बालमन्दिरको जग्गा कौडीको भाउमा : बृहस्पति र राई स्कुलको नाममा विशाल ग्रुपकै रजगज



–विशाल ग्रुपको कब्जामा बृहस्पतिको ७३ प्रतिशत सेयर
–राई स्कुलमा पनि ७५ प्रतिशत सेयर
–राजनीतिक र प्रशासनिक सेटिङमा गलत धन्दा
–सरकारी निकाय निरीह

काठमाडौं । नेपाल बालसंगठनकी अध्यक्ष विद्या उपाध्याय न्यौपाने बालमन्दिर परिसरको २८ रोपनी ५ आना जग्गा बृहस्पति विद्या सदनको नाममा व्यापारिक घराना विशाल ग्रुपले ५२ वर्षका लागि कब्जा जमाएकोमा निकै असन्तुष्ट हुनुहुन्छ । केही दिनअघि उहाँले नेपाल समाचारपत्रसँगको कुराकानीमा विशाल ग्रुपले वि. सं. २१३२ सम्मका लागि सो जग्गामा कब्जा जमाएकाले अब त्यो जग्गा बाल संगठनकै नाममा फिर्ता हुन कठिन हुने भन्दै जग्गा गुम्ने चिन्ता व्यक्त गर्नुभएको थियो । उहाँले भन्नुभएको थियो– ‘अहिले पनि १०–१० तलाको भवन बनाउनु छ, सहयोग गर्नुप¥यो भन्दै उनीहरू आउँछन्, तर म त्यस्तो कार्य गर्न मिल्दैन भनिरहेको छु, । ’

शुरूमा बृहस्पति विद्या सदनले बाल संगठनको स्वामित्वमा रहेको ९ रोपनी जग्गा भाडामा लिएर शैक्षिक संस्था सञ्चालन गरेको थियो । त्यतिबेला गणेशमान सिंहका निकट मानिने पुरुषोत्तमराज जोशीको अगुवाईमा बृहस्पति विद्या सदनले शैक्षिक संस्था सञ्चालन गरिएको थियो । जब जोशीलगायत बृहस्पति विद्या सदनसँग आवद्ध भएका सञ्चालकहरू विशाल ग्रुपको फन्दामा पर्न थाले, त्यसपछि बालसंगठनको थप जग्गा कौडीको भाउमा कब्जा हुने क्रम बढेको बालसंगठनका हालका पदाधिकारीहरू बताउँछन् ।

बालसंगठनका पदाधिकारीहरूका अनुसार काठमाडौंको केन्द्रमा रहेको नक्सालस्थित बालसंगठनको जग्गा हत्याउन विशाल ग्रुपले निकै ठुलो सेटिङ मिलाउँदै आएको छ । विशाल ग्रुपले राजनीतिकदेखि प्रशासनिक सेटिङ मिलाएर बृहस्पति विद्या सदनलाई बालसंगठनको ९ रोपनी जग्गाबाट २८ रोपनी ५ आना जग्गा भाडामा लिन सफल भएको बालसंगठनका एक पदाधिकारीले बताए । बाल संगठनकी अध्यक्ष न्यौपाने स्वयम्ले पनि अहिले बृहस्पति विद्या सदन विशाल ग्रुपकै कब्जामा गएकाले २८ रोपनी ५ आना जग्गाको हर्ताकर्ता नै विशाल ग्रुप नै रहेको बताउनुभयो । उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘एउटा सम्झौता नसकिँदै अर्को सम्झौता गर्ने र ६० वर्षका लागि बिना प्रतिस्पर्धा एकैपटक सम्झौता गर्ने कार्य सानोतिनो सेटिङबाट हँुदैन, यहाँ ठुलै सेटिङ भएको छ र यसविरुद्ध लड्न ठुलै तागत चाहिन्छ ।’

बालसंगठनका अनुसार अहिले बृहस्पति विद्या सदनमाथि विशाल ग्रुपले पूर्ण रूपमा हालीमुहाली जमाएको छ । विभिन्न कागजातको अध्ययन गर्दा बृहस्पति विद्या सदनको सेयरमा समेत विशाल ग्रुपकै वर्चस्व रहेको देखिएको छ । जसअनुसार बृहस्पतिमा रहेका १४ जना सेयर सदस्यमध्ये अधिकांश विशाल ग्रुपकै सदस्यहरू रहेको पाइएको छ ।

वि.सं. २०६९ वैशाख ३ गतेसम्म बृहस्पतिमा पुरुषोत्तमराज जोशी, मुरारीनिधि तिवारी, प्रवीणराज जोशी, प्रज्जवलराज जोशी र मिनुकुमारी जोशीसमेत ५ जनाको लगानी थियो । त्यसपछि भने क्रमशः विशाल ग्रु्पका अग्रवाल परिवारको लगानी भएको देखिन्छ । अहिले आएर त ५० प्रतिशतभन्दा बढी सेयर अग्रवाल परिवारकै रहेको पाइएको छ ।

विभिन्न स्रोतका अनुसार वि.सं. २०७४ जेठ ७ गतेदेखि बृहस्पतिमा लगानीकर्ताका रूपमा अनुज अग्रवाल, अर्पित अग्रवाल, श्रद्धा संघई र ग्रिनफिल्ड इंक प्रालि प्रवेश भएको देखिन्छ ।

अनुज र अर्पित विशाल ग्रुपका निर्देशक हुन् भने ग्रिनफिल्ड नामक कम्पनीका अधिकांश सदस्य विशाल ग्रुपकै सदस्यहरू रहेको पाइन्छ । यसै गरी वि.सं. २०७८ सम्म आउँदा महेशकुमार सिंघानिया, सञ्जयकुमार मोर, सञ्जय अग्रवाल, विशाल अग्रवाल, निकुञ्ज अग्रवाल, श्यामसुन्दर कँडेल, सन्दिपा थापा, वसुन्धरा श्रेष्ठ, समीर थापा, सुनिल जाकेबञ्जा पनि लगानीकर्ताका रूपमा देखिएका छन् । यीमध्ये विशाल र निकुञ्ज पनि विशाल ग्रुपकै निर्देशकको रूपमा रहेका छन् ।

वृहस्पति विद्या सदनको सेयर लागत विश्लेषण गर्दा ५८ प्रतिशत सेयर विशाल गु््रपकै हातमा रहेको देखिन्छ । यसमा श्रद्धा संघईको नाममा रहेको १५ प्रतिशत सेयरसमेत जोड्ने हो भने विशाल ग्रुपको कब्जामा ७३ प्रतिशत सेयर रहेको देखिन्छ ।

बृहस्पति विद्या सदन सञ्चालकहरूको हामीलाई प्राप्त सेयर विवरण अनुसार सबैभन्दा बढी सेयर विशाल ग्र्ुपकै निर्देशक अनुज अग्रवालको नाममा रहेको छ । अनुजको सेयरसंख्या ३ लाख ६१ हजार २ सय ३५ र सेयर रकम ३ करोड ६१ लख १२ हजार ५ सय रुपियाँ रहेको छ ।

त्यसपछि बढी सेयर श्रद्धा संघईको देखिन्छ । जसको सेयर संख्या २ लाख ५७ हजार ९ सय २५ र सेयर रकम २ करोड ५७ लाख ९२ हजार ५ रुपियाँ रहेको छ । श्रद्धा विशाल ग्रुपमै आवद्ध रहेको बताइएको छ । यसै गरी त्यसपछि सबैभन्दा बढी सेयर विशाल गु्रपकै निर्देशकद्वय विशाल अग्रवाल र निकुञ्ज अग्रवालको रहेको छ । उनीहरू दुवैको छुटाछुटै गरी सेयर संख्या २ लाख ३६ हजार ७ सय ५० र सेयर रकम २ करोड २३ लाख ७५ हजार रुपियाँ रहेको छ ।

विशाल ग्रुपकै अर्का निर्देशक अर्पित अग्रवालको सेयर संख्या १ लाख १२ हजार १ सय रहेको छ भने सेयर रकम १ करोड १२ लाख १० हजार रहेको देखिन्छ । यस्तै, वृहस्पति विद्या सदनमा विशाल ग्रुपकै मातहत रहेको ग्रिन फिल्ड इंक प्रालिको नाममा सेयर संख्या ५० हजार १ सय र सेयर रकम ५० लाख १० हजार, महेशकुमार सिंघानियाँको सेयर संख्या ४२ हजार ३ सय ६ र सेयर रकम ४२ लाख ३० हजार ६ सय, सञ्जयकुमार मोरको सेयर संख्या ७ हजार ४२ र सेयर रकम ७ लाख ४ हजार २ सय, सञ्जय अग्रवालको सेयर संख्या ७ हजार ४२ र सेयर रकम ७ लाख ४ हजार २ सय रहेको छ ।

राई स्कुलको सेयर पनि विशाल ग्रुपकै कब्जामा

विशाल ग्रुपले वर्चस्व जमाएको बृहस्पति विद्या सदनले आपूmले प्रयोग गर्न बालसंगठनसँग सम्झौता गरेको जग्गा सबलिजमा राई स्कुललाई दिएको छ । जबकि, यो कानुनविपरीत हो । बृहस्पतिले बाल संगठनबाट लिजमा लिएको जग्गामध्ये ९ रोपनी जग्गा भारतको केन्द्रीय माध्यमिक शिक्षा बोर्डबाट सम्बन्धन प्राप्त ‘राई स्कुल’लाई ‘सबलिज’मा दिएको छ ।

वि.सं.२०७२ साउन ३ गते भएको पूरक सम्झौतापछि बृहस्पतिले राई स्कुललाई सबलिजमा दिएको हो । तर, यसमा पनि विशाल ग्रुपकै सदस्यहरूको सेयर संख्या अत्यधिक छ । बृहस्पति र राई स्कुलबीच वि.सं. २०७६ कात्तिक १ गते सम्झौता भएको थियो । सो सम्झौता ५१ वर्षका लागि भएको छ । राई स्कुलमा प्रमुख लगानी विशाल ग्रुपकै निर्देशकहरू अनुज अग्रवाल, विशाल अग्रवाल, निकुञ्ज अग्रवाल, अर्पित अग्रवाल तथा ग्रिन फिल्ड इंक प्रालिकै रहेको छ । उनीहरूको जम्मा सेयर ४८.९२ प्रतिशत रहेको छ भने श्रद्धा संघइको जोड्दा विशाल ग्रुपकै वर्चस्व देखिन्छ ।

राई स्कुलमा अनुज अग्रवालको सेयर संख्या ५० हजार ३ सय ६२ रहेको छ भने विशाल अग्रवालको सेयर संख्या ३३ हजार ६ सय ६ रहेको छ । यस्तै, निकुञ्ज अग्रवालको पनि सेयर संख्या ३३ हजार ६ सय ६ नै रहेको छ । यस्तै, विशाल ग्रुप मातहत नै रहेको ग्रीनफिल्ड इंक प्रालिको नाममा सेयर संख्या १ सय रहेको छ भने अर्पित अग्रवालको नाममा सेयर संख्या १६ हजार ८ सय ७५ रहेको छ । सबैको जोड्दा राई स्कुलमा पनि विशाल ग्रुपले नै ७६ प्रतिशतभन्दा बढीमा कब्जा जमाएको छ ।

यसरी विशाल ग्रुपले बृहस्पति विद्या सदन र राई स्कुलको नाममा मोजमस्ती गरेर बालमान्दिको जग्गा कब्जा जमाइरहँदासमेत सरकारी निकायले छानबिनको लागि कुनै पहल गर्न सकेको छैन । सरकारकै निकाय निरीह बन्दा र उल्टो सेटिङमा लाग्दा बालसंगठनको नाममा रहेको मूल्यवान जग्गा कौडीको भाउमा गएको बालमन्दिरका हालका पदाधिकारी बताउँछन् ।

अनियमित खालका सम्झौता रद्ध गर्न लड्छौं : विद्या उपाध्याय न्यौपाने अध्यक्ष, नेपाल बालसंगठन

हामी विधिअनुसार चल्न चाहन्छौं, पहिला भएका गलत खालका सम्झौता मान्य छैन, एउटै व्यक्ति तथा समूहलाई बिनाप्रतिस्पर्धा पचासांै वर्षसम्म जग्गा दिनु अनियमित कार्य हो त्यसका विरुद्ध हामी लड्छांै र अनियमित खालका सम्झौता रद्ध गराएरै छोड्छौं ।

वडामा कुनै उजुरी परेको छैन : भरतलाल श्रेष्ठ वडाअध्यक्ष, काठमाडौं महानगरपालिका– १

विशाल गु्रपलाई २८ रोपनी ५ आना जग्गा लिजमा दिइए पनि बाल संगठनलाई अनाथ, बालबालिका हेरचार गर्न कठिनाई भइरहेको, भवन जीर्ण र क्षतिग्रस्त बन्दै गएको विषय काठमाडौं महानगरपालिकामा पनि ध्यानाकर्षण गराएका थियौं । महानगरपालिकामा पनि बेलाबखत यस विषयमा छलफल हु“दै आएको छ । यसअनुरूप महानगरपालिकाले पनि बाल संगठन सञ्चालन गर्न केही बजेट विनियोजित गर्दै आएको छ ।

विशाल गु्रपले जग्गा लिजमा लिएको विषयमा विवादास्पद भनी सञ्चारमाध्यमा आएझंै आजसम्म कसैले पनि वडामा त्यसबारे कुनै लिखित उजुरी वा मौखिक गुनासोसम्म पनि पोख्न आएको छैन । विशाल गु्रपले सञ्चालन गरिरहेको बृहस्पति विद्या सदनले बाल संगठनसँग गरेको सम्झौताविपरीत संरचना निर्माण गरेको र त्यसबाट साँच्चिकै मर्का परेको छ भने, वा सम्झौताअनुरूप काम भइरहेको छैन भने लिखित रूपमा उजुरी आएमा वडाले आफ्नो क्षेत्राधिकारअन्तर्गत यस विषय थप कामकारबाही अघि बढाउने नै छ ।

बालमन्दिरको संरक्षण गर्नु तीनै तहको सरकारको जिम्मेवारी : गगन थापा सांसद, क्षेत्रनम्बर ४, काठमाडौं (बालमन्दिर रहेको क्षेत्र)

बालमन्दिर एउटा ऐतिहासिक विद्याको मन्दिर हो । यी र यस्ता इतिहास बोकेका संस्थाको संरक्षण गर्न र नियमित सञ्चालनमा ल्याउन स्थानीय, प्रदेश र संघीय तीनै तहका सरकारको जिम्मेवारी रहन्छ । मेरो क्षेत्रमा पर्ने भएकाले मेरो बढी जिम्मेवारी होला, म यस विषयमा संवेदनशील छु । यो संस्थाको उचित संरक्षण संवद्र्धन र नियमित चालु गर्ने सवालमा क्षेत्रनम्बर ४ को सांसदको हैसियतले गर्नुपर्ने उपायहरू मैले खोज्नै पर्छ ।

सरकारी संस्थाको सम्पत्ति कुनै व्यापारी वा अन्य निकायहरूले अनधिकृत रूपमा प्रयोग गरेको भएर नियमअनुसार कारबाहीको दायरामा ल्याउनै पर्छ । त्यो काम सरकारको हो । सरकारले बाल संगठनअन्र्तगत रहेका देशैभरका बालमन्दिरहरूको चल अचल सम्पत्तिको अद्यावधिक र त्यसको संरक्षणमा नीतिगत योजना नै बनाएर लानुपर्छ । यो बालमन्दिरको जग्गा भाडामा दिएर सम्बन्धित संस्थालाई के कति फाइदा पुगेको छ, त्यसको अध्ययन हुनु जरुरी छ ।

यो पनि पढ्नुहोस्

बालबालिकाको रोदनभित्र विशाल ग्रुपको मस्ती

प्रतिक्रिया दिनुहोस्