राष्ट्रिय सभा निर्वाचन : १८ सिटमा गठबन्धन, एमालेलाई एक सिट

माओवादी केन्द्र बन्यो ठूलो दल, एमाले तेस्रो स्थानमा खुम्चियो



काठमाडौं ।

राष्ट्रिय सभाको निर्वाचनको मतपरिणाम आएसँगै राष्ट्रिय सभाको सबैभन्दा ठूलो दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र दोस्रो ठूलो दल नेपाली कांग्रेस भएको छ।

१९ सिटका लागि बिहीबार सातवटै प्रदेशको सदरमुकाममा भएको निर्वाचनमा एक जनाबाहेक १८ जना गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन्।

मत परिणामले राष्ट्रियसभाको पहिलो दल एमालेलाई तेस्रो स्थानमा खुम्च्याइदिएको छ। निर्वाचनमा नेपाली कांग्रेसका १०, माओवादी केन्द्रका ५, एकीकृत समाजवादीका २ तथा जनता समाजवादी पार्टी र एमालेका १/१ जना निर्वाचित भएका छन्।

राष्ट्रिय सभामा यही फागुन २० गते पदावधि सकिएर बिदा हुने सांसद र बिहीबार निर्वाचित सांसदको संख्या हेरफेर हुँदा दलीय समीकरण बदलिएको हो।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनासहित १९ जना सांसदको पदावधि यही फागुन २० गते सकिन लागेकाले ती स्थानको पूर्तिका लागि बिहीबार निर्वाचन भएको हो।

राष्ट्रिय सभामा माओवादीबाट हाल उपाध्यक्ष उर्मिला अर्यालसहित १५ जना रहेकोमा यही फागुन २० गते पदावधि सकिनेमा ती जना रहेका छन्।

भर्खरैको निर्वाचनबाट थप पाँच जना निर्वाचित भएकोमा १७ सदस्यसहित माओवादी केन्द्र राष्ट्रियसभाको सबैभन्दा ठूलो दल बनेको हो । हाल माओवादी केन्द्र प्रतिनिधि सभामा तेस्रो स्थानमा रहेको छ।

त्यसै गरी राष्ट्रिय सभामा हाल नेपाली कांग्रेसका १० जना सांसद रहेकोमा ४ जनाको पदावधि आउ“दो फागुन २० गते सकिने छ। बाँकी रहेको ६ जनामा निर्वाचनबाट थपिएको १० सहित १६ सिट बनाएको कांग्रेस राष्ट्रियसभाको दोस्रो ठूलो दल बनेको छ।

कोशी प्रदेशको महिलातर्फ अनपेक्षित जित हात पारेको एमाले आगामी फागुन २१ पछि १० सिटमा सीमित हुनेछ। राष्ट्रियसभामा अध्यक्षसहित एमालेका सांसदको संख्या हाल १८ रहेको छ । राष्ट्रियसभामा हाल एकीकृत समाजवादीका ८ जना सांसद रहेकोमा २ जना फागुनबाट बिदा हु“दै गर्दा बिहीबार नयाँ २ जना निर्वाचित भएकाले उसको सांसद संख्या तलमाथि भएन।

त्यसै गरी जनता समाजवादी पार्टी (जसपा) का प्रमिलाकुमारी यादवको कार्यकाल २० फागुनमा सकि“दै छ भने एक जना निर्वाचित भएर आएकाले राष्ट्रिय सभामा जसपाको उपस्थिति यथावत् छ।

राष्ट्रपतिबाट मनोनित विमला राई पौड्यालको ठाउ“मा जनमोर्चाका दुर्गा पौडेललाई ल्याउने सत्ता गठबन्धनको तयारीअनुरूप काम भएमा राष्ट्रिय सभामा जनमोर्चाका दुई सांसद हुनेछन्। त्यसै गरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को पनि एक जना सांसद रहेका छन्।

बालेन, हर्क र गोपालले गरे बहिष्कार

राष्ट्रिय सभा सदस्य निर्वाचनलाई तीन स्थानीय तहका स्वतन्त्र जनप्रतिनिधिले बहिष्कार गरेका छन्।

स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’, धरान उपमहानगरपालिका मेयर हर्क राई ‘साम्पाङ’ र धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल ‘गोपी’ले मतदान बहिष्कार गरेका हुन्।

बिहीबार भएको निर्वाचनमा तोकिएको समयावधिमा उनीहरू सम्बन्धित प्रदेशको मतदान केन्द्रमा नगएर बहिष्कार गरेका हुन्।

बालेनको मतदान केन्द्र वागमती प्रदेशको हेटौंडा, हर्कको मतदान केन्द्र कोशी प्रदेशको विराटनगर र गोपीको मतदान केन्द्र सुदूरपश्चिमको धनगढीमा थियो ।

स्थानीय निर्वाचन स्वतन्त्र जितेका उनीहरूले दलका उम्मेदवारलाई मतदान गर्न नगएको बताएका छन् । तीनै जना मेयरले कार्यव्यवस्ता देखाउँदै मतदानमा नआएको सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

राष्ट्रिय सभा निर्वाचनमा कोशीबाट हरिहर नेपाल विराटनगर, मधेसबाट पुस्तिका थापा सर्लाही, वागमतीबाट रोशन पराजुली हेटौंडा, गण्डकीबाट विजय नेपाली पोखरा, लुम्बिनीबाट यमलाल भुसाल बुटवल, कर्णालीबाट सिर्जना बुढाथोकी सुर्खेत र सुदूरपश्चिम प्रदेशबाट राम धामी डडेल्धुराको रिपार्ट ।

कोशीमा सिटौला विजयी, महिला सिट एमालेले उछिट्यायो

कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा एमाले उम्मेदवार रुक्मिणी कोइराला र अन्यतर्फ नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौैला विजयी हुनुभएको छ । सत्ता गठबन्धनबाट फ्लोर क्रस भएपछि कोइरालाले अनपेक्षित जित हात पार्नुभएको छ।

कोइरालाई सत्ता गठबन्धनकै मतदाताले फ्लोर क्रस गरेर भोट दिएका छन्। यहाँ एमाले–राप्रपाको तालमेल थियो। उहाँले सत्ता गठबन्धनकी चम्पादेवी कार्कीलाई पराजित गर्नुभएको छ। कोइरालालाई सत्ता गठबन्धनका ३ सांसदले फ्लोर क्रस गरे। ९३ मध्ये उहाँलाई ४९ जनाको मत आएको छ।

यस्तै, स्थानीय तहका १ सय ३१ जनाले मत हालेका छन्। स्थानीयतर्फका १६ जनाले फ्लोर क्रस गरेका छन्। गठबन्धनबाट फ्लोर क्रस हुँदा एमाले उम्मेदवारले नतिजा उल्टाउनुभएको हो।

कोइरालालाई सत्ता गठबन्धनका तीन प्रदेशसभा सांसदले मतदान गरेको पुष्टि भएको छ । त्यस्तै, स्थानीय तहका १६ मतदाताले फ्लोर क्रस गरेका छन्। प्रदेशसभामा एमालेका ४० र राप्रपाका ६ गरी ४६ सांसद छन् । रुक्मिणीले ४९ मत ल्याउनुभएको छ।

एमालेकी रुक्मिणीलाई राप्रपाले र राप्रपाका उम्मेदवार उद्धव पौडेललाई एमालेले समर्थन गरेको थियो । तर, महिलातर्फ एमाले उम्मेदवार विजयी भए पनि कोशीमा राष्ट्रियसभा निर्वाचनमा अन्यतर्फका नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौला विजयी हुनुभएको छ ।

प्रदेशसभाको मत गन्दा राप्रपाका उम्मेदवार उद्धव पौडेलभन्दा पछाडि पर्नुभएका सिटौला स्थानीय तहको मत गनेपछि विजयी हुनुभएको हो।

प्रदेशसभाका ९३ सदस्यमध्ये सिटौलाले ४५ मत पाउनुभयो भने राप्रपा उम्मेदवार पौडेलले ४७ मत पाउनुभयो। सत्तारुढ गठबन्धनको प्रदेशसभामा ४७ मत भए पनि २ जनाले सिटौलालाई मत दिएनन् । एक मत भने बदर भएको थियो।

स्थानीय तहतर्फ सिटौलाले १ सय ५३ मत प्राप्त गर्नुभयो भने राप्रपा उम्मेदवार पौडेलले १ सय ९ मत प्राप्त गर्नुभयो । स्थानीय तहतर्फ ४ मत बदर भएको छ।

निर्वाचनअन्तर्गत कोशी प्रदेशका दुई मतदाता मतदानमा अनुपस्थित रहे । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र मोरङको ग्रामथान गाउँपालिकाका प्रमुख जयप्रकाश गच्छदार अनुपस्थित हुनुभएको हो।

साम्पाङले कार्यव्यस्तताका कारण मतदान गर्न आउन नसकेको बताउनुभयो। गच्छदार मुटुसम्बन्धी बिरामी भई विराटनगरस्थित अस्पतालमा भर्ना हुनुभएको छ।

झापाको झापा गाउँपालिकाका प्रमुख जयनारायण साह भ्रष्टाचार मुद्दामा निलम्बनमा परेका कारण निर्वाचन आयोगले उहाँको नाम मतदाता नामावलीबाट हटाएको थियो। मतदानमा कोशी प्रदेशमा १ सय ३७ स्थानीय तहका प्रमुख÷उपप्रमुख र ९३ प्रदेशसभा सदस्य मतदाता थिए।

राष्ट्रियसभा निर्वाचनअन्तर्गत कोशीमा प्रदेश सभाका सबै मतदाताले मतदान गरेका छन् । यहाँ प्रदेश सभा सदस्यतर्फ ९३ मतदाता छन्।

मतदानका लागि निर्धारित समय बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म ३ सय ६६ जना मतदातामध्ये ३ सय ६३ जनाले मतदान गरेको कोशीका निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिनुभयो।

मधेसमा सत्तासाझेदार विजयी

राष्ट्रियसभाको निर्वाचनमा मधेस प्रदेशमा सत्तासाझेदार दुई दलका उम्मेदवार विजयी भएका छन् । बिहीबार भएको राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट गठबन्धनका उम्मेदवार आनन्दप्रसाद ढुंगाना र जनता समाजवादी पार्टीका उम्मेदवार पूजा चौधरी निर्वाचित हुनुभएको हो ।

राष्ट्रिय सभाका लागि मधेसमा खाली दुई सिटमध्ये अन्यबाट कांग्रेसका ढुंगाना र महिलामा जसपाका चौधरीले उम्मेदवारी दिनुभएको थियो । कांग्रेस उम्मेदवार ढुंगानाले ७ हजार ३ सय ७० मतभार पाउनुभयो भने जसपाका उम्मेदवार चौधरीले ७ हजार ९ सय २९ मतभार ल्याएर निर्वाचित हुनुभएको हो ।

त्यसै गरी नेकपा एमालेका तर्फबाट उम्मेदवार भन्नुभएका उषादेवी थरुनी र विजेता झा पराजित हुनुभएको छ। त्यसैगरी गठबन्धनबाट असन्तुष्ट भनेको जनमत पार्टीले रामाशंकर महासेठलाई उम्मेदवार बनाएको थियो।

मधेस आन्दोलनको क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्यामा जिल्ला अदालत महोत्तरीले कसुरदार ठहर गरेका लोसपाका सांसद अभिराम शर्माले मत खसाल्नुभएन।

राष्ट्रियसभाको निर्वाचनमा मधेसको १ सय ३६ पालिकाको शतप्रतिशत र प्रदेशसभाका १ सय ७ जना सांसदमध्ये १ सय ६ जना मतदानदानमा सहभागी भएका थिए । मधेस प्रदेशको कुल मतभार १० हजार ८ सय ३९ रहेको थियो ।

वागमती गठबन्धनको पोल्टामा

वागमती प्रदेशमा राष्ट्रियसभा सदस्य निर्वाचनमा गठबन्धनका तर्फबाट चुनाव लडेका चारै उम्मेदवार विजयी हुनुभएको छ। हेटौंडामा भएको मतगणनाअनुसार कांग्रेसका २, माओवादी केन्द्रका १ र एकीकृत समाजवादीका १ उम्मेदवार विजयी हुनुभएको हो ।

कांग्रेसकी विष्णुकुमारी पुडासैनी र जितजंग बस्नेत, माओवादी केन्द्रका श्रीकृष्ण अधिकारी र समाजवादीका घनश्याम रिजाल विजयी हुनुभएको छ।

बिहीबार भएको निर्वाचनमा रिजाल ६ हजार ५ सय १२ मतभारसहित विजयी हुनुभएको छ। उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका धु्रवराज विकले ३ हजार ५२ मत प्राप्त गर्नुभयो। महिला कोटातर्फ कांग्रेसकी पुडासैनी विजयी हुनुभएको छ।

निर्वाचनमा पुडासैनी ६ हजार ६ सय २२ मतभारसहित विजयी हुनुभएको हो। उहाँकी निकटतम प्रतिद्वन्द्वी एमालेकी रोचकुमारी चौलागाईंले २ हजार ५ सय ५२ मतभार ल्याउनुभएको छ।

अपांगता कोटाबाट सत्ता गठबन्धनका अधिकारी विजयी हुनुभयो। अधिकारी ६ हजार ४ सय ३६ मतभारसहित विजयी हुनुभएको छ । अधिकारीका निकटतम प्रतिद्वन्द्वी एमालेका विवेक देवकोटाले २ हजार ७ सय ३४ मतभार ल्याउनुभयो।

अन्यतर्फ कांग्रेसका बस्नेत विजयी हुनुभएको छ। निर्वाचनमा बस्नेत ६ हजार ५ सय ३१ मतभारसहित विजयी हुनुभएको हो। उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका त्रिलोचन निर्मल पौडेलले २ हजार ५ सय ५९ मत ल्याउनुभयो।

राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि जित्ने सम्भावना क्षीण रहे पनि वागमती प्रदेशमा प्रतिपक्षी नेकपा एमालेले सत्ता गठबन्धनलाई ‘वाकओभर’ भने दिएन।

सत्तागठबन्धनका दलबीच वागमतीमा राष्ट्रियसभाका ४ सदस्यमध्ये कांग्रेसलाई २ तथा माओवादी केन्द्र र एकीकृत समाजवादीलाई १/१ सिट दिने सहमति भएका कारण जित करिब सुनिश्चित थियो।

निर्वाचनमा प्रदेशभरका ३ सय ४७ मतदातामध्ये ३ सय ४२ जनाले मतदान गरेका छन् । स्थानीय तहका प्रमुख र उपप्रमुख २ सय ३७ जनामध्ये २ सय ३४ जना र प्रदेशसभा सदस्य १ सय १० जनामध्ये १ सय ८ जनाले मतदान गरेका हुन्।

निर्वाचनमा स्थानीय तहका तीन जना, प्रदेशसभा सदस्य दुई जना अनुपस्थित भएका छन् । स्थानीयतर्फ ९८.७३ प्रतिशत र प्रदेशतर्फ ९८.१८ प्रतिशत मत खसेको थियो।

नेमकिपाबाट अपांग क्लस्टरबाट भक्तपुरका हिमालयेश्वरलाल मूल, अन्यबाट काठमाडौंका श्रीकृष्ण महर्जनले पनि मनोनयन दर्ता गराउनुभएको थियो। दलिततर्फ भक्तपुरकी संगीता नेपाली र महिलातर्फ कृष्णलक्ष्मी दुवाल पनि निर्वाचनको चुनावी मैदानमा रहनुभयो।

राप्रपाबाट ३ जनाले उम्मेदवारी दिँदा अपांग क्लस्टरमा चितवनका भरतमणि भट्ट र महिलातर्फ मकवानपुरकी बालकुमारी डल्लाकोटी र अन्यमा हेमजंग गुरुङले मनोनयन दर्ता गराउनुभएको थियो । राष्ट्रियसभा सदस्यका लागि वागमतीबाट ४ सिटमा ६ दलका १५ जनाको उम्मेदवारी परेको थियो ।

प्रदेशबाट एमालेकी दिलकुमारी रावल र रामचन्द्र राई, एकीकृत समाजवादीका सिंगबहादुर विश्वकर्मा र सांसद खिमलाल देवकोटाको पद रिक्त हुन लागेको हो।

रावल महिला, राई अपांगता/अल्पसंख्यक, विश्वकर्मा दलित र देवकोटा अन्य समूहबाट निर्वाचित हुनुभएको थियो। ती चारवटै समूहमा छुट्टाछुट्टै प्रतिस्पर्धा भएको हो।

गण्डकीमा गठबन्धन विजयी

राष्ट्रियसभा निर्वाचनमा गण्डकी प्रदेशबाट गठबन्धनका उम्मेदवार विजयी भएका छन्। बिहीबार साँझ सार्वजनिक मतपरिणामअनुसार अन्य क्लस्टरमा कांग्रेसका किरणबाबु श्रेष्ठ, अपांगता–अल्पसंख्यकतर्फ पदमबहादुर परियार र महिलातर्फ माओवादी केन्द्रकी मनरूपा शर्मा विजयी हुनुभएको हो।

श्रेष्ठले ३ हजार ८ सय ८ मत ल्याउँदा उहाँका निकटतम प्रतिस्पर्धी एमालेका चक्रबहादुर पराजुलीले २ हजार ४ सय ७७ मत पाउनुभयो । श्रेष्ठले एमालेका चक्रबहादुर पराजुलीलाई १ हजार ३ सय ३१ मतले हराउनुभएको हो।

श्रेष्ठलाई स्थानीय तहतर्फ १ सय र प्रदेशसभातर्फ ३६ जनाले मत हाल्नुभएको थियो। विपक्षी उम्मेदवार पराजुलीलाई स्थानीय तहतर्फ ६९ जना र प्रदेशतर्फ २२ जनाले मतदान गर्नुभएको थियो। अन्य कोटामा गठबन्धनको स्थानीय तहतर्फ १ जनाले मत क्रस गरेका छन्।

अपांगता–अल्पसंख्यकतर्फ कांग्रेसका परियारले ३ हजार ७ सय ७९ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी एमालेका हेमन्द्र शेरचनले २ हजार ४ सय ५८ मत ल्याउनुभयो। महिलातर्फ माओवादी केन्द्रीकी शर्माले ३ हजार ६ सय ६० मत ल्याएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी एमालेकी सम्झना देवकोटाले २ हजार ५ सय ५३ मत प्राप्त गर्नुभयो।

गण्डकीमा मतदाताको कुल मतभार ६ हजार १ सय ४० थियो। गण्डकीमा ६० जना प्रदेशसभा सदस्य तथा ८५ स्थानीय तहका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष १ सय ७० गरी कुल २ सय ३० जना मतदाता थिए। गठबन्धनमा आबद्ध दलहरूको मतभार ३ हजार ८ सय २७ थियो । यद्यपि, तीनवटै उम्मेदवारले यस बराबरको मत पाउनुभएन। केही मत बदर भएको थियो भने केही मतदाताले ‘भोट क्रस’ समेत गरेका थिए।

बिहीबार २ सय ३० मतमध्ये २ सय २९ मत खसेको थियो। सहकारी ठगीमा फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली मतदानका लागि आएनन्। बागलुङ र पोखरामा रहेको इमेज बचत तथा ऋण सहकारी संस्थाको झन्डै २ अर्ब रुपियाँ अपचलन गरेको आरोप उनीमाथि छ।

गण्डकीमा राष्ट्रियसभाको रिक्त ३ क्लस्टरका लागि गठबन्धनका ३, एमालेका ३ र राप्रपाका २ सहित ८ जना उम्मेदवार चुनावी मैदानमा थिए । गण्डकीमा गठबन्धनको १ सय १ पालिकाप्रमुख उपप्रमुख र ३६ जना प्रदेशसभा सदस्य रहनुभएको छ । एमालेको पालिकाप्रमुख उपप्रमुख ६९ रहेका छन् ।

लुम्बिनीमा गठबन्धनका विष्णु कुमारी र झक्कु विजयी

राष्ट्रियसभा निर्वाचनमा लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनका उम्मेदवारी विजयी हुनुभएको छ। सत्ता गठबन्धनबाट लुम्बिनी प्रदेशमा उम्मेदवार बनेका नेपाली कांग्रेसकी विष्णुदेवी सापकोटा र नेकपा माओवादीका झक्कुप्रसाद सुवेदी विजयी हुनुभएको छ।

सापकोटा महिला कोटाबाट र सुवेदी अन्यतर्फबाट विजयी हुनुभएको हो। निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार झपेन्द्रबहादुर घर्ती क्षेत्री र तुलसा केसी पराजित भएका छन्।

निर्वाचनमा माओवादीका सुवेदीले ५ हजार ४ सय ३५ र कांग्रेसकी सापकोटाले ५ हजार ४ सय ३५ मतभार प्राप्त गर्दै विजयी हुनुभएको निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले जानकारी दिनुभयो।

पाण्डेका अनुसार नेकपा एमालेका उम्मेदवारी तुलसा केसीले २ हजार ८ सय ६७ मतभार र झपेन्द्र घर्ती क्षेत्रीले ३ हजार ३९ मतभार प्राप्त गर्नुभएको छ। त्यस्तै, महिला कोटामा राप्रपाबाट उम्मेदवार विजयालक्ष्मी सिंह २ सय ५० र अन्य कोटामा जनमत पार्टीका बालगोविन्द चौधरीले २ सय ५० मतभार प्राप्त गर्नुभएको छ।

बिहीबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म भएको निर्वाचनमा प्रदेशसभातर्फ ८७ र स्थानीय तहतर्फ भएको ३ सय ५ मतमध्ये ३ सय ३ मत खसेको थियो।

बाँकेको नरैनापुर गाउँपालिका उपाध्यक्ष जयन्तीदेवीश्रीवास्तव र रूपन्देहीको मायादेवी गाउँपालिका उपाध्यक्ष नर्वदा उपाध्याय मतदानमा आउन नसक्ने जानकारी गराएकाले दुई जनाको मत नखसेको पाण्डेले बताउनुभयो।

लुम्बिनीमा रिक्त हुने दुई सदस्य चुन्न घोराही उपमहानगरपालिका–१५ स्थित कर्मचारी मिलन केन्द्रको प्राङ्गणमा मतदान भएको थियो।

लुम्बिनी प्रदेशका १२ जिल्लामा गरी कुल १ सय ९ स्थानीय तहका २ सय १८ जना प्रमुख तथा उपप्रमुख र ८७ जना प्रदेशसभा सदस्यसमेत गरी कुल ३ सय ५ जना मतदाता थिए । स्थानीय तहका दुई जना मतदानमा अनुपस्थित रहे ।
शुरूमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पहिलो मतदान गर्नुभएको थियो । दुई सिटका लागि भएको निर्वाचनमा ६ जना उम्मेदवार प्रतिस्पर्धामा थिए ।

कर्णालीमा पनि गठबन्धनका उम्मेदवार विजयी

राष्ट्रियसभा निर्वाचनका लागि बिहीबार भएको मतदानमा कर्णालीबाट तीनैजना गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन् ।

जसमा अन्यतर्फ नेपाली कांग्रेसबाट उम्मेदवार बनेका रूकुमपश्चिमका कृष्णबहादुर रोकाया, महिलातर्फ एकीकृत समाजवादीका उम्मेदवार दैलेखकी सावित्री मल्ल र दलिततर्फ माओवादी केन्द्रका उम्मेदवार कालिकोटका विष्णुबहादुर विक विजयी भएका हुन् ।

रोकायले १ सय ५०, मल्ल र विकले समान १ सय ४४/१ सय ४४ मत ल्याई विजयी भएका हुन्। थप एमालेका उम्मेदवारहरू अन्यतर्फका डिल्लीप्रसाद भट्टले ४६, महिलातर्फकी विमला शाहीले ५२ र दलिततर्फ हिग्मत विकले ४७ मात्र मत ल्याउनुभयो ।

सुदूरपश्चिममा सत्तारूढ

बिहीबार सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनको सार्वजनिक नतिजाअनुसार सुदूरपश्चिम प्रदेशमा प्रमुख प्रतिपक्षी दल एमालेका उम्मेदवारलाई पराजित गर्दै सत्तारूढ गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन्।

महिलातर्फ माओवादीकी रेणु चन्द, अपांगतातर्फ नेपाली कांग्रेसका नारायण भट्ट र अन्यतर्फ नेपाली कांग्रेसकै बलदेव बोहरा निर्वाचित भएका हुन्।

प्रदेशसभातर्फ ५२ जना र स्थानीय तहका १ सय ७५ जना प्रमुख–उपप्रमुखमध्ये १ सय ७३ जनाले मतदान गरेका थिए । प्रदेशसभातर्फ महिलातर्फकी उम्मेदवार चन्दले ४१ मत पाउनुभएको छ भने स्थानीय तहतर्फ १ सय २० मत पाउनुभएको छ।

उहाँकी प्रतिद्वन्द्वी एमालेकी सावित्रादेवी घिमिरेले प्रदेशसभातर्फ ११ र स्थानीय तहतर्फ ५२ मत प्राप्त गर्नुभएको छ।अपांगतातर्फ कांग्रेसका नारायणदत्त भट्टले प्रदेशसभातर्फ ४० र स्थानीय तहतर्फ १ सय २१ मत पाउनुभएको छ भने उहाँका प्रतिद्वन्द्वी एमालेका रामचन्द्र जोशीले प्रदेशसभाको ११ मत र स्थानीय तहतर्फ ५२ मत पाउनुभएको छ।

अन्यतर्फ विजयी भएका नेपाली कांग्रेसका बोहराले प्रदेशसभातर्फ ३९ मत पाउनुभएको छ भने स्थानीय तहतर्फ १ सय १९ मत पाउनुभएको छ।

उहाँका प्रतिद्वन्द्वी एमालेका ईश्वरीप्रसाद खरेलले प्रदेशसभातर्फ १३ मत र स्थानीय तहतर्फ ५३ मत पाउनुभएको छ । सत्तारुढ गठबन्धनबाट केही भोट चोर्न खरेल सफल हुनुभएको छ। खरेलले सत्तारुढ गठबन्धनको मत प्राप्त गर्नुभएपछि गठबन्धनभित्र तीव्र असन्तुष्टि देखिएको छ।

प्रदेशसभाको मतभार ५३ र स्थानीय तहका प्रमुख उपप्रमुखको मतभार १९ कायम गरिएको छ। योअनुसार महिलातर्फ विजयी भएकी माओवादीकी चन्दले प्रदेशसभातर्फ २ हजार १ सय ७३ र स्थानीय तहतर्फ २ हजार २ सय ८० गरेर ४ हजार ४ सय ५३ कुल मतभार प्राप्त गर्नुभएको छ।

एमालेकी घिमिरेले प्रदेशभाको ५ सय ८३ र स्थानीय तहतर्फ ९ सय ८८ गरेर १ हजार ५ सय ७१ मतभार प्राप्त गर्नुभएको छ।

अन्यतर्फका बोहराले प्रदेशसभातर्फ २ हजार ६७ र स्थानीय तहतर्फको २ हजार २ सय ६१ गरेर ४ हजार ३ सय २८ मतभार पाउँदा उहाँका प्रतिद्वन्द्वी एमालेका खरेलले प्रदेशसभातर्फ ६ सय ८९ र स्थानीय तहतर्फ १ हजार ७ गरेर १ हजार ६ सय ९६ मतभार पाउनुभएको छ।

आपांगतातर्फ कांग्रेसका भट्टले प्रदेशसभातर्फ २ हजार १ सय २० र स्थानीय तहतर्फ २ हजार २ सय ९९ गरी ४ हजार ४ सय १९ मतभार ल्याउँदा एमालेका जोशीले प्रदेशसभातर्फ ५ सय ८३ र स्थानीय तहको ९ सय ८८ गरेर १ हजार ५ सय ७१ मतभार प्राप्त गर्नुभएको छ।

सुदूरपश्चिम प्रदेशसभामा अन्यतर्फ सत्तारुढ गठबन्धनबाट दुई मत क्रस भएर एमालेका उम्मेदवारलाई परेको पाइएपछि गठबन्धनभित्र मतभेद बढेको छ। यस विषयमा छानबिन गरेर मत क्रस गर्नेलाई कारबाही हुनुपर्ने मतदाता बताउँछन्।

प्रतिक्रिया दिनुहोस्