बझाङमा ६ दशमलव ३ रेक्टरको भूकम्प

भूकम्पमा परी १ को मृत्यु दर्जन बढी घाइते



बझाङ।

बझाङ केन्द्रबिन्दु भएर मंगलबार ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पका कारण यो समाचार तयार पार्दासम्म एक जनाको मृत्यु, १ बेपत्ता तथा १३ जना घाइते भएका छन् । बझाङमा भूकम्पपछि आएको पहिरोमा परेर जयपृथ्वी नगरपालिका–११ स्थित ओखरमा अन्दाजी ४० वर्षीया गुनमति धामीको मृत्यु भएकोे छ।

जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक योगेश खत्रीका अनुसार सिगास गाउँपालिका–२ धौलाडकी ३५ वर्षीया कलशा धामी र डिलाशैनी गाउँपालिका–२ रोपनबगडकी १० वर्षीया निरा भण्डारी भूकम्पमा परी घाइते भएका हुन् । घरनजिकै खरबारीमा खर काटिरहेको बेलामा भूकम्पका कारण सुख्खा पहिरोसँगै खसेको ढुंगाले लागेर घाइते भएका कलशाको टाउकोमा चोट लागेकोले गाजरी स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

त्यस्तै, विद्यालयबाट घर फर्किरहेको बेला भूकम्पका कारण सडकमाथिबाट खसेको ढुंगाले लागेर खुट्टामा चोट लागेकी निराको कोटपेटरा स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । भूकम्पका कारण जिल्लाका विभिन्न स्थानीय तहमा गरी १३ जना घाइतेको विवरण प्राप्त भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । ती घाइतेहरूको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको र उनीहरूको अवस्था सामान्य रहेको बताइएको छ ।

बझाङको तलकोट आसपास केन्द्र भएर ५ दशमलब ३ र ३ बजेर ६ मिनेट चैनपुर आसपास केन्द्र भएर ६ दशमलब ३ र दिउँसो ३ बजेर ४५ मिनेटमा बझाङको सुर्मा आसपास केन्द्रबिन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्पको धक्का बैतडीसहित सुदूरपश्चिमभरि नै गरिएको थियो । भूकम्पको धक्काले केहीबेर मानिसहरू घरबाहिर निस्केका थिए ।

भूकम्पले घर भत्किँदा सिगास गाउँपालिका ३, घकुराडी बस्ने रघुवीर साउदको घरमा क्षति पुगेको छ भने सिगासकै लेकलुपण माध्यमिक विद्यालयको भवनमा क्षति पुगेको छ । जिल्लाका अन्य ठाउँमा पनि भौतिक संरचनामा क्षति पुगेको र विवरण संकलनको काम भइरहेको प्रहरीले जनाएको छ । बझाङको चैनपुर केन्द्रबिन्दु भएर भूकम्पका कारण बझाङमा पहिरोसमेत खसेको छ । पहिरोका कारण जय पृथ्वीबहादुर राजमार्गको बझाङ खण्ड अवरुद्ध भएको बताइएको छ ।

भूकम्पकले बडिमालिका नगरपालिका सदरमुकाम मार्तडीस्थित त्रिवेणी बहुउद्देश्यीय सहकारी संस्थाको तीनतले घरलगायत नौवटा घर चर्केका छन् । बडिमालिका नगरपालिका–७ निवासी लीलाराज जोशीको ३ तले घर चर्केको छ । त्रिवेणी नगरपालिकाका गोरख ऐडीको घर, रत्न माविको भवन, खप्तड क्षेडेदह गाउँपालिकाको पूर्ववडा अध्यक्ष हर्क रावतको घर पूर्ण रूपमा क्षति भएको विवरण प्राप्त भएका छन् । भूकम्पको केन्द्र बिन्दु रहेको बझाङको मष्टा गाउँपालिकाको र तलकोट गाउँपालिकासँग जोडिएको गौमुल गाउँपालिकाको क्षतिकोे विवरण आउन बाँकी नै छ ।

उता कुण्डा भेगका उत्तरपूर्वी क्षेत्रमा सामान्य झट्काले घर चर्केका छन् । मानवीय क्षति नभएको हिमाली गाउँपालिका–४ का वडाध्यक्ष जोखबहादुर भण्डारीले बताउनुभयो । त्यसै गरी खप्तड छेडेदह गाउँपालिका–३ टुनिसैनका ५ घर भत्किएका छन् । त्रिवेणी नगरपालिकाको १ घरमा पूर्ण रुपमा क्षति भएको छ ।

भूकम्पले बुढिगंगा नगरपालिकाको महेन्द्र आधारभूत विद्यालयको भवन पनि पूर्ण रुपमा क्षति भएको छ । दिउँसोको समयमा भूकम्प गएकाले जिल्लामा मानविय क्षति भने नभएको बताइएको छ । जिल्ला प्रशासन कार्यालय बाजुराका अनुसार क्षति भएका ठाउँहरुमा उद्धार टोली पठाइएको छ । सबै ठाउँमा सुरक्षाकर्मी परिचालन गरिसकेको पनि प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय बाजुराले सार्वजनिक गरेको भूकम्प नोटमा बाजुराका १७ संरचनामा क्षति पु¥याएको उल्लेख छ । जिल्ला प्रहरी कार्यालय बाजुराको सञ्चार शाखाको भित्री पर्खाल चर्केको छ । दिउँसो २ बजेर ४० मिनेटपछि लगातार १० पटक पराकम्प गएपछि बाजुरालगायत बझाङ, डोटी, डोटी, अछाम, बैतडी, डडेलधुरा, दार्चुलाका नागरिक त्रसित छन् ।

सुदूरपश्चिम प्रदेशमा विगत ६ महिनाको अवधिमा १५ वटा भूकम्पको धक्का मापन भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गएको वैशाख महिनायता साना ठुला गरी सुदूरपश्चिममा चार म्याग्निच्युड माथिका १५ वटा भूकम्प मापन गरिएको छ ।

बाजुरामै केन्द्रबिन्दु बनाएर वैशाख १४ मा ४.९, वैशाख १५ मा ५.९, २१ मा ४.१ र वैशाख २८ मा ४.३, जेठ ८ गते ४.१ र जेठ २९ गते भूकम्प गएको थियो ।
यसै गरी सुदूरपश्चिमको बझाङलाई केन्द्रबिन्दु बनाएर जेठ १० गते ४.५ म्याग्निच्युडको भूकम्प गएको थियो । असार ५ गते दार्चुलालाई केन्द्रबिन्दु बनाएर ४.० रेक्टर स्केलको भूकम्प गएको केन्द्रको तथ्यांकले देखाएको छ । सुदूरपश्चिमबाहेक वैशाख १८ मा हुम्लालाई केन्द्रबिन्दु बनाएर ४.०, जेठ ७ गते रूकुम पूर्वमा ४.१, असार ८ गते लमजुङमा ४.०, असार २८ मा हुम्लामा ४.६, साउन ३ गते कास्कीलाई केन्द्रबिन्दु बनाएर ४.० म्याग्निच्युडको भूकम्प गएको थियो । यसै गरी भदौ १५ गते पूर्वी नेपालको भोजपुरलाई केन्द्रबिन्दु बनाएर ४.० र पाँचथरलाई केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएको मापन केन्द्रको तथ्यांकले देखाएको छ । यसरी हेर्दा पछिल्लो ६ महिनामा नेपालमा २२ वटा भूकम्पको धक्का गएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्