‘मिसन– २०८४’ : दलहरूको त्रसित मानसिक अभियान !



काठमाडौं ।

पछिल्लो समय नेपालका राजनीतिक दलहरू चुनावदेखि चुनावसम्मको एजेन्डा लिएर हिडेका छन्। नयाँ दलहरूले अहिलेबाटै मिसन २०८४ को योजना बनाएर अभियान शुरू गरेसँगै पुराना दलहरूले समेत यसलाई पछ्याउन थालेका हुन्।

पुराना राजनीतिक दलहरू नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेकपा माओवादी केन्द्र, जनता समाजवार्दी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीसहित नयाँ दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादी पार्टी, जनमत, आम जनता र लोकतान्त्रिक समाजवादी पार्टीसमेत मिसन २०८४ को अभियानमा लागेका छन्।

पाँच वर्षका लागि निर्वाचित प्रतिनिधिसभाले एक वर्षे कार्यकाल नै पूरा गरिनसक्दै नेताहरू नागरिकप्रति आश्वस्त हुन नसकेर मिसन ०८४ को अभियानमा लागेका राजनीतिक विश्लेषकहरू बताउँछन्।

दलहरूले राजनीतिक एजेन्डा, विकास, समृद्धि र सुशासनका विषयलाई प्रथमिकता दिएर जनताप्रति उत्तरदायी हुनुपर्नेमा ‘चुनावदेखि चुनावसम्म’ को अभियानमा लाग्नु नागरिक हितविपरीत भएको टिप्पणी गर्दै राजनीतिक विश्लेषक शंकर तिवारीले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘लोकतन्त्रमा दलहरू जनताका मुद्दामा केन्द्रित हुनुपर्छ । तर, अहिले नै अर्को चुनावमा कसरी जित्ने भन्ने अभियान लिएर हिँडेका दलहरूलाई जनताले किन र केका लागि मतदान गर्ने ? चुनाव भएको एक वर्षमै दलहरू आगामी चुनावी परिणामप्रति त्रसित भएर गत निर्वाचनमा मतदातासामु गरेका प्रतिबद्धता बिर्सनु दलहरूकै लागि दुर्भाग्य हो।’

पुराना दल र नेताहरूप्रति नागरिकको अविश्वास बढिरहेको अवस्थामा नयाँ राजनीतिक दलहरूले त्यसको फाइदा लिन नयाँ योजनासहितका कार्यक्रमहरू ल्याउनुपर्नेमा उनीहरूमा समेत मिसन ०८४ का नाममा ०८४ को चुनाव केन्द्रित अभियान लिएर देश दौडाहमा लाग्नु दुर्भाग्य भएको राजनीतिक विश्लेषकहरू बताउँछन्।

सरकारबाट जनताले सुशासन, विकास र समृद्धिको कुनै अनुभूति गर्न पाएका छैनन् । संसद्को तेस्रो दल माओवादी कहिले कांग्रेस त कहिले एमालेको बुई चढेर सत्तामा हालीमुहाली गरिरहेको छ।

सरकारलाई खबरदारी गर्ने जिम्मेवारीमा रहेको विपक्षी एमाले मिसन–०८४ भन्दै मध्यपहाडी राजमार्गमा अभियान सञ्चालनमा व्यस्त छ। पार्टी अध्यक्ष केपी ओलीले आगामी निर्वाचनमा एमालेको बहुमत नपाए मुलुकको विकास र समृद्धि नहुने बताउनुभएको छ।

संसद्को सबैभन्दा ठूलो दल कांग्रेसले देशभर कार्यकर्ता भेला र प्रशिक्षण गरिरहेको छ। लुम्बिनी प्रदेशको बुटवलबाट पहिलो सम्मेलन गरेको कांग्रेसको सातै प्रदेशमा हुने सम्मेलनमा पार्टीका शीर्षस्थ नेताहरूको सहभागिता हुने कार्यतालिका छ।

ती कार्यक्रमहरूमा सहभागी कांग्रेसका युवा नेताहरूले मिसन–०८४ आफ्नो एजेन्डा नभएको भाषण गर्दै हिँडे पनि भदौ २ को केन्द्रीय समिति बैठकबाट समुदायमा कांग्रेस अभियान सञ्चालन गर्ने निर्णय गरेर अघि बढेका हुन्।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले हाल प्रदेश तथा जिल्ला भेला गरिरहेको कांग्रेसका नेताहरूले २०८४ को निर्वाचनमा कांग्रेस एक्लै भिड्नुपर्ने र त्यसका लागि जनताका मुद्दामा केन्द्रित हुनुपर्ने बताउँदै आउनुभएको छ।

एता, सरकारको नेतृत्व गरेको नेकपा (माओवादी केन्द्र)ले ‘जनतासँग माओवादी, रूपान्तरण अभियान’ शुरू गरेको छ । गत भदौ १६ पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले चन्द्रागिरिको भट्टेडाँडाबाट उद्घाटन गर्नुभएको ‘जनतासँग माओवादी, रूपान्तरण अभियान’ अन्तर्गत पार्टीले २५ लाख मतदातासँग भेट्ने लक्ष्य लिएको माओवादी केन्द्रका सचिव राम कार्कीले बताउनुभयो।

नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी मिसन– ०८४ भन्दै देशभर संगठन विस्तारमा जुटेको छ। अरू साना दल पनि कसरी २०८४ सालको निर्वाचनमा जनतालाई आफूतिर तान्ने भन्नेमा लागिपरेका छन्।

रास्वपाले देश–विदेशमा पार्टी संगठन विस्तारलाई तीव्रता दिएको सो दलका उपसभापति डीपी अर्यालले बताउनुभयो। उपनिर्वाचनको परिणामबाट थप हौसिएको राजस्वाले २०८४ मा एक्लै बहुमत ल्याउने घोषणा गरेको छ।

राप्रपा, जनमतलगायतका साना पार्टीहरूले पनि पछिल्लो समय पार्टीका गतिविधि सक्रिय पारेका छन्। त्यस्तै, माओवादी, एकीकृत समाजवादी र जसपाले ‘समाजवादी मोर्चा’ बनाएर ठाउँ–ठाउँमा चुनाव लक्षित सभा सम्मेलन गरेका छन्।

चार साना वाम, प्रगतिशील पार्टी मिलेर समाजवादी मोर्चा गठन गरेका दलहरूले मिसन– ०८४ लाई प्राथमिकता दिएर कार्यक्रमहरू गरिरहेका छन्।

गत असार ५ गते समाजवादी मोर्चा गठन गरेका माओवादी, एकीकृत समाजवादी, जसपा र नेकपाले सकभर पार्टी एकता गरेर २०८४ मा निर्वाचन लड्ने, सम्भव नभए मोर्चा बनाएर चुनावको सामना गर्ने तयारी गरिरहेको नेताहरूले बताएका छन्।

यद्यपि, दलहरूका यी अभियानलाई कतिपयले आगामी निर्वाचनसम्म कार्यकर्ता टिकाउन गरिएको हल्ला मात्रै भएकोसमेत टिप्पणी गर्ने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्