खुम्रे किरा मार्न बिजुलीको  पासो



धादिङ । 

खुम्रे किराले १५ वर्षदेखि सखाप पारिरहेको गजुरी गाउँपालिका वडा नम्बर ३ पुराकसिङका किसानले किरा मार्नका लागि बिजुली पासो पाएका छन् ।
लामो समयदेखि खुम्रेकराले सतायो । हरेक वर्ष मकै र कोदो सखाप नै पार्ने गरेको छ । थोरै जग्गा जमिन छ ।  आफ्नो उत्पादनले खान पुग्दैन । पाखो बारी यसैपनि किसानको दुःख, त्यहीमाथि  खुम्रेकिराका कारण बालीले उत्पादन नदिएर कोदो कमै मर्ने गरेपछि ५ वर्षदेखि भोकमरीको सामना गरिरहेको पुराकसिङबासी अहिले बिजुली पासो पाएपछि खुसी भएका छन् ।  पीडित गंगामायाँ तामाङले बताइन् ।३६ वर्षीया गंगामायाँ तामाङको ५ जनाको परिवार खुम्रे किराको प्रकोपका कारण भोकै पर्ने गरेको छ ।

  पुराकसिङकी गंगामायाँ मात्र नभएर यो गाउँको ३२ घर परिवारको पिरलोको रुपमा रहेको खुम्रे किरा नियन्त्रण गर्न नसक्दा गाउँ नै भोकमरीमा पर्ने गरेको किसानहरुको भनाइ छ ।

माटोमुनी २ मिटरसम्म तल बसेर बालीनालीको जराखाने किरा खुम्रे किरा भएकोले माटोको उपचार नै मुख्य उपचारको रुपमा मानिन्छ । खुम्रे किराको आयु ३ वर्षको हुनेभएकोले उपचारविधि भनेको माटो उपचार गर्नु रअर्को विजुलीबत्तीमा किरालाई आकर्षित गर्नु रहेको यस क्षेत्रमा खाद्य अधिकारका लागि कार्यरत राजेन्द्र बस्नेतले बताए। बिजुली पासो उपयुक्त मानेर गाउँका सबै बारीमा बिजुली पासो राखिएको छ ।

हरेक वर्ष मकैको र कोदोबाली लाग्ने ठाउँमा जराखाएर बोट मर्ने समस्या देखाउने र माटोमुनी धेरैसमय बस्ने प्रकृतिको खुम्रे किरा नियन्त्रण गर्नका लागि बिजुली बत्ती भएमा सकिने भएकोले पुराकसिङका किसानहरु बिजुली बत्ती गर्दै आएका थिए । विजुलीबत्ती गाउमा आएपछि पासो राख्न सकिएको किसानहरुको भनाई छ ।

खुम्रा लागेको बारीमा बिजुली बत्ती बालेपछि खुम्रे किराको माउलाई बत्तीमा आकर्षित गरेर पासोमा पार्ने प्रविधि (लाइट ट्रयाप) मार्फत किरा नियन्त्रण गर्न  ३२ घरको १ सय ६० ओटा पासो राखिएको सहयोगी फियान नेपालका राजेन्द्र बस्नेतको भनाइ छ ।

खुम्रे किराको प्रकोप नियन्त्रण गर्न जडान गरिएको विद्युतिय पासोको गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले उद्घाटन गर्दै खुम्रे किरा प्रकोप नियन्त्रण गर्न आवश्यक सहयोग गाँउपालिकाले गर्ने बताए । आफू निर्वाचित भएपछि फियान नेपाल मार्फत खुम्रे किराको प्रकोप कारण पुराक्सिङ मानिसहरु खाद्य संकटमा परेहको र उनीहरुको खाद्य अधिकार गुमेको जानकारी पाएपछि स्थलगतरुपमा अनुगमन अन्तरक्रिया गरेर बजेट व्यवस्थापन गरेको अध्यक्ष श्रेष्ठले बताए ।

खाद्य अधिकारको क्षेत्रमा कार्यरत संस्था फियान नेपालले यस अघि २०७८ सालदेखि समुदायका मानिसहरुलाई खाद्य अधिकारको बारेमा जानकारी गराएपछि संगठित भएका पुराक्सिङ खाद्य अधिकार प्रभावित समूहका सदस्यहरुलाई खाद्य अधिकार, जनवकालत, नेतृत्व तथा संस्थागत विकास सम्बन्धी तालिम मार्फत समूहका सदस्यहरुको क्षमता विकास सहयोग गरेको थियो । सवाल सम्वोधनका लागि समूहले पहिचान गरेको श्रोत तथा सरोकारवालाहरुमा डेलिकशन गर्न प्राविधिक सहयोग गरेको थियो । त्यही अनुसार आफुहरु खुम्रे किरा नियन्त्रर्ण गर्ने उपाय र सहयोगको खोजिमा वडा कार्यालय, गाउँपालिका, वाली संरक्षण प्रयोगशाला, प्लान्ट क्वारेन्टाइन तथा विषाधी व्यवस्थापन केन्द्रमा र विद्युत माग गर्न विद्युत वितरण केन्द्र धादिङमा डेलिकेशन भएको संयोजक हुण्डरी तामाङले बताए ।

३२ घर परिवार रहेको पुराक्सिङमा खुम्रे किरा नियन्त्रण गर्न १६० वटा विद्युतीय पासो जडान गरिएको बारीका पाटामा बत्ती बालिएको छ । आसपासका गाउँका मानिस अचम्ममा परेका छन् । अघिल्लो दिनसम्म घर भित्रका बत्ती झ्याल ढोकाबाट पिलपिल देखिन्थ्यो । अहिले गाँउभरी झिलिमिली छ । सदरमुकाम जस्तो छ भन्छन् आसपासका मानिसहरु । गाँउभरी झिलिमिली बत्ती बालेको रहेछ के भयो भनेर कार्यपालिका सदस्य तारा लामा , वडा अध्यक्ष ऋषिलाल श्रेष्ठलाई सोधे उहाँहरुले पनि गाउँमा  फोन गरेर थाहा पाउनु भएछ । खुम्रे किरा मार्न बारीमा बत्ती बालेको भनेर अनि मैले पनि जानकारी पाए वडा सदस्य राममाया विकले भनिन् ।

प्रतिक्रिया दिनुहोस्