कुलुङ जातिका आदर्श व्यक्तित्व : इन्द्र होनित्ती कुलुङ



प्रकृतिको शाश्वत नियमानुसार हामीले एक न एक दिन चोला फेरेर जानै पर्छ । हो, प्रकृतिको यही नियमानुसार ‘नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघ (किरात कुलु गुसखोम)’ का महासचिव इन्द्र होनित्ती कुलुङ (बुबु–दाजु) ले पनि चाँडै चोला फेर्नुभयो । उहाँले चोलो फेरेको पनि थाहै नपाई एक वर्ष बितेछ । हुन त हिजोजस्तो लाग्छ, हामीमध्ये धेरैलाई इन्द्र होनित्ती बुबुले यति चाँडै हामी सबैलाई सधैँका लागि छाडेर जानुहोला भन्ने लागेको थिएन, कहिल्यै त्यस्तो सोचेका पनि थिएनौं । तैपनि उहाँले हामी सबैलाई सधैँका लागि छाडेर गएको, चोला फेरेको त शाश्वत सत्य हो । त्यसो भए तापनि हामीमध्ये धेरैलाई यो कुरो पत्याउन अभैm पनि गाह्रो भइरहेको छ । हो, त्यस्ता केही महानुभावहरुमध्येमा म पनि एक पर्छु । किनभने मलाई पनि कता–कता लागिरहेको छ कि इन्द्र बुबुले हामीलाई त्यसरी सधैँका लागि छाडेर जानुभएको होइन, छैन । उहाँ काम विशेषले गर्दा केही दिनका लागि अन्त कतै (काठमाडौंबाहिर) जानुभएको हो । तर, वास्तविकता त्यस्तो होइन, हामीमाझ उहाँ (इन्द्र बुबु) फर्केर आउन सक्नुहुन्न, आउनुहुन्न ।

इन्द्र होनित्ती कुलुङको जन्म इलामको कन्याम–७, भाङटारमा वि.सं. २०१५ पुस २९ गते भएको थियो । उहाँले मानवजीवन जति समयसम्म जिउनुभयो, एक असल मानवको रुपमा जिउने प्रयास गर्नुभयो । विशाल धर्तीमा माताको काखमा अहिलेसम्म मानवको चोला लिएर जे–जति मानिसहरु जन्मे, हुर्के र चोला फेरे, तीमध्ये जो–जति मानिसले इमान–जमानका साथ बाँचे, बाँच्ने प्रयास गरे, त्यसमध्येमा इन्द्र होनित्ती कुलुङ पनि पर्नुहुन्छ । तर, दुःखको कुरो के भने उहाँले हामीलाई अलि चाँडै (वि.सं. २०७९ भदौ २४ गतेका दिन) छाडेर जानुभयो, चोला फेरेर जानुभयो । हुन त उहाँले छाडेर गएको पनि के भन्नु र ? उहाँको नश्वर शरीरले विश्राम गरेको मात्रै हो । त्यसैले मलाई कताकति लाग्छ, अभैm पनि उहाँको शान्त मन र निश्चल आत्माले यतै कतै विचरण गरिरहेको छ, उहाँले हामीलाई हेरिरहनुुभएको छ, हामीलाई देखेर उहाँ मुसुक्क हाँसिरहनुभएको छ । ए निनामजी ! भनिरहनुभएको छ । हामीले उहाँको आत्मालाई देख्न नसकेको मात्रै न हो ! हुन त मैले यसो भनिरहँदा, यस्तो अनुभव गरेर लेखिरहँदा वास्तविकता के हो भने, वि.सं. २०७९ भदौ २७ गते उहाँको नश्वर शरीरलाई काठमाडौँ उपत्यकाको पशुपतिनाथ क्षेत्रको वनकालीको जंगलमा लगेर किराती कुलुङहरुको मूल्य–मान्यता र परम्परानुसार ‘सातीपुस’ (मृत्यु संस्कार गर्ने मानिस) लगाएर, विधि–विधान गरेर, खाल्डो खनेर गाडिसकेका छौं, सद्गत गरिसकेका छौं, यो पनि शाश्वत सत्य नै हो ।

वि.सं. २०१५ पुस २९ गतेका दिन मामा (आमा) पञ्चमाया बान्तावा (कुलुङ) र पापा (बुबा) डिल्लीमान होनित्ती कुलुङको सुपुत्रका रुपमा जन्मनुभएका इन्द्र होनित्ती कुलुङले ६४ वर्षको उमेरमा नै मानवरुपी चोलाबाट अर्को चोला फेर्नुभयो । उहाँ औसत नेपाली बाँच्ने आयुभन्दा केही कम समय बाँच्नुभयो । हामीले जान्नै पर्ने र सत्य कुरो के हो भने, ९९ दशमलव ९९ प्रतिशतभन्दा धेरै मानिस जति धेरै समयसम्म बाँचे पनि केवल अनाजको किरा हुन् र धर्तीलाई बोझ हुनका लागि मात्रै बाँचिरहेका छन् । इन्द्र होनित्ती कुलुङको हकमा भने त्यो कुरो लागू भएन । किनभने उहाँ आपूmले मानव चोला नफेर्दा (केही दिनअघि) सम्म देश, आफ्नो समुदाय र घर–परिवारका लागि केही न केही गरिरहनुभयो । उहाँले केही न केही गर्ने क्रममा नै कुलुङ समुदायलाई तिर्नै नस्कने गरी ठूलो गुण लगाउनुभएको छ । खास गरी उहाँले कुलुङ समुदायका लागि कसैले गर्न नसकेको काम गर्नुभएको छ । कसैले लगाउन नसकेको गुण लगाउनुभएको छ । कसैले दिन नसकेको योगदान दिनुभएको छ । यसो भन्दा अतिशय प्रशंसा गरेको ठहर्ला । त्यसैले इन्द्र बुबुका बारेमा मैले भन्नु, लेख्नु, बखान्नुभन्दा पनि कुलुङ समुदायको बसोबास रहेको क्ष्ोत्रका जनता, कुलुङ समुदायका अगुवाहरुका साथै अन्य समुदायका अगुवाहरुसँग इन्द्र बुबुबारे वास्तविकता के हो ? भनी जो–कोहीले बुभ्mन र खोज–अनुसन्धान गर्न सक्नुहुन्छ ।

उहाँको प्रार्थिव शरीरलाई काठमाडौंको गोकर्णेश्वर नगरपालिकास्थित सुन्ताखानमा बन्दै गरेको ‘किरात कुलु गुसखोम’ उपत्यका समितिको ‘रिदुम खिम’मा लगेर उहाँलाई आफ्नै घरसरह सम्झेर हाम्रो साझा घरको पवित्र सुक्तुलु (चुला) मा सातीपुस बोलाएर, विधि–विधान गरेर बिदा दिएका छौं । हामीलाई आशा छ, कुलुङ समुदायको परम्पराअनुसार सबै विधि–विधानहरु गरेर उहाँको नश्वर शरीरलाई बिदा दिएको हुनाले उहाँको आत्मा असाध्यै प्रसन्न भएको छ । उहाँले पोम्लालुङमा ज्यादै प्रसन्न ढंगले बास गरिरहनुभएको छ । इलामको कन्यामदेखि महाकुलुङ क्षेत्रको पोम्लालुङसम्म यात्रा गर्ने क्रममा ‘पोम्ला काउ’मा पानी पिउन पाउनु नै भयो होला । तिर्खा मेटिने गरी (जरुवा पानी) पानी अवश्य पनि पिउनुभयो होला । इन्द्र बुबुले इलामको कन्यामदेखि महाकुलुङ क्षेत्रको पोम्लालुङसम्म अन्तिम यात्रा गर्ने क्रममा भनेकै ठाउँमा आराम गर्न पाउनुभयो होला । हुन त उहाँले चोला नफेर्दै धेरै पटक महाकुलुङ क्षेत्रको यात्रा गर्नुभएको थियो । महाकुलुङ क्षेत्रका विद्यार्थी र युवाहरुलाई स्कूल–स्कूलमा गएर गाउँ–गाउँ गएर हामी कुलुङ समुदायको जातीय स्वपहिचानका सम्बन्धमा, हामी को हौं वा म को हुँ ? भन्ने आत्मनिर्णयको अधिकारका सम्बन्धमा, मानवअधिकारका सम्बन्धमा, कानुनी शिक्षा र चेतनाको सम्बन्धमा, औपचारिक शिक्षा के हो, ज्ञान के हो, विवेक के हो ? भन्ने सम्बन्धमा सकेसम्म धेरैलाई पढाउने, बुझाउने, सम्झाउने, शिक्षा दिने, ज्ञान बाँड्ने, चेतना पैmलाउने काममा समेत इन्द्र बुबु निःस्वार्थ भावले लाग्नुभएको थियो ।

इन्द्र बुबुले इलामको कन्यामदेखि सोलुखुम्बु जिल्लाको महाकुलुङ क्षेत्र, संखुवासभा जिल्लाको विभिन्न गाउँ, भोजपुर जिल्लाको प्रायः सबै कुलुङ बस्ती रहेका गाउँहरु, ताप्लेजुङ कुलुङ गाउँ हाङपाङ, तेह्रथुमको केराबारी, संगपु (पैपुङ), सिकिदेम, धनकुटा जिल्ला, खोटाङ जिल्ला, झापा जिल्लाको विभिन्न गाउँ, मोरङ जिल्लाका विभिन्न कुलुङ गाउँ–बस्तीहरु, सुनसरीको धरान, कोशीपारि, उदयपुर, कास्की आदि जिल्लामा पनि कुलुङ समुदायलाई संगठित गर्न र चेतना फेलाउने क्रममा उहाँ पुग्नुभएको थियो । त्यसमध्ये सोलुखुम्बु जिल्ला र संखुवासभा जिल्लाको अधिकांश गाउँ–टोलको त नाम र ती गाउँ–टोलका मान्छेहरुको नामसम्म पनि कण्ठस्थ पार्नुभएको थियो, इन्द्र बुबुले ।

कुलुङ समुदायको सघन बस्ती भएको गाउँमा पटक–पटकको बसाइ र भ्रमण गराइकै क्रममा कुलुङ पिता–पुर्खाहरुसँग पटक–पटक गरेको–भएको बातचित, कुराकानी, सूचना संकलन, सिकाइ, कुलुङ मातृभाषा, संस्कार, संस्कृति, भेषभूषा, जनचेतना, गरगहना, चाडपर्व, रीतिथिति, परम्परागत कानुन, चालचलन आदिको गहन अध्ययनपछि उहाँले ‘किराती कुलुङ’ नामक खँदिलो र गहकिलो किताब लेखेर जानुभएको छ । जुन किताब नाफाखोर र बजारिया हल्लाखल्लाविनै पनि दुई–दुईपटक प्रकाशित भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्