त्रिवि उपकुलपति छनोट प्रक्रिया: एक साताभित्र नाम सिफारिस गर्ने तयारी



काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदका लागि छनोटमा परेका १४ जनाको सोचपत्र र व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण सकिएको छ।

सिफारिस समितिका सदस्य एवं शिक्षा सचिव सुरेश अधिकारीले बुधबारबाट प्रस्तुतीकरण सकिएको जानकारी दिँदै नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘हिजो बुधबार ३ बजेदेखि ५ जनाको प्रस्तुतीकरण सक्यौं, अब केही दिनपछि अन्तर्वार्ताको प्रक्रिया शुरू गर्नेछौं ।’ मन्त्रालयले एक साताभित्र नाम सिफारिस गर्ने तयारी गरेको बताइएको छ ।

सिफारिस समितिका संयोजक शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई राजधानीमा नभएको कारण अन्तर्वार्ताको मिति तय हुन नसकेको हो।

सम्भवतः आउँदो साता अन्तर्वार्ता लिने कार्यक्रम हुनेछ। सचिव अधिकारीका अनुसार सिफारिस समितिले अन्तर्वार्ताबाट ३ जनाको नाम सिफारिस गरी त्रिविका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष पेस गर्नेछ ।

उपकुलपति पदका लागि ४३ जना आवेदकमध्ये छनोटमा परेका १४ जनाको प्रस्तुतीकरण पहिलो दिन ४, दोस्रो र तेस्रो दिन ५–५ जनाको गरी बुधबार सकिएको हो।

पहिलो दिन माघ २९ मा कुशुम शाक्य, केशरजंग बराल, गोविन्द सुवेदी र चित्रबहादुर बुढाथोकीले प्रस्तुतीकरण दिनुभएको थियो।

दोस्रो दिन फागुन १ गते ज्ञानेन्द्रप्रसाद पौडेल, टंकनाथ धमला, तीर्थराज खनियाँ, नारायणप्रसाद वेलवासे र प्रकाश घिमिरेले प्रस्तुतीकरण दिनुभएको थियो भने हिजो अन्तिम दिन भोजराज अर्याल, महेन्द्रप्रसाद शर्मा, रामचन्द्र बस्नेत, शिवलाल भुषाल र सूर्यबहादुर थापाले प्रस्तुतीकरण दिनुभएको थियो ।

सोचपत्र तथा व्यावसायिक कार्ययोजना प्रस्तुतीकरणपछि मूल्यांकनको अन्तिम प्रक्रिया अन्तर्वार्ता हुनेछ। मन्त्री राई आज बिहीबार मन्त्रालय आएपछि अन्तर्वार्ताको मिति तय हुने सम्भावना छ।

समितिले मन्त्रीले मिति तय गर्न निर्देशन दिएपछि अन्तर्वार्ता हुनेछ। कुलपति एवं प्रधानमन्त्री प्रचण्डले पहिलो पटक त्रिविसहित उपकुलपति रिक्त भएका सबै विश्वविद्यालयको खुला प्रतिस्पर्धाबाट उपकुलपति छनोट गर्ने निर्देशन दिएपछि त्रिविमा छनोट प्रक्रिया शुरू भएको हो।

उपकुलपति धर्मकान्त बाँस्कोटाको चारवर्षे पदावधि कात्तिक १६ गतेदेखि सकिएपछि त्रिविमा सो पद रिक्त छ । त्रिविमा दैनिक कामकाज गर्नेगरी शिववाल भुषाललाई उपकुलपतिको जिम्मेवारी दिइएको थियो। भुषाल कार्तिक १९ देखि उपकुलपतिको जिम्मेवारीमा रहनुभएको छ।

उपकुलपति छनोट कार्यविधि–२०८० मा उल्लेख भएअनुसार बढीमा ३ हजार शब्दको सोचपत्र र ५ हजार शब्दको चार वर्षे व्यावसायिक कार्ययोजना पेस गरिएको छ। कार्यविधिअनुसार आठवटा मापदण्डमा उपकुलपति हुन एक सय अंकको मूल्याङ्कन हुनेछ ।

कार्यविधिमा उच्चशिक्षाको क्षेत्रमा प्राध्यापन गरेबापत प्राध्यापक पदमा काम गरेको भए प्रति वर्ष दुई अंकका दरले अधिकतम १० अंक पाउने छन्।

प्राध्यापक हुनेले १०, विद्यावारिधिको उपाधि प्राप्त व्यक्तिले ५, स्वदेशी वा विदेशी विश्वविद्यालय वा प्रतिष्ठानको पदाधिकारीको अनुभव हासिल गरेकाले ४, प्राज्ञिक एवं अनुसन्धानमूलक एउटा पुस्तक लेखी प्रकाशन गरेबापत ५, प्राज्ञिक अनुसन्धानमूलक परियोजना सम्पन्न गरेबापत ६ अंक दिने प्रावधान बनाइएको छ।

विश्वविद्यालयसम्बन्धी सोचपत्र (भिजन पेपर) र चारवर्षे कार्ययोजना (प्रोफसनल वर्क) वापत ३५, प्रस्तुतीकरणको २० र अन्तरर्वार्ताबाट १५ अंक दिने व्यवस्था कार्यविधिमा उल्लेख छ।

उपकुलपतिको उम्मेदवारले राजनीतिक दलको सदस्य नरहेको स्वघोषणापत्र सिफारिस समितिलाई पेस गरेको छ।

प्रतिक्रिया दिनुहोस्