धुलिखेलका विभिन्न टोलमा नवदुर्गा 



धुलिखेल।

जीवित देवताको रूपमा पुजिने नवदुर्गा देवगण ङालाकेगु जात्रा (माछा मार्ने जात्रा) धुलिखेलमा सुरु भएको छ । सोमबारबाट सुरु भएको जात्रा मंगलबार राति सकिने छ । धुलिखेलमा जात्रा सकिए लगत्तै नवदुर्गा  श्रीखण्डपुर र चौकोट जानेछन् । नगरपालिकाले नवदुर्गा जात्राको अवसरमा मंगलबार स्थानीय पर्वका रुपमा बिदा गरेको छ ।

तत्कालीन श्री ५ को सरकारद्वारा धुलिखेल गाविसलाई धुलिखेल नगरपालिका घोषणा गरेको वर्षमा धुलिखेल नगरपालिकाको आयोजनामा नवदुर्गा देवगणलाई द्यो ब्वयकेगु (ठूलो भोजन ग्रहण) गराइएको थियो । धुलिखेलवासीहरू नवदुर्गा देवगणलाई आफ्नो कुल देवताको रूपमा पुज्दै आएका छन् ।

धुलिखेलको मुख्य पर्व र जात्राको रूपमा नवदुर्गाको ङालाकेगु जात्रालाई लिइन्छ । धुलिखेलवासीहरूबाट नयाँ घर वा निवास निर्माण गर्दा र नयाँ व्यापार व्यवसाय खोल्दा नवदुर्गा देवगणलाई स्वागत गरी पूजापाठ गर्नाले घर शान्ति, सुख र व्यापारमा सफलता मिल्ने जनविश्वास रहेको छ । युवा–विद्यार्थीहरू स्वास्थ्य लाभ र ज्ञान लाभको लागि नवदुर्गा देवगणहरूको आशीर्वाद लिन र सेवा गर्न ङालाकेगु जात्रामा उपस्थित हुने गर्दछन् । धुलिखेलवासीहरू नवदुर्गा देवगणहरूबाट मुख्य प्रसाद गोका पञ्चरङ्गी धागो, मोहनी कालो टीका, पासुका तीनरङ्गी धागो ग्रहण गरी आफ्नो क्षमता अनुसार दक्षिणा चढाएर देवगणहरूको सेवा गर्ने परम्परा रहेको छ ।

धुलिखेल नगरपालिकामा ङालाकेगु जात्रा हुँदा भक्तजनहरूको भौतिक र आर्थिक सहयोगका कारण देवगणहरूको ऋण चुक्ता हुने गरेको देवगणहरूको भनाइ छ । धुलिखेलमा हुने ङालाकेगु जात्रामा नवदुर्गा देवगणहरूलाई नगरपालिकाबाट हरेक वर्ष पञ्चबली दिने, पोसाक चढाउने, भाले कुखुरा चढाउने, अण्डा खुवाउने, किस्ली चढाउने र मुःबाहाँ सुँगुर बलि दिने गरिएको छ । ऐतिहासिक नवदुर्गा देवगणको ङालाकेगु जात्रालाई दीर्घकालीनरूपमा सञ्चालन गर्न, जात्रालाई सभ्य र सुरक्षित तरिकाले सञ्चालन गर्न देवगणहरूको समस्या समाधान गर्न, कला र संस्कृतिलाई संरक्षण गर्न स्थानीय सरकारले समन्वय गरिरहेको नगर प्रमुख अशोक ब्याञ्जुले बताए । नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन समितिले तयार गरेको तालिका अनुसार जात्रा ब्यवस्थापन भइरहेको छ ।
 
के छ इतिहास ? 

सांस्कृतिक नगर भक्तपुरको ऐतिहासिक एव प्रसिद्ध जात्राको रूपमा नवदुर्गालाई लिइन्छ । मानव समाजमा आधारित नवदुर्गा जात्रा नेपालकै लामो जात्राको रूपमा रहेको छ । हरेक वर्ष यो जात्रा भौतिक तथा आर्थिक चुनौतीका साथ सञ्चालन भइरहेको छ । हरेक वर्ष आठ महिना मकुन्डोसहित ङालाकेगु जात्रा र चार महिना मकुन्डोबिनाको पूजापाठ तथा जात्रा तिथि मिति अनुसार हुने गर्दछ । काठमाडौँको पशुपति, जय वागेश्वरी, मध्यपुर थिमि, टोखा, गोकर्ण, साँखु, साँगा र भक्तपुर नगर भित्र दर्जनौ स्थानमा ङालाकेगु जात्रा हुने गरेको छ भने काभ्रेको नाला, बनेपा, धुलिखेल, श्रीखण्डपुर, चौकोट, पनौती लगायतका स्थानमा नवदुर्गा देवगणको जात्रा परापूर्वकालदेखि आजसम्म कायम रहेको छ । परम्पराअनुसार नवदुर्गा देवगणको नाच नाङ्गो खुट्टामा प्रदर्शन तथा ङालाकेगु जात्रा भइरहेको छ । देवगणहरू भक्तपुर नगर बाहिर ङालाकेगु जात्रा गर्नको लागि नवदुर्गाको मकुन्डो, पोसाक, गरगहना तथा अन्य सामग्रीहरू सबै खर्पनमा राखेर बोकेरै जात्रा हुने स्थानसम्म जाने परम्परा छ । नवदुर्गा देवगण जात्रा लिच्छवीकालदेखि विकास भएको इतिहासविद्हरूको भनाइ रहेको पाइन्छ ।

नवदुर्गाको ङालाकेगु जात्रामा मानव समाजमा हुने पारिवारिक महत्त्व, नारी क्रोध, दाम्पत्य जीवन, बाल्यपनको चकचके स्वभाव, चेली दुखेसो, सरसफाइ शिक्षा, सामूहिक भावना तथा लक्ष्य, शाकाहारी-मांसाहारी, नारी सुन्दरता, मायाप्रेम, सम्मान, असत्यमाथि सत्यको विजय, पञ्च रङ्गको महत्त्व आदि विषयवस्तु पाइन्छ । बाजाको ताल र गीतको बोलमा यस जात्रामा नाच तथा नाटकीय शैलीमा ङालाकेगु जात्रा हुने गर्दछ ।

 

वर्षैभरि जात्रामा खटिनु पर्दा देवगणहरूले अन्य ज्याला मजदुरी तथा व्यापार व्यवसाय गर्न नसकेर आर्थिक अवस्था कमजोर हुने समस्या छ । साना बालकहरू विद्यालय जान नपाउँदा परीक्षामा उत्तीर्ण हुन नसक्ने र शिक्षाबाट टाढा हुने उनीहरूको अर्को समस्या रहेको पाइन्छ । देवगणहरूको भौतिक, आर्थिक र शैक्षिक समस्याहरू समाधान गरी नवदुर्गा देवगणको ङालाकेगु जात्रा निरन्तर र दीर्घकालीन रूपमा सञ्चालन गर्न नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन संस्था स्थापना गरिएको छ । सांस्कृतिक महत्वको संरक्षण तथा प्रवद्र्धन गर्ने, देवगणहरूको समस्या समाधान गर्ने, स्वास्थ्य उपचारको व्यवस्था गर्ने, बालक देवगणको शिक्षाको व्यवस्था गर्ने, जात्रालाई सभ्य र सुरक्षित तरिकाबाट सम्पन्न गर्न सहयोग गर्ने, कुनै विवाद भए त्यसको हल निकाल्ने, जात्राबारे प्रचारप्रसार गर्ने, आर्थिक र भौतिक सहयोग जुटाउने र परम्परादेखिको चलनलाई निरन्तरता दिने रहेको छ । नवदुर्गा देवगण जात्रा सञ्चालन हुन नसकेको क्षेत्र टोखा र गोकर्णमा पनि ङालाकेगु जात्रा आयोजना गर्न थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्