भारतको मजदुरीसँगै गाँस र बास रित्तियो

पीडितको चिन्ता- राहातले हातमुख त जोर्ला, काख कसरी भर्ने 



मुगु। 

भारतमा मजदुरी गरेर जोरजाम पारेको रकमले निकै कष्टका साथ काठको घर ठड्याएका थिए, खत्याड गाउँपालिका–२ गाडेखोलाका ४० वर्षीय लालु सञ्ज्यालले । जहाँ दुई छोराछोरी र श्रीमती बस्थे । उनी प्रायः भारततिरै हुन्छन् ।

आइतबार राति भान्सा कोठाबाट सल्किएको आगोले न उनका छोराछोरी बाँचे न घर नै । मध्यरातमा भएको आगलागीमा परी सुतिरहेकै अवस्थामा उनका १४ वर्षीय छोरा विशाल र १२ वर्षकी छोरी झरनाको जलेर मृत्यु भएको हो । विशाल जनजागरण मावि, सेरीमा ७ कक्षामा पढ्दै थिए भने झरना ४ कक्षामा ।
‘छोराछोरी पढ्दै थिए । खेतीपाती र मजदुरी गरेर लालुले जेनतेन घर चलाइरहेकै थिए,’ वडाध्यक्ष हेमराज मल्लले भने, ‘न सन्तान रहे, न दुःख ले गरेर बनाएको घर नै ।’ भान्सा कोठाबाट सल्केको आगोले गोठ हुँदै तीन घर जलाउँदा ५९ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी प्रमुख डीएसपी वीरेन्द्र थापाले बताए ।

घटनायता उनकी श्रीमती सरस्वती अचेत छिन् । घटना थाहा पाएपछि भारतबाट हान्निएर मंगलबार साँझ घर आइपुगेका लालु पनि बेहोसी हालतमा छन् । आगलागीले क्षणभरमै अन्नअनाज, ओढ्ने–ओछ्याउने सबै जलायो । आइतबार राति खाना खुवाएर सुताएका छोराछोरी जलेर चिन्नै नसक्ने अवस्थामा देखेयता सरस्वती बेहोस छिन् । आगलागीमा परी लालुसँगै उनका दाजुभाइ नरदीप र दीपराजको पनि घर खरानी भएको छ । पीडित परिवार यतिबेला आधा घण्टा टाढाको जाम गाउँमा आफन्त कहाँ आश्रय लिइरहेको छ । उनीहरूलाई तत्कालका लागि गाउँपालिकाबाट लत्ताकपडा, दालचामल र वडा कार्यालयबाट पनि राहत दिने निर्णय भएको वडाध्यक्ष मल्लले बताए ।

राति १ बजेतिर लागेको आगो स्थानीयले निभाउने प्रयास गरे पनि सकेका थिएनन् । गत कात्तिक १७ मा जिल्ला सदरमुकाम गमगढी स्थित कालिका मालिका मन्दिरमुनिको बजारमा आगलागी हुँदा पनि आठ घर जलेका थिए । अघिल्लो वर्ष गमगढीको तल्लो बजारमा आगलागी हुँदा २१ घर जल्दा ३२ करोडभन्दा बढीको धनमाल क्षति भएको थियो ।

हावाहुरीका कारण मुगुमा कात्तिक र मंसिरदेखि चैत वैशाखमा बढी आगजनीका घटना हुने गरेका छन् । नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापति जयबहादुर मल्लले सदरमुकाममा मात्रै पाँच वर्षयता ९ वटा ठूला आगलागीका घटना भएको बताए । आगलागीबाट हुने क्षति न्यूनीकरणका लागि स्थानीय सरकारले ध्यान नदिएको स्थानीयको आरोप छ । आगो निभाउने स्रोतसाधन नहुँदा घर–बस्ती जोगाउन कठिन हुने गरेको उनीहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्