महासमिति सदस्य निर्वाचनको चटारोमा कांग्रेस



काठमाडौं । नेपाली कांग्रेस महासमिति सदस्य चयनमा जुटेको छ । साउन २–८ को केन्द्रीय समिति बैठकले गरेको निर्णयअनुसार कांग्रेस महासमिति सदस्य चयनमा जुटेको हो । असोज मसान्तभित्र महासमिति सदस्यको निर्वाचन सक्नेगरी अघि बढेको कांग्रेसमा ४३ जिल्लाबाट प्रतिनिधि छनोट भइसकेका छन् । बाँकी ३४ जिल्लामा पार्टी जिल्ला समितिको बैठक बसेर महासमिति सदस्य छनोट गर्न जिल्ला तहका नेता कार्यकर्ताहरू जुटेका हुन् ।

पार्टीको माहधिवेशन भएको करिब दुई वर्षपछि महासमिति बैठक गर्न लागेको पार्टीले उक्त भेलामा सहभागिता जनाउने महासमिति सदस्य चयनसमेत भर्खर गर्दै छ । विधानअनुसार महाधिवेशन प्रतिनिधि छनोटलगत्तै महासमितिको मनोनयन हुने र महाधिवेशन प्रतिनिधिहरूमध्येबाट त्यही बखत महासमिति सदस्यको छनोट गर्नुपर्ने व्यवस्था छ । महाधिवेशन प्रतिनिधि जितेकाहरूबाट महासमिति सदस्यमा सर्वसहमत छनोट गर्ने यदि सर्वसहमत हुन नसके वडाबाटै छनोट भएर आएका क्षेत्रीय प्रतिनिधिहरूको मतदानबाट महासमिति सदस्य छनोट गर्नुपर्ने व्यवस्था कांग्रेसको विधानमा छ । तर, कांग्रेसले त्यसलाई व्यावहारिक तवरबाट लागु गर्न सकेको छैन ।

कोशी प्रदेशमा पाँचथर, इलाम, संखुुवासभा र धनकुटाबाट प्रतिनिधि छनोट भइसकेका छन् । मधेस प्रदेशमा सप्तरी र सिराहाबाट सबै प्रतिनिधि छनोट भएका छन् । वागमती प्रदेशका रसुवा, नुवाकोट, काभ्रेपलान्चोक, चितवन, भक्तपुर, मकवानपुरको निर्वाचन सकिँदा गण्डकी प्रदेशका गोरखा, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, स्याङ्जा, नवलपरासीमा पनि निर्वाचन सकिएको नेपाली कांग्रेसले जनाएको छ । लुम्बिनी प्रदेशका गुल्मी, रूकुम (पूर्व), रोल्पा, प्युठान, बाँके तथा कर्णाली प्रदेशका रूकुम (पश्चिम), डोल्पा, मुगु, हुम्ला, कालिकोट, जाजरकोट र सुर्खेतबाट पनि प्रतिनिधिको टुंगो लागिसकेको छ ।

सुदूरपश्चिम प्रदेशका बझाङ, अछाम, दार्चुला, बैतडी र डडेल्धुराको निर्वाचन भएको विवरण आइसकेको छ । त्यस्तै, तेह्रथुम, रौतहट, सिन्धुपाल्चोक, नवलपुर, रूपन्देही, बर्दिया, बाजुरामा पनि महासमिति सदस्यको निर्वाचन सम्पन्न भएको बताइएको छ । महासमितिको निर्वाचन भएको तथ्यांक आउन बाँकी रहेको ३४ जिल्लामध्ये केही जिल्लाको आंशिक र कतै सबै क्षेत्रमा निर्वाचन हुन बाँकी रहेको नेपाली कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिनुभयो । भोजपुर, झापा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, पर्सा, दोलखा, रामेछाप, लमजुङ, पर्वत, म्याग्दी, बाग्लुङ, कपिलवस्तु अर्घाखाँची, दैलेख, सिन्धुली, सल्यान, डोटी, कञ्चनपुर र जुम्लाको कुनै पनि निर्वाचन क्षेत्रबाट प्रतिनिधिको छनोट हुन सकेको छैन । सोही प्रयोजनका लागि ओखलढुंगाले आगामी २९ गते जिल्ला कार्यसम्पादन समितिको बैठक राखेको जिल्ला सभापति तेजेन्द्र खनालले बताउनुभयो ।

मोरङका सुनसरी, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, बारा, धादिङ, काठमाडौं, पाल्पा, दाङ, कैलालीमा समेत निर्वाचन नभएको कांग्रेसको तथ्यांकले देखाएको छ । कांग्रेसको विधानअनुसार क्षेत्रीय प्रतिनिधिले महाधिवेशन र महासमितिका प्रतिनिधि चयन गर्ने व्यवस्था छ । यसपटक कांग्रेसको महासमिति बैठकमा करिब २५ सय प्रतिनिधि सहभागी रहनेछन् । कांग्रेस महासमिति बैठकमा ११ जना सदस्य प्रतिनिधिसभाबाट निर्वाचित क्षेत्रबाट निर्वाचित भएर आउने व्यवस्था छ ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा दुई महिलासहित प्रत्यक्ष ७ जना, महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारू, मुस्लिम र पिछडिएका क्षेत्रबाट जनसंख्याको बनोटको आधारमा चार जना समानुपातिक समावेशी सिद्धान्तअनुसार निर्वाचित हुनेछन् । १६५ वटा निर्वाचन क्षेत्रबाट मात्रै १८ सय १५ महासमिति सदस्यको प्रतिनिधित्व हुनेछ । त्यसबाहेक केन्द्रीय कार्यसमितिका वर्तमान र निवर्तमान पदाधिकारी र सदस्य, एक कार्यकालका लागि निवर्तमान महासमिति सदस्य, भ्रातृ संस्था र जनसम्पर्क समितिबाट समेत महासमिति सदस्यको प्रतिनिधित्व हुने वैधानिक व्यवस्था छ ।

त्यस्तै, ३५ देशमा जनसम्पर्क समिति छन् । क्रियाशील सदस्यताका आधारमा एक जनादेखि बढीमा ६ जनासम्म महासमिति सदस्य चयन हुने छन् । भ्रातृ र शुभेच्छुक संस्थाको अधिवेशनबाट ३–३ जना महासमिति सदस्य चयन हुनेछन् । कांग्रेसका अहिले १३ भ्रातृ संस्था र १८ शुभेच्छुक संस्था छन् । यी सबै गरी २५ भन्दा बढी प्रतिनिधि महासमिति बैठकमा सहभागी हुने कांग्रेसले जनाएको छ ।

कांग्रेसको महासमितिले पार्टीको विधान, नीति नियम बनाउने काम गर्दछ । ०७८ मंसिरमा सम्पन्न १४औँ महाधिवेशनमा २५ जिल्लामा मात्र महासमिति सदस्यका लागि निर्वाचन भएको थियो । बाँकी जिल्लामा महाधिवेशन प्रतिनिधि मात्र चयन गरिएको थियो । प्रत्येक वर्ष महासमिति बैठक बोलाउनुपर्ने कांग्रेसको विधानमा उल्लेख भए पनि महाधिवेशनको दुई वर्ष बितिसक्दासमेत पार्टीले महासमिति सदस्य छनोट गर्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्