम्पिन बाध्य छन् भनेर बोलिदिए, परिणाम उनले मन्त्री पदबाटै राजीनामा दिनुपर्ने अवस्था आयो। तामाङ टेलिभिजनको पर्दामै रोए, ‘स्वदेशमा मेडिकल कलेज पर्याप्त हुनुपर्‍यो, अन्यथा नेपाली महिलाले विदेशमा गएर शोषित हुनुपर्छ भनेको हुँ, म महिलालाई सम्मान गर्छु’ भने । तर कुर्सी बचेन । यसमा कारण थियो प्रवृत्ति र संस्कार ।

कुनै महिला जानी–बुझीकन कुनै एक पुरुषसँग यौन सम्पर्कमा छिन् भने पनि अर्को पुरुष उनीमाथि यौनशोषण भएको देख्छ। आफूले ‘माया गरेकी’ केटी पिकनिकमा अर्को केटासँग नाच्न गई भने तथाकथित प्रेमीसँगै नाचिरहेको केटामाथि जाइलाग्छ। ‘पुरुषत्व’ देखाउँछ। यस व्यवहारमा संस्कार र प्रवृत्तिले कठोर योगदान गरेको हुन्छ। यस्तै योगदानको प्रभावमा छन् प्रचण्ड र रविहरु यतिखेर।

यस्तै सन्दर्भमा पंक्तिकारले केटीहरुको बोली सुनेको छ, ‘केटाहरु आफैँ जान्ने भएर केटीहरुको ‘सुरक्षा’ गर्दै हिँड्छन्, आफू संरक्षक भएको, रक्षक बनेर कर्तव्य पूरा गरेको ठानेर गजक्क पर्छन्, पुरुषार्थको अनुभूति गर्छन्, क्या वाहियात् !’ यस्तै वाहियात काम रवि र प्रचण्डबाट भएको छ। यस्ता प्रवृत्तिको मुहान हाम्रा धर्म तथा नीतिशास्त्रहरु हुन्, त्यसले निर्देश गरेको आचरणका कारण मानव सभ्यता राजनीतिक र सामाजिक गतिविधिमा प्रकट हुने गर्दछ।

त्यस्तै, केटाहरुको बोली पनि पंक्तिकारले सुनेको छ, ‘क्यान्टिनमा खान जाँदा होस् वा हलमा फिल्म हेर्दा होस्, हामी पैसा तिर्न अघि नसर्ने हो भने, केटा भएर पनि केटीजस्तो भन्दै केटीहरु ओठ लेपार्ने गर्छन् !’ कति जटिल छ मानव प्रवृत्ति, संस्कार र व्यवहारको संरचना बुझ्न ! मानवका सोच र चिन्तनहरु कसरी निर्माण हुन्छन्, बुझ्न सजिलो छैन । तर यी सन्दर्भ जटिल भए पनि बुझ्नै नसकिने भने होइनन् ।

पुराना धर्मग्रन्थदेखि आधुनिक ऐन–कानुनका किताब र त्यस्ता किताब पढेर समाजलाई बाटो देखाउने अगुवा व्यक्ति, पण्डित र दार्शनिक, संगठन र संस्था, विद्यालय र महाविद्यालयका कारण रवि लामिछाने र पुष्पकमल दाहालका प्रवृत्तिहरुको जन्म हुन्छ । जस्तो, पूर्वीय दर्शनका धार्मिक ग्रन्थहरुमा महिलामाथि विभेद गरेका सन्दर्भ यत्रतत्र भेटिन्छन् । सोही कारणले आज पनि हाम्रा आमा, दिदी, बहिनीहरु पुरुषको सहायक भएर बाँचिरहेका छन् । आजको हाम्रो संस्कार र प्रवृत्ति वैदिक कालपछिको समय अर्थात् उपनिषद् काल हो । वेदले जातजातिको विभेद गर्दैन, महिलाप्रति पनि समान दृष्टिकोण राख्छ । पुरुष र महिलामा भेद गर्दैन । विभेदको शृङ्खला शुरु हुन्छ पुराण र उपनिषद् कालबाट ।

वेदलाई ईश्वरको सिर्जना मानिन्छ, वेदको लेखक भेटिन्न । वेदव्यासले वेदलाई चार भागमा विभाजन गरेका मात्र हुन्, उनी यसका लेखक होइनन् । तर उनी पाँचौं वेद मानिने महाभारतका लेखक हुन् । महाभारतलाई इतिहास मान्ने हो भने उनलाई इतिहासका संग्रहकर्ता भन्नुपर्छ, लेखक होइन । यद्यपि १८ पुराण र केही उपनिषद्हरु उनीबाटै लेखिएको बताइन्छ । वेदलाई नै आदिस्रोत मानेर पुराण र उपनिषद् लेखिए तर महिलालाई समान दृष्टिकोणले हेर्ने वेदको धर्मलाई पुरान र उपनिषद्ले क्रमशः बिर्सिदिए।

महिलालाई मातृत्वको भूमिकामा थोरै सम्मान दिए पनि सर्वत्र पुरुषको सम्पत्तिका रुपमा चित्रण गरे, उनीहरुलाई पुरुष आधीन बनाए। पुरुषको जायजेथा र उपभोग्य वस्तुका रुपमा सीमित गरे । सतीप्रथाजस्तो महिलालाई जिउँदै जलाउने हदसम्मको नृशंस परम्परा शुरु गरे। तर यो कलंक इस्वी संवत् शुरु भएको चौथो शताब्दीयता मात्र देखिन्छ र नेपालमा राणा प्रधानमन्त्री चन्द्र शमशेरको पालामा यसमा पूर्ण प्रतिबन्ध लागेको इतिहास छ।

नेपालमा महिला हिंसाविरुद्धको अभियान कति मन्दगतिमा चलेको थियो भन्ने बुझ्न छिमेकी भारतमा यो प्रथा प्रथम बेलायती गभर्नर लर्ड विलियम बेन्टिकले १८२९ को डिसेम्बर महिनामै प्रतिबन्ध लगाएको स्मरण गर्नु आवश्यक हुन्छ । नेपालमा यही घोषणा हुन १९२० को जुलाईसम्म कुर्नुप¥यो । भारतबाट नेपालमा सुधारको प्रभाव आउन सय वर्ष लाग्यो, घोर आश्चर्य । वेदमा मात्र होइन, अधिकांश पुराणहरुमा पनि महिलालाई सती बनाउने प्रसंग त के अन्य विभेदका कुरा पनि उठाइएको छैन । महिला र पुरुषमा समान भाव नै देखिन्छ ।

गरुडपुराण, निर्णयसिन्धु, मनुस्मृति, चाणक्य नीति आदिले भने महिलाविरुद्धको अभियान नै छेडेको देखिन्छ । भारतवर्षमा मुसलमानको आक्रमण भएपछि हिन्दु किशोरीमाथि उनीहरुबाट व्यापक यौनहिंसा हुन थालेकाले सात वर्षमै विवाह गरिदिनेजस्ता चलन चलाउन हिन्दु समाज बाध्य भएको तर्क गरिन्छ। तर विभिन्न कारण र तर्कहरु देखाइए पनि महिलालाई विभेद गर्नु स्वाभाविक हो भन्न सकिन्न । वेदले देखाएकै समानताको बाटोमा समाजलाई हिँडाउनै पर्छ । बीचको विकृति त्याग्नै पर्छ। मनु, चाणक्य आदि प्रभावशाली नीतिका लेखकहरुले यसबीचको अवधिमा प्रभाव जमाए र त्यसकै आधारमा हिन्दुका संस्कारहरु बने, कति संस्कारमा पुराना वेदकै ऋचा वाचन गरिए पनि वेदको सामाजिक समानतायुक्त मर्ममा निरन्तर प्रहार भइरह्यो । वेदका मन्त्रहरु देख्ने ऋषिहरुको सूचीमा ऋषिकाहरु पनि छन्।

ब्रह्मवादिनी घोषा, लोपमुद्रा, अपाला, विश्ववारा, सूर्या, जुहू आदि महिलाका नामहरु ऋचा द्रष्टाका रुपमा उल्लेख भएका छन्। यज्ञोपवित धारण गर्ने व्यक्तिले दैनिक उच्च सम्मानका साथ जप्ने मन्त्रको नाम नै गायत्री हो, महिलाको नाम । गायत्रीलाई आह्वान गरिने मन्त्र हो ः ओम् तेजोसि शुक्रमस्यमृतमसि धामनामसि पियन्देवानामना–धृष्टन्देवयजनमसि । अर्थ हो, हे सूर्य स्वरुपिणी गायत्री देवी, तिमी तेजोमयी छ्यौ, शुद्ध छ्यौ, अमृत अर्थात् नित्य ब्रह्मस्वरुपा छ्यौ । तिमी नै परमधाम हौ, तिमी कसैसँग पराजित हुन्नौ, तिमी देवताहरुको कल्याण र यज्ञको साधन स्वरुपिणी हौ । म तिम्रो आह्वान गर्दछु । शुक्ल यजुर्वेदको यस प्रसंगले त महिलामाथि सन्तोषजनक मात्र होइन, गर्व गर्नलायक सम्मान देखाउँछ । ‘आब्रह्मण ब्राह्मणो ब्रह्मवर्चसी….’ बोलको वैदिक राष्ट्रिय गीतमा स्त्रीलाई सबै प्रकारका गुणले परिपूर्ण र अपराजेया भनिएको छ । महिलामाथि कतै अपमान छैन । त्रेता र द्वापर युगका महान् नारीहरु अहिल्या, द्रौपदी, तारा, कुन्ती, मन्दोदरी आदिलाई एकभन्दा बढी पुरुषसँग यौनसम्बन्ध राखेकै कारण अपमान गरिएको छैन, पञ्चकन्या मानेर नियमित स्मरन गर्न र पाप कटाउन सुझाव दिइएको छ । यौनका सम्बन्धमा बलात्कार, दबाबपूर्ण सम्बन्ध र शोषण सबैका लागि हिंसा मानिएको छ । आफ्नी श्रीमतीले आफूलाई मन नपराएर अन्यत्र यौनसम्बन्ध बनाई भनेर आपत्ति जनाउने, काट्नका लागि नांगो खुकुरी बोकेर जार खोज्दै हिँड्ने लोभ, संकीर्णता र स्वार्थ त वैदिक कालभन्दा निकै पछि हामीले शुरु गरेका हौं, विडम्बना यसैलाई हामीले सभ्यताको पगरी पनि गुथाइदिएका हौं ।

समाज विकासमा पनि राजनीतिमा जस्तै बीचका दलालले प्रदूषण बढाएको, लोभ, लालच र स्वार्थ छिराएको, विश्वासको वातावरण कमजोर पारेको प्रस्ट देखिन्छ। राजनीतिक र सामाजिक अनुशासनमा हामी क्रमशः कमजोर हुँदै छौं । सिंहदरबारमा आगलागी भयो भनेर नैतिक जिम्मेवारी बोध गर्दै राजीनामा दिने बहुआलोचित व्यवस्था पञ्चायतकालका प्रधानमन्त्री कीर्तिनिधि विष्ट जत्तिको हैसियत बनाउन पनि संघीय लोकतान्त्रिक गणतन्त्रका रवि र प्रचण्डले सकेनन्।

जसरी पनि सत्तामा टाँसिइरहने प्रवृत्तिले पूर्वराजा ज्ञानेन्द्रको नियतिमा पुर्‍याउँछ भन्ने सत्य नबुझ्नु रवि र प्रचण्डको मात्र दुर्भाग्य होइन, मुलुककै दुर्भाग्य हो। अबचाहिँ नेपाल बन्छ भन्ने एकमुठी विश्वासका साथ देशभक्त नेपाली अन्तिम एकमुठी श्वास छोडेर जान चाहन्छ, तर टाढा क्षितिजमा पनि त्यो सम्भावना देखिन्न ।

प्रतिक्रिया दिनुहोस्