लुम्बिनी विकास कोषका योजना प्रमुख भट्टराईसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा



काठमाडौँ ।

लुम्बिनी विकास कोषका योजना प्रमुखसहित दुई जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । कोषका योजना प्रमुख इन्जिनियर सरोज भट्टराई र उनकी आमा जनक नन्दनी भट्टराईविरुद्ध मुद्दा दायर गरेको हो ।

भट्टराईले आमा जनक नन्दनी भट्टराईको नाममा भक्तपुरको गुण्डुमा २ रोपनी ९ आना एक दाम र दुई आना एक पैसा गरी दुई कित्ता जग्गा खरिद गर्दा बिक्रेताको खातामा जम्मा गरेको रकमको स्रोत खोजी गरिएको आयोगले जनाएको छ ।

जसअनुसार भट्टराईले उक्त जग्गा खरिद गर्न लुम्बिनी विकास कोषमा ठेक्काको काम गर्ने निर्माण सेवाका प्रोपाइटरसँग घुस माग गरी प्रोपाइटरकै खाताबाट सोझै जग्गा बिक्रेताको खातामा ४० लाख र जग्गा खोजिदिने व्यक्तिको खातामा ४० लाख गरी जम्मा ८० लाख जम्मा गराएको छानबिनबाट देखिएको आयोगले जनाएको छ । सोही आधारमा भट्टराईलाई ८० लाख रुपैयाँ विगो कायम गरी कैद र विगो बमोजिम जरिवाना मागदाबीका साथ आयोगले मुद्दा दायर गरेको हो ।

यस्तै, भट्टराईकी आमा जनक नन्दनीलाई पनि भ्रष्टाचारको मतियार भएको आरोपमा प्रतिवादी बनाउँदै ८० लाख नै विगो कायम गरी सजाय तथा विगो बमोजिम जरिवाना मागदाबी गरिएको आयोगले जानेको छ।

 

प्रतिक्रिया दिनुहोस्