यस्ता छन्  शिक्षा मन्त्री राईका प्रगति र उपलब्धि



काठमाडौँ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले  आफ्नो प्रगति विवरण सार्वजनिक गरेका छन् । उनले २०७९ साल चैत १७ गते पद बहाली गरेपश्चात् शिक्षा विज्ञान तथा प्रविधि क्षेत्रमा आफूले गरेका  मुख्य मुख्य कार्यहरु भन्दै  विभिन्न शीर्षकमा ४३ बुँदा प्रगति र  उपलब्धि सार्वजनिक गरेका हुन् ।

 शिक्षा मन्त्री राईका प्रगति र उपलब्धि :

 

  1. मन्त्रालय मातहत र सम्बद्ध निकायहरूको स्थलगत भ्रमण गरी कार्यसम्पादनको अवस्था तथा समस्याहरूका बारेमा जानकारी हासिल गरिएको।
  2. नेपाल नगरपालिका सङ्‌घ, गाउँपालिका राष्ट्रिय महासङ्‌घ र जिल्ला समन्वय समिति महासङ्‌घ नेपालका प्रमुख एवम् पदाधिकारीहरूसँग २०७९/१२/३० गते बैठक बसी विद्यार्थी भर्ना अभियान सञ्चालन गर्ने, पाठ्यपुस्तक वितरणका सम्बन्धमा स्थानीय तहबाट अनुगमन गर्ने र निजी विद्यालयहरूले लिने शुल्क स्थानीय तहले निर्धारण गर्ने निर्णय भएको।
  3. सङ्‌घ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन २०७७ बमोजिमको विषयगत समितिको बैठक  मिति २०८०/०१/२८ गते बसी चालु आ.. को कार्यक्रम समीक्षा गर्दै विद्यालय शिक्षा एवम् प्राविधिक तथा व्यावसायिक शिक्षाको गुणस्तर सुधारका लागि सङ्‌घ, प्रदेश र स्थानीय तहबिच प्रभावकारी समन्वय, सहकार्य र सहजीकरणमार्फत कार्यक्रम कार्यान्वयन गर्ने निर्णय भएको।
  4. २०८० जेठ १ गतेबाट वैदेशिक अध्ययन अनुमतिपत्र पूर्ण रूपमा अनलाइनमार्फत वितरण गर्ने कार्य प्रारम्भ भएको।
  5. तिलगङ्‌गा आँखा स्वास्थ्य शिक्षा मानित विश्वविद्यालयसम्बन्धी विधेयक तर्जुमा गर्न मन्त्रिपरिषद्‌बाट २०८० जेठ २ मा सैद्धान्तिक सहमति प्राप्त भएको।
  6. मन्त्रिपरिषद्को मिति २०८० जेठ २ को बैठकबाट मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको संरक्षक समितिको सदस्यहरूको मनोनयन गरिएको।
  7. मन्त्रिपरिषद्को मिति २०८० जेठ ९ को बैठकबाट राष्ट्रिय शिक्षा दिवस असोज २ गते मनाउने गरी  निर्णय भएको।
  8. प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्‌को पाठ्यक्रम विकास तथा समकक्षता निर्धारण विनियमावली २०८० मन्त्रिस्तरबाट २०८०/०२/१८ मा स्वीकृत भएको।
  9. मन्त्रिपरिषद्‌को मिति २०८० असार २६ को बैठकबाट नेपाल खुला विश्वविद्यालयको केन्द्रीय कार्यालय भक्तपुर जिल्लाको सानोठिमीमा तोक्ने निर्णय भएको।
  10. उच्च शिक्षासम्बन्धी विधेयक अर्थ मन्त्रालयको राय सहमतिपश्चात कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सहमतिका लागि मिति २०८०/०३/२७ गते पठाइएको।
  11. प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्‌बाट २०८० असार २८ गते कैलाली र सिराहामा साझेदारी शिक्षालय सञ्चालनका लागि स्वीकृति प्रदान गरिएको।
  12. मन्त्रिपरिषद्‌को मिति २०८० साउन १६ को बैठकबाट नेपाल विश्वविद्यालय पूर्वाधार विकास तयारी समिति (गठन) (पहिलो संशोधन) आदेश २०८० जारी भएको।
  13. विज्ञान, प्रविधि तथा नवप्रवर्तन विधेयकको तर्जुमा सहमति मन्त्रिपरिषद्को मिति २०८०/०४/३० को निर्णयानुसार प्राप्त भएको।
  14. राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन पुरस्कार छनौट कार्यविधि मिति २०८०/०५/०४ को माननीय मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत प्राप्त भएको । 
  15. नेपाल सरकार र जनवादी गणतन्त्र चीन सरकारबीच विज्ञान, प्रविधि तथा नवप्रवर्तनका क्षेत्रमा सहायता तथा सहकार्य गर्ने सम्बन्धमा तयार भएको सम्झौताको मस्यौदामा मन्त्रिपरिषद्को मिति २०८०/०५/२९ को बैठकबाट सहमति प्राप्त भएको र मिति २०८०/०६/०८ मा सो सम्झौतामा हस्ताक्षर भएको। 
  16. विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक सङ्‌घीय संसद प्रतिनिधि सभाको मिति २०८० असोज १४ गतेको बैठकमा पेश भएको।
  17. विपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्‌ग्रहालय विकास समितिको कार्यकारी निर्देशक पदमा २०८० असोज १५ गते डा. सनत कुमार शर्मालाई नियुक्ति गरिको।
  18. सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक मिति २०८० असोज १९ को राष्ट्रिय सभाको बैठकमा पेश भएको।
  19. फ्रान्सको पेरिसमा आयोजित युनेस्कोको महासभामा माननीय मन्त्रीज्यूले २०८० कात्तिक २१ देखि कात्तिक २७ सम्म भाग लिनुभई कात्तिक २३ गते आयोजना भएको मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्नुभएको। 
  20. विद्यालय तहको पूर्वप्राथमिक तहमा प्रयोग हुने पाठ्यसामग्रीको गुणस्तर कायम गरी एकरूपता कायम गर्न, विद्यालय तहमा अन्य पाठ्यपुस्तक सरह पूर्वप्राथमिक तहमा प्रयोग हुने पाठ्यसामग्री पनि मूल्याङ्‌कन गरी स्वीकृतिसम्बन्धी कार्य गर्न पाठ्यक्रम विकास केन्द्रलाई जिम्मेवारी प्रदान गरिएको।
  21. अनौपचारिक तथा खुला शिक्षातर्फ तह एक र तह दुईको संश्लेषित पाठ्यक्रम स्वीकृत गरिएको।
  22. अनौपचारिक शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप (तह १) स्वीकृत गरिएको।
  23. राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ अद्यावधिक गर्न सैद्धान्तिक सहमति प्रदान गरिएको।
  24. विद्यालय शिक्षा क्षेत्र योजना कार्यान्वयनका लागि ८ ओटा विकास साझेदारहरू (एसियाली विकास बैङ्‌क, नर्वे, फिनल्याण्ड, युनिसेफ, विश्व बैङ्‌क, युएसएआईडी, जिपीई र ईयु)सँग Joint Financing Arrangement सम्पन्न भएको।
  25. विद्यालय शिक्षा क्षेत्र योजना कार्यान्वयनका लागि विकास साझेदारहरू : विश्व बैङ्‌क, एसियाली विकास बैङ्‌क, फिनल्याण्ड, नर्वे र जिपीईसँग द्विपक्षीय सम्झौता भएको।
  26. राष्ट्रिय जनशक्ति विकास २०८० को मस्यौदा तयार गरी छलफलमा ल्याइएको।
  27. एसियाली विकास बैङ्‌कसँग सहकार्य गरी राष्ट्रिय र केसर पुस्तकालयमा डिजिटाइजेसन अगाडि बढाइएको।
  28. विभिन्न मागहरू प्रस्तुत गरी आन्दोलनरत शिक्षक तथा कर्मचारीहरूसँग विद्यालय शिक्षासम्बन्धी विविध विषयमा ६ बुँदै सहमति गरिएको।
  29. नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को उपकुलपतिमा प्रधानमन्त्रीज्यूबाट प्राध्यापक डा. दिलीप सुब्बाको नियुक्ति गरिएको।
  30. चीनको कुनमिङ्‌मा सञ्चालन भएको 7th China-South Asia Expo 27th China (Kunming) Import and Export Fair विषयक कार्यक्रममा माननीय मन्त्रीज्यूले भाग लिनु भई Forum on China-South Asia Technology Transfer And Collaborative Innovation-STI मा मन्त्रीज्यूबाट मुख्य वक्ताका रूपमा सम्बोधन भएको।
  31.  उच्च शिक्षाको राष्ट्रिय शैक्षिक क्यालेन्डर निर्माणका सम्बन्धमा विश्वविद्यालय अनुदान आयोगद्वारा उक्त आयोगका अध्यक्ष प्रा. डा. देवराज अधिकारीको संयोजकत्वमा सम्बद्ध संस्थाहरूको प्रतिनिधित्व रहने गरी उच्चस्तरीय कार्यटोली गठन भई एकीकृत क्यालेण्डर निर्माण गरी कार्यान्वयनमा ल्याइएको।
  32. कक्षा ११ र १२ मा अध्यपापनरत शिक्षकहरूका लागि अस्थायी अध्यापन अनुमति पत्रको म्याद वि.सं. २०८३ सम्म थप गर्नका लागि बाधा अड्काउ फुकाउ आदेश जारी गर्न प्रस्ताव स्वीकृत गरिएको।
  33. दुई विषयभन्दा बढी विषयमा अनुत्तीर्ण भएका कक्षा ११ र १२ का विद्यार्थीहरूले सम्बन्धित विषयको मात्र परीक्षा दिन पाउने निर्णय भएको।
  34. जुन २१ का दिन अन्तर्राष्ट्रिय योग दिवस, सेप्टेम्बर ८ का दिन अन्तर्राष्ट्रिय साक्षरता दिवस, असोज १ गते राष्ट्रिय विज्ञान दिवस र असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाइएको।
  35. सोह्रौँ योजनाको अवधारणापत्रको मस्यौदा तयार पारिएको।
  36. जाजरकोट भूकम्पबाट प्रभावित विद्यालयहरूमा अस्थायी सिकाइ केन्द्र स्थापना गरी पठनपाठन सुचारु गर्न भूकम्पबाट प्रभावित २०००० विद्यार्थीलाई पाठ्यपुस्तक वितरणका लागि सक्रिय नेतृत्त्व प्रदान।
  37. बझाङ र जाजरकोट भूकम्पबाट क्षतिग्रस्त विद्यालयका पुननिर्माणका लागि केन्द्रिय आयोजना कार्यान्वयन इकाई (शिक्षाको) कार्यक्षेत्र विस्तार गरिएको।
  38. रासायनिक पदार्थको सुरक्षित प्रयोग, व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमा रायसुझाव सङ्‌कलनका लागि अग्रसक्रिय प्रयत्नमार्फत अन्तिमीकरण गरिएको।
  39. बर्दिबास मेडिकल कलेजलाई बहुबर्षीय योजनाका रूपमा स्वीकृत गर्नका लागि राष्ट्रिय योजना आयोगमा पत्राचारका लागि सक्रिय नेतृत्त्व प्रदान गरेको।
  40. त्रिभुवन विश्वविद्यालयको उपकुलपति सिफारिसका लागि गठित समितिको अध्यक्षका हैसियतले प्रधानमन्त्रीसमक्ष उपकुलपतिको नाम सिफारिस गरेको।
  41. पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति छनोट प्रयोजनका लागि खुला प्रतिस्पर्धा अपनाउनका लागि अग्रसक्रिय भूमिका खेलेको र सोही बमोजिम प्रक्रिय सुरु गरेको।
  42. विभिन्न विश्वविद्यालयका सहकुलपतिका हैसियतले विश्वविद्यालयका कार्यक्रम सञ्चालन तथा व्यवस्थापनका सम्बन्धमा कुनै हस्तक्षेप नगरी स्वायत्ततापूर्वक काम गर्ने वातावरण निर्माणलाई प्रवर्धन गरेको।
  43. प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को सदस्यसचिव नियुक्तिका लागि खुला प्रतिस्पर्धामार्फत मन्त्रिपरिषद्‌मा सिफारिस गरेको।

प्रतिक्रिया दिनुहोस्