त्रिवि उपकुलपतिको सर्ट लिस्ट भोलिसम्म

सर्ट लिष्टमा १२ देखि १५ जना पर्ने



काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको सर्ट लिस्ट भोलिसम्म सार्वजनिक हुने भएको छ।

उपकुलपति छनोटसम्बन्धी कार्यविधि २०८० मा उल्लेख भएअनुसार बढीमा ३ हजार शब्दको सोचपत्र र ५ हजार शब्दको चारवर्षे व्यावसायिक कार्ययोजना पेस गरेका छन्।

सोही कार्यविधिको अध्ययन र मूल्याङ्कन गर्न ५ जना विज्ञ छनोट गरेको छ । कोडिङ गरिएका दुईवटा पेपर अध्ययन गरी नम्बर दिन समय लागेका कारण हालसम्म सर्ट लिस्ट सार्वजनिक हुन सकेको छैन। मन्त्रालयले नाम गोप्य राखेर व्यावसायिक कार्यपत्र मूल्याङ्कन गर्न २ र सोचपत्र अध्ययन गर्न ३ जना विज्ञ खटाएको छ।

‘सकभर आज मंगलबारसम्ममा सर्ट लिस्ट सार्वजनिक गर्नेछौं’ –उपकुलपति छनोट समितिका सदस्य एवं शिक्षा सचिव सुरेश अधिकारीले नेपाल समाचारपत्रसँग भन्नुभयो।

सकेसम्म मंगलबार केही समस्या आइनपरे बुधबारभित्र सर्ट लिस्टमा परेका १२ देखि १५ जनाको नाम सार्वजनिक गर्ने सचिव अधिकारीले बताउनुभयो। कार्यविधिअनुसार उपकुलपति हुन सय अंकको मूल्याङ्कन हुनेछ।

त्रिविका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको संयोजकत्वमा गठित समितिले १६ कार्यविधि जारी गरेको दरखास्त माग गरेको थियो।

कार्यविधिमा उच्चशिक्षाको क्षेत्रमा प्राध्यापन गरेबापत प्राध्यापक पदमा काम गरेको भए प्रतिवर्ष दुई अंकका दरले अधिकतम १० अंक पाउनेछन्।

प्राध्यापक हुनेले १०, विद्यावारिधिको उपाधि प्राप्त व्यक्तिले ५, स्वदेशी वा विदेशी विश्वविद्यालय वा प्रतिष्ठानको पदाधिकारीको अनुभव हासिल गरेकामा ४, प्राज्ञिक एवं अनुसन्धानमूलक एउटा पुस्तक लेखी प्रकाशन गरेबापत ५, प्राज्ञिक अनुसन्धानमूलक परियोजना सम्पन्न गरेबापत ६ अंक दिने प्रावधान बनाइएको छ।

विश्वविद्यालयसम्बन्धी सोचपत्र (भिजन पेपर) र चारवर्षे कार्ययोजना (प्रोफेसनल वर्क) बापत ३५, प्रस्तुतीकरणको २० र अन्तर्वार्ताबाट १५ अंक दिने व्यवस्था कार्यविधिमा उल्लेख छ।

उपकुलपतिको उम्मेदवारले राजनीतिक दलको सदस्य नरहेको स्वघोषणापत्र पेस गर्नुपर्ने छ। कार्यविधिमा ‘प्रचलित कानुनबमोजिम सार्वजनिक पदमा नियुक्तिका लागि अयोग्य नभएको र हाल कुनै राजनीतिक दलको सदस्य नरहेको स्वघोषणापत्र पेस गर्नुपर्ने उल्लेख छ।

३ हजार शब्दमा विश्वविद्यालयसम्बन्धी सोचपत्र र ५ हजार शब्दमा विश्व विद्यालयसम्बन्धी चारवर्षे व्यावसायिक कार्ययोजना पनि पेस गर्नुपर्नेछ।

दरखास्त पेस गर्ने अधिकांशले सोचपत्र र कार्ययोजना तयार गरिसकेका छन्। समितिले सोही आधारमा मूल्याङ्कन गरी नम्बर दिएपछि छनोट प्रक्रिया अघि बढ्नेछ।

छनोट भएका व्यक्तिमध्येबाट समितिले ३ जनाको नाम कुलपति एवं प्रधानमन्त्रीसमक्ष पेस गर्नेछ । त्यसपछि कुलपतिले एक जनालाई उपकुलपतिमा नियुक्ति गर्ने प्रावधान छ।

सोही आधारमा समिति र विज्ञले नम्बर दिने र सर्ट लिस्टिङलाई अन्तिम चरणमा लैजाने कार्य जारी राखेको छ। तीमध्ये दुई महिलासहित दुई वर्तमान उपकुलपति र विभिन्न विश्वविद्यालयका पूर्वपदाधिकारीसहित ४३ जनाले आवेदन दिएका थिए।

तत्कालीन उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटाको कात्तिक १६ मा कार्यकाल सकिएपछि उपकुलपति प्राडा शिवलाल भुसालले पहिलोपटक तीनमहिने र हाल अर्को उपकुलपति नियुक्ति नहुन्जेलसम्म दैनिक काम गर्ने गरी जिम्मेवारी पाउनुभएको छ।

मन्त्रालयले फागुनको दोस्रो सातासम्म त्रिविको २० औं उपकुलपति सिफारिस गर्ने तयारीमा लागेको छ ।

प्रतिक्रिया दिनुहोस्