स्याङ्जा अस्पतालबाट ४० हजारले लिए उपचार



स्याङ्जा । जिल्ला अस्पताल स्याङ्जाबाट झण्डै ४० हजार नागरिकले स्वास्थ्य उपचार सेवा लिएका छन् । आर्थिक वर्ष २०७९÷०८० को अवधिमा अस्पतालबाट ३९ हजार ३ सय ७० जना नागरिकले उपचार सेवा लिएका हुन् । स्वास्थ्य उपचार गर्नेमा ओपिडी तर्फ ३३ हजार १ सय ३३ छन् भने ईमर्जेन्सीमा ५ हजार २ सय ९३ जनाले सेवा लिएको जिल्ला अस्पतालको तथ्याङ्कमा उल्लेख छ । अस्पतालबाट उपचार सेवा लिनेमा ६५ प्रतिशत अर्थात २५ हजार भन्द बढि स्वास्थ्य बीमा गरेका नागरिक छन् ।

यस अवघिमा १ सय ४८ जना महिलाले सुरक्षित गर्भपतन गएका छन् । ३ सय ९० महिलाले प्रसूति सेवा लिएकोमा ९४ महिलाको शल्यक्रिया मार्फत सुत्केरी गराएको अस्पतालले जनाएको छ । अस्पताल श्रोतका अनुसार १ सय २१ एचआईभी संक्रमितले नियमित रुपमा एआरटी प्रयोग र १५ जनाले मिर्गौला डायलासिस गदै आएका छन् । नवौं तहको अस्पताल प्रमुख र दुई मेडिकल अधिकृतसहित २५ जनाको स्थायी दरबन्दी रहेको अस्पताल २५ शैयाकै छ । २५ शैयाको अस्पताल भएपनि १५ शैयालाई थेग्ने जनशक्ति परिचालन गरेर सेवा प्रबाह गर्दै आएको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) रुक्मिना अधिकारीले बताउनुभयो ।

“जनसंख्या र सेवा क्षमता बृद्धि हुँदै गएपनि आवश्यक जनशक्ति नहुँदा अपेक्षित सेवा प्रदान गर्न असहज भएको छ ।” मेसु अधिकारीले भन्नुभयो, “अस्पतालमा स्थायी दरबन्दी २५ जनाको भएपनि १४ जनाले मात्रै सेवा प्रदान गर्न बाध्य छौं ।” अस्पतालमा करारमा १८, अस्पताल व्यवस्थापन समिति अन्तर्गत १८, प्रदेश सरकार मार्फत १६ र छात्रबृत्ति कारार तर्फ ८ जना स्वास्थ्यकर्मी खटिएको मेसु अधिकारीले जानकारी दिनुभयो । कुनै समय बिरामी नै नआउने अस्पतालमा पछिल्लो समयमा सेवा सुधारसँगै अहिले दैनिक १ सय ५० भन्दा बढी बिरामी आउने गरेको छन् । जिल्ला अस्पतालमा स्याङ्जामा कास्की, पर्वत र तनहुँका सर्वसाधारणले सेवा लिदै आएको अस्पताले जनाएको छ ।

अस्पतालले पछिल्लो समय गुणस्तरीय सेवा उपलब्ध गराउँदै आएको छ । एमजीडीपी, बहिरङ्ग, शल्यक्रिया, मिर्गौला डायलासिस, मातृशिशु तथा प्रसूति सेवा, आँखा, दाँत, भिडियो एक्सरे, स्वास्थ्य बीमा, अपाङ्गता सहायता कक्ष र एकद्वार सङ्कट व्यवस्थापन र चौबीसै घण्टा आकस्मिक सुविधा उपलब्ध गराउँदै आएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ईन्द्रबहादुर गोदारले बताउनुभयो । जिल्ला अस्पताल स्याङ्जाले ११ महिनापछि हालै मात्र अस्पताल प्रमुख (मेडिकल सुपरिटेन्डेन्ट) पाएको हो । पर्वत जिल्ला अस्पतालबाट सरुवा भई आउनुभएकी डा.रुक्मिना अधिकारीले कार्यभार सम्हालेपछि अस्पतालले सहज सेवा उपलब्ध गराउँदै आएको छ । ११ महिनासम्म अस्पतालमा कार्यरत वरिष्ठ नर्स कृष्णकुमारी कार्कीले निमित्त भई संचालन गर्दै आउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्