उपाधि भिडन्तमा सिटीको प्रतिद्वन्दी युनाइटेड



एजेन्सी ।

एफए कपको उपाधिका लागि एकै शहरका डर्बी क्लब म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेड भिड्ने भएका छन् । वेम्बलीमा आइतबार राति सम्पन्न खेलमा कोभेन्ट्री सिटीलाई पेनाल्टी शूटआउटमा ४–२ गोलअन्तरले हराएर युनाइटेडले उपाधि भिडन्तमा सिटीसँग भेट पक्का गरेको हो । तीन गोलको अग्रता गुमाएको खेलमा दोस्रो डिभिजनको टोली कोभेन्ट्री सिटीलाई टाईब्रेकरमा हराउँदै म्यानचेस्टर युनाइटेड फाइनलमा पुगेको हो ।

निर्धारित समय र अतिरिक्त समय ३–३ गोलको बराबरीमा सकिएपछि खेल टाईब्रेकरमा पुगेको थियो । तीन गोलको अग्रता लिएर पछि तीन गोल नै बेहोरेको युनाइटेड अन्त्यमा जित निकाल्दै लगातार दोस्रो पटक एफए कपको फाइनल पुग्न सफल भयो ।

२३औं मिनेटमा स्कट मक्टोमीनेको गोलबाट युनाइटेडले खेलमा अग्रता लिएको थियो । पहिलो हाफको इन्ज्युरी समयमा ह्यारी मग्वायरले गोल गर्दै अग्रता दोब्बर बनाए । त्यसपछि ५८औं मिनेटमा ब्रुनो फर्नान्डेजले गोल गरेपछि युनाइटेडको अग्रता ३–० बनेको थियो ।

बलियो अवस्थामा रहेको खेलमा युनाइटेडले तीन गोल बेहोर्न पुग्यो । ७१औं मिनेटमा एलिस सिम्सले कोभेन्ट्रीका लागि पहिलो गोल गरेका थिए । त्यस्तै, ७९औं मिनेटमा क्यालम ओ हारेले दोस्रो गोल गरे । तेस्रो गोल भने इन्ज्युरी समयमा पेनाल्टी मार्फत भएको थियो । एरन वान बिस्साकाले ह्यान्डबल गरेपछि पाएको पेनाल्टीमा हाजी राइटले कुनै गल्ती गरेनन् ।

टाईब्रेकरमा भने युनाइटेड सुरुवातमा नै पछि परेको थियो । कासेमिरोको पेनाल्टी सुरुवातमै ब्राड्ली कोलिन्सले बचाएका थिए । तर, त्यसपछि कोभेन्ट्रीका दुई खेलाडी पेनाल्टीमा गोल गर्न चुके । क्यालमको पेनाल्टी युनाइटेड गोलरक्षक आन्द्रे ओनानाले बचाए भने बेन सिएफले गोलपोस्ट भन्दा माथि प्रहार गरे ।

गत वर्षको फाइनलमा पनि युनाइटेड र सिटी भिडेका थिए । त्यसमा सिटी विजयी भएको थियो । सिटीले भने शनिबार भएको पहिलो सेमिफाइनलमा चेल्सीलाई १–० ले हराउंदै फाइनलमा स्थान पक्का गरिसकेको थियो ।

प्रतिक्रिया दिनुहोस्