गण्डकीको पासा फेरियो : खगराज मुख्यमन्त्री, निवर्तमान मुख्यमन्त्री सर्वोच्च जाने



पोखरा ।

गण्डकी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। प्रदेश प्रमुख डिल्लीराज भट्टले उहाँलाई संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीको शपथ गराउनभएको छ।

अधिकारी एमालेका २२, माओवादीको सभामुखसहित ८ सांसद र स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेको समर्थनमा मुख्यमन्त्रीमा आइतबार नियुक्त हुनुभएको हो । अधिकारीले मुख्यमन्त्रीको शपथ लिएलगत्तै सत्ता साझेदार माओवादीका संसदीय दलका नेता हरिबहादुर चुमान र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई विनाविभागीय मन्त्रीका रुपमा नियुक्त गरेर शपथ दिलाउनुभएको हो ।

अधिकारी मुख्यमन्त्री भएसँगै निवर्तमान मुख्यमन्त्री सुरेन्द्र पाण्डे भने सर्वोच्च जानुहुने भएको छ। यसअघि ठूलो दलको हैसियतले मुख्यमन्त्री बन्ने दाउमा मुख्यमन्त्रीबाट राजीनामा दिनुभएका पाण्डेले दीपक मनाङेलाई समाजवादीबाट अलग गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनाउँदै आफ्नो पक्षमा पारे पनि हाल मनाङेले अधिकारीलाई साथ दिनुभएको छ।

अधिकारीको नियुिक्त असंवैधानिक रहेको भन्दै नेपाली कांग्रेसले कानुनी उपचार खोज्ने भएको छ। गण्डकी प्रदेश सभामा कांग्रेस संसदीय दलको प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले सभामुख र उपसभामुखले दल त्याग गरिनसकेको अवस्थामा उहाँहरुलाई पनि राजनीतिक दलको सदस्य भनेर गणना गर्न नपाइने बताउनुभयो।

उहाँले भन्नुभयो– ‘उहाँहरुले राजीनामा दिएको भए संख्या पुग्थ्यो होला। तर संवैधानिक प्रक्रिया बाहिर गएर प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नुभएको छ। हामी कानुनी उपचारको खोजीमा जान्छौं ।’

उहाँले प्रदेश प्रमुख कुनै दलको कार्यकर्ता नभई संविधानको पालक हुनुपर्नेमा त्यस्तो नभएकाले अदालत जाने कुरा स्वाभाविक रहेको बताउनुभयो।

यसअघि कांग्रेस संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अधिकारीलाई मुख्यमन्त्रीमा नियुक्त नगर्न भन्दै प्रदेश प्रमुखसमक्ष आग्रह गर्नुभएको थियो। तर, प्रदेश प्रमुख भट्टले अधिकारीलाई नियुक्ति गरेपछि असंवैधानिक कदम भन्दै पाण्डेले कानुन व्यवसायीसँग छलफल गरी सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने तयारी गर्नुभएको छ।

यद्यपि खगराज अधिकारी १५ दिनका लागि भने पनि मुख्यमन्त्री हुने पक्का नै छ। त्यसपश्चात पाण्डेले सर्वोच्चमा उजुरी दिएपश्चात सर्वोच्चको आदेश कुर्नुपर्नेछ।

६० सदस्यीय प्रदेशसभामा सरकार बनाउन ३१ सांसदको आवश्यकता पर्छ। प्रदेशसभामा सबैभन्दा ठूलो दल कांग्रेसका २७ सांसद छन्।

यसै गरी एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८ र राप्रपाका २ सांसद छन्। त्यसै गरी स्वतन्त्रबाट जितेर समाजवादी प्रवेश गरेर फेरि स्वतन्त्रमै फर्कनुभएका राजीव गुरुङ (दीपक मनाङे) पनि सांसद हुनुहुन्छ।

प्रतिक्रिया दिनुहोस्