बिपीको राजनीतिक चिन्तनबाट नै मुलुकलाई समृद्ध बनाउँछौँ : सभापति देउवा



बि. पी. स्मृति सामुदायिक सहकारी अस्पताल, बसुन्धराको १४ औँ वार्षिक साधारण सभामा शनिबार सहभागी प्रधानमन्त्री शेरबहादुर देउवा । तस्वीर ः रोशन सापकोटा, रासस

काठमाडौँ। 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिपीको राजनीतिक चिन्तनबाट नै मुलुकलाई समृद्ध बनाउने लक्ष्य लिएको बताएका छन् ।

आइतबार कांग्रेस संस्थापक नेता बिपी कोइरालाको ११० औं जन्म जयन्तीका अवसरमा पार्टी कार्यालय सानेपामा आयोजित बिपी साहित्य महोत्सव कार्यक्रममा देउवाले बिपीको राजनीतिक चिन्तनले देखाएको मार्गमै आफूहरू हिँडिरहेको बताएका हुन् । उनले आजको युवा पुस्तालाई पनि बिपीका बारेमा गहिरो ज्ञान बाँड्न महोत्सव महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे । सभापति देउवाले नेपालका सबै राजनैतिक दलहरूले कुनै न कुनै दृष्टिकोणले आज पनि बिपीको विचारमा आकर्षित मात्रै नभई अनुकरण पनि गर्दै आएको दाबी गरे । उनले आफ्नो राजनीतिक प्रेरणाको स्रोत बिपी नै रहेको बताए । उनले आज नेपाली काँग्रेस बहुदलीय संसदीय शासन प्रणाली र प्रजातान्त्रिक समाजवादी अर्थ व्यवस्थालाई आफ्नो मूल सिद्धान्त र आदर्श कायम गरेर अघि बढेको बताए । उनले समयको अन्तरालसँगै आज मुलुक पनि बिपीले देखाएको प्रणालीमा अघि बढेको तर विभिन्न कारणले स्थायित्व नपाएको गुनासो गरे ।

सभापति देउवाले नेपाल समाजवाद उन्मुख राष्ट्र भनेर संविधानमानै लेखेको भएपनि यसको मर्म अनुसार अभ्यास गर्न नपाएको बताए । उनले नागरिकका कैयौँ अभाव, समस्या, असन्तुष्टि र समाजमा देखिएका विभेद विसंगतिलाई बिपीको आर्थिक, सामाजिक तथा धार्मिक सांस्कृतिक एवं राजनीतिक विचारले समाधान दिनसक्छ भन्ने दृढ विश्वास हुँदाहुँदै पनि उनको विचारलाई हरेक पुस्ताका नागरिकहरू बीच पर्याप्त बहस र छलफल गराउन नसक्नु आफूहरूको कमजोरी रहेको बताए ।

सभापति देउवाले बिपी राष्ट्रिय मात्रै नभई अन्तर्राष्ट्रिय तहको नेता, राजनैतिक विचारक र साहित्यकार भएको बताए ।सभापति देउवाले अन्तर्राष्ट्रिय सम्बन्धका मामिलामा बिपी सबैको सह–अस्तित्व र सम्मानलाई उच्च मान्यतामा राख्दै राज्यको सीमा र सार्वभैमिकताका लागि सबै छिमेकी मित्रराष्ट्रका समकक्षीहरुसँग मित्रवत ढंगले स्वाभिमानका साथ आफ्नो मुलुकका पक्षमा बोल्नुहुने व्यक्ति रहेको बताए ।

बिपी कोइरालाको ११० औं जन्मजयन्तीको अवसरमा ११० वटा बेलुन उडाएर बिपी जयन्ती मनाइएको छ । बीपीका साहित्य, राजनीति, दर्शन, कूटनीति, अर्थ राजनीति, विदेशनीतिका विषयमा बहस हुनेछ । महोत्सवमा १५ सेसन चल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्