त्रिवि उपकुलपतिमा अवकास प्राप्त १३ जना भिड्दै

उपकुलपति भए दोहोरो सुविधा पाउने



काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा दरखास्त दिनेमध्ये १३ उम्मेदवार त्रिभुवन विश्वविद्यालयमा अवकास प्राप्त छन्।

उनीहरूमध्ये जोकोही उपकुलपति नियुक्त भएमा पेन्सन र उपकुलपतिको तलब र सेवासुविधा दुवै लिनेछन्।

उपकुलपतिमा दरखास्त दिएका अवकासप्राप्त उम्मेदवारहरूमा हेमराज पन्त, प्रमोदकुमार झा, केदारनाथ घिमिरे, त्रिरत्न बज्राचार्य, ऋदिषकुमार पोखरेल, ज्ञानेन्द्रप्रसाद पौडेल, तीर्थ खनियाँ रहनुभएको छ।

त्यस्तै, केशरजंग बराल, गुणनिधि न्यौपाने, चन्द्रमणि पौडेल, बालमुकुन्द रेग्मी, गोविन्द सुवेदी र राजकुमार पोखरेल रहनुभएको छ।

अघिल्लो कार्यकालमा उपकुलपति भएका प्राडा धर्मकान्त बाँस्कोटा र तीर्थ खनियाँ पेन्सन र तलब दुवै लिएका थिए। उपकुलपति पदमा माघ ८ गते दरखास्त दिएका ४३ मध्ये २१ जना त्रिभुवन विश्वविद्यालयका जागिरे हुन्।

त्रिविमा जागिरे जीवन बिताइरहेका र हाल उपकुलपतिमा दरखास्त दिएकाहरूमा प्रकाश घिमिरे, भीमसेन देवकोटा, टंकनाथ धमला, सञ्जय आचार्य, रामप्रसाद रेग्मी, विनोद पराजुली, ईन्द्रबहादुर कार्की, प्रकाश घिमिरे (२), महेन्द्र चालिसे रहनुभएको छ।

त्यसै गरी शिवलाल भुसाल, लेखनाथ शर्मा, नन्दबहादुर सिंह, चित्रबहादुर बुढाथोकी, कसुम शाक्य, अक्कलदेव मिश्र, भोजराज अर्यालले आवेदन दिनुभएको छ।

त्रिविका कर्मचारी महेन्द्रप्रसाद शर्मा, नारायणप्रसाद बेलवासे, रामचन्द्र बस्नेत, संगीता रायमाझी र सूर्यबहादुर थापाले निवेदन दिनुभएको छ।

त्रिविका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको संयोजकत्वमा गठित तीन सदस्यीय सर्च कमिटीले सिफारिस गरेका ३ मध्ये एक जना त्रिविको २०औं उपकुलपति नियुक्ति हुनेछन् ।

सर्च कमिटीले पेस गरेको नाममध्येबाट विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालले एक जनालाई उपकुलपति नियुक्ति गर्ने व्यवस्था छ।

प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालले आफू निकटकालाई उपकुलपति नियुक्ति गर्नुहुन्छ वा राजनीतिबाट टाढा रहेका विद्वान्लाई नियुक्ति गर्नुहुने भन्ने विषयमा परीक्षा शुरू भएको छ।

त्रिविको इतिहासमा उपकुलपति छनोटका लागि पहिलोपटक खुला विज्ञापन भएको थियो। खुला विज्ञापन गरेर आफ्नो पार्टी निकटकालाई नियुक्ति गर्ने कि उत्कृष्ट सोचपत्र र व्यावसायिक कार्ययोजना बनाएर उत्तीर्ण भएकालाई उपकुलपति नियुक्ति गर्ने भन्ने विषय जटिल बनेको छ।

आवेदन दिनेमध्ये अधिकांश नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्र निकट प्राध्यापक छन्। केही मात्र स्वतन्त्र उम्मेदवार देखिएको छ।

सर्च कमिटीले मापदण्डअनुसार सर्टलिस्ट बनाउन शुरू गरेको छ। सर्च कमिटीका सदस्य एवं शिक्षा सचिव सुरेश अधिकारीले चाँडै नै सट लिस्ट सार्वजनिक गरी थप प्रक्रिया अघि बढाइने जानकारी दिनुभयो।

उहाँले भन्नुभयो– ‘सबै प्रक्रिया पूरा गरी चाँडै उपकुलपति नियुक्ति गर्नेछौं।’ समितिले ‘त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८०’ अनुसार प्रक्रिया अघि बढ्ने जनाएको छ।

मन्त्रालयका प्रवक्ता शिवकुमार अधिकारीले उपकुलपति छनोट प्रक्रिया शुरू भइसकेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो– ‘मापदण्डअनुसार नम्बर चढाउने काम जारी छ। सबैको नम्बर राखेपछि सर्टलिस्ट सार्वजनिक गर्नेछौं।’

कार्यविधिअनुसार छनोट विधिमा उम्मेदवार पेस गरेको शैक्षिक योग्यता तथा अनुभव, पुस्तकको प्रकाशन, विश्वविद्यालयसम्बन्धी सोचपत्र, चारवर्षे व्यावसायिक कार्ययोजना सोको प्रस्तुतीकरण र अन्तर्वार्ता र मूल्याङ्कनलाई सय नम्बरमा बाँडफाँट गरिएको छ।

प्राध्यापक पदमा कार्य अनुभवमा १०, विद्यावारिधि उपाधिमा ५, स्वदेशी वा विदेशी विश्वविद्यालय वा प्रतिष्ठानको पदाधिकारीको अनुभव हासिल गरेकोमा ४, प्राज्ञिक एवं अनुसन्धानमूलक पुस्तक प्रकाशन गरेबापत ५ अंक दिने मापदण्डमा उल्लेख छ ।

सोचपत्र र चारवर्षे व्यावसायिक कार्ययोजनाबापत ३५, प्रस्तुतीकरणमा २० र अन्तर्वार्तामा १५ अंक छुट्याइएको छ।

सो अंक चढाएपछि बढी अंक ल्याउने १५ जनालाई सर्टलिस्टमा प्रकाशन गरिने छ। सर्च कमिटीलाई आवश्यक ठानेमा व्यावसायिक र सोचपत्रको मूल्याङ्कन गर्न विज्ञ समूह गठन गर्नसक्ने उल्लेख छ।

पेन्सन भएकाहरू

१.हेमराज पन्त
२.प्रमोदकुमार झा
३.केदारनाथ घिमिरे
४.त्रिरत्न बज्राचार्य
५.ऋदिषकुमार पोखरेल
६.ज्ञानेन्द्रप्रसाद पौडेल
७.तीर्थ खनियाँ
८.केशरजंग बराल
९.गुणनिधि न्यौपाने
१०.चन्द्रमणि पौडेल
११.बालमुकुन्द रेग्मी
१२.गोविन्द सुवेदी
१३.राजकुमार पोखरेल

त्रिविमा कार्यरत
१.प्रकाश घिमिरे
२.भीमसेन देवकोटा
३.टंकनाथ धमला
४.सञ्जय आचार्य
५.रामप्रसाद रेग्मी
६.विनोद पराजुली
७.इन्द्रबहादुर कार्की
८.प्रकाश घिमिरे (२)
९.महेन्द्र चालिसे
१०.शिवलाल भुसाल
११.लेखनाथ शर्मा
१२.नन्दबहादुर सिंह
१३.चित्रबहादुर बुढाथोकी
१४.कसुम शाक्य
१५.अक्कलदेव मिश्र
१६.भोजराज अर्याल
१७.महेन्द्रप्रसाद शर्मा
१८.नारायणप्रसाद बेलवासे
१९.रामचन्द्र बस्नेत
२०.संगीता रायमाझी
२१.सूर्यबहादुर थापा

प्रतिक्रिया दिनुहोस्