दिल्लीको दौडधूप



हिजोआज दिल्ली सिँगारिएको छ, नयाँ दुलहीझैँ होइन, युरोप र अमेरिकाको स्टान्डर्डमा । उत्तर प्रदेशको दिल्ली, नोयडा आज धपक्क बलेको छ, झिलिमिली छ, जताततै उत्साह छ, उमंग छ । नेतृत्वमा मात्र होइन, जनतामा पनि हाँसो छ, खुसी छ । नजिकै पर्ने हाम्रो दौडधूप तीव्र छ त्यहाँ तर हाम्रो आँखामा गहभरि आँसु छ ।

किन होला ? १२ बुँदे मात्रै होइन, हाम्रा नेताले बस्–उठ् उतै गरे, पान खान सिके, पत्रिका चलाउन पनि, १० वर्ष यहाँ देशमा रक्ताम्ये भयो, कर्ताहरु उतै ज्वाइँसाब बने । द्वापर युगमा दिल्ली हस्तिनापुर बिछट्ट चर्चामा आयो, त्रेतामा रामअवतार त्यहीँ नजिक, सत्ययुगको ध्रुव तपस्थली, के छैन त्यहाँ ? अझैँ पनि नैमिषारण्य, कुरुक्षेत्र, सरयु, अयोध्या, वृन्दावन, हरिद्वार, चर्चा जति गरे पनि कम हुन्छ ।

संस्कृतका शव्दावली हामी मेट्दैछौँ, दिल्लीले विज्ञानसँग जोडेर संस्कृतका शब्द हाल्दै कहिले चन्द्रयान–३ हुँदै दक्षिण चन्द्र धरातलमा मुस्कुराउने अवसर पाउँदै छ त कहिले आगो डल्ला भनिने सूर्यतिर यान पठाई आदित्य एल–१ भन्दै मुस्कुराइरहेछ । कहिले मंगल ग्रहसम्म उसले आफ्नो पहुँचको प्रक्षेपण गरिसकेको छ । आज धपक्कै बलेको दिल्ली जी ट्वान्टीका कारण सिँगारिएको देख्दा केही नलेखेर बस्नै सकिएन ।

समग्रमा पुराणले उल्लेख गरेको इन्द्रको अलकापुरीभन्दा कम छैन दिल्ली । अमेरिकी स्टान्डर्डमा बसेका राष्ट्रपतिलाई आफ्नो होटलमा सुताउँदै छ दिल्लीले, मात्रै होइन, एक नम्बरको उचाइ छोएको अब्बल चीनका राष्ट्रपतिका लागि खाने र सुत्ने आरामदायी कोठा सजाइरहेछ दिल्लीले । अझ यति मात्रै होइन, कुनै बेला २ सय वर्ष जसको मातहतमा बस्यो उसैका प्रधानमन्त्री बेलायतलाई भव्य स्वागत गर्दै बेलायती रसले रसास्वादन पनि गर्दै छ दिल्ली ।

३ दर्जन बढी विश्वका त्यसमा पनि सम्भ्रान्तमा गनिएका पाहुनाहरुले दिल्लीको आतिथ्यता ग्रहण गर्दै छन् । सामान्यतया मानिस यसकारण अरुकोमा पाहुना लाग्न जान्छ जब आफ्नो घरको नर्मल खानाभन्दा बढी मीठो पाइयोस्, बस्ने, सुत्ने आरामको शैली आफ्नोभन्दा बढी नै पाइयोस् सुविधा, तबमात्रै कसैकोमा पाहुना लाग्न गइने हो ।

नीतिले भनेको छ– ‘अभ्यागत मीठो बोली गुण दोष कथा जहाँ, हुँदैन आपूm जाँदामा किन जाने हरे त्यहाँ ।’ साँच्चै अभ्यागतका लागि वर्षदिनसम्मको तयारीमा दिल्लीले जे गर्दै छ त्यो भव्य–सभ्यमात्रै होइन, दिव्य पनि हुँदै छ । त्यसैले पंक्तिकारले यसलाई स्वर्गको आतिथ्यता भन्न रुचाएको छ ।

भारतको राष्ट्रपति भवनमात्रै टल्केको होइन, अहिले जनजनले सेल्फी हान्दै छन् जी ट्वान्टी सम्मेलनमा । त्यहाँकोे आकर्षण, खुलेर गरिएको डेकोरेसन, अथाह रकमको लगानी, बत्तीको कलात्मकता, युग सम्झाउने वैदिक र ऐतिहासिक विषयवस्तुहरुको डेकोरेसन, हात्ती, सिंहमात्रै नभएर पूर्वीय धर्म दर्शन सिकाउने पूmल–मालाहरुको चमक, सेरामिकका सजावट, प्रकुति झल्कने विषयदेखि आधुनिकता झल्कने सबै सामग्रीले सजावट छ दिल्ली ।

यद्यपि ठूला कार्यमा केही असहज पनि होला देशवासीलाई अनि सेप्टेम्बर ८, ९ र १० दिल्ली बन्द पनि हुँदै छ । सुरक्षाको चर्को मामला विश्वकै नेताहरुको सुरक्षा कम चुनौतीपूर्ण नहोला, केही इमर्जेन्सीका सवारी र रेलबाहेक अन्य सवारी विरलै चल्छन्, त्यति बेला त्यहाँ ।ललित होटल  सिँगारिएको छ, विश्वकै धनी राष्ट्राध्यक्षका लागि । १८ अन्य होटल र गुरुग्राम त्यस्तै झकिझकाउको छ । होटल साङ्ग्रिलामा ऋषि सुनक सुत्नेछन्, युकेको प्रम भएपछि दिल्ली यात्रा उनको पहिलो हो ।

बाटाघाटाहरुमा के देखिन्न त्यहाँ ? स्वतन्त्र सेनानी शहीद भगत सिंहको तस्वीर, राष्ट्र निर्माता गान्धी, नोयडाको चमक, औद्योगिक झलक, झाँसीकी रानी लक्ष्मी बाई भनिसाध्य छैन । भारतले भनेको छ– राष्ट्रमेव जयते । अर्को स्लोगन पनि छ– बसुधैव कुटुम्बकम् । एयरपोर्टदेखि सम्मेलन हल र निवास होटल अनि बाटाघाटा सजिएको देख्दा लाग्छ ईष्र्या अरुलाई पनि । सौन्दर्यीकरण हेर्दा पैसाको बाढी बगेको छ होइन, धन भएर मन नहुने पनि कति हुन्छन् संसारमा । चन्द्रयानमा सफलता पाई सूर्यतिर पनि आदित्य यान पठाइसकेको दिल्ली मुस्कुराएको थियो दक्षिण अफ्रिकाको जोहन्सवर्गको ब्रिक्स सम्मेलनमै । र, मोदीले भनेका थिए, यो मानवको विजय हो भनेर ।

चन्द्रमाबाटै लाइभ देखाइएको चन्द्रयानका विषयमा मोदी मुस्कुराएर विश्वलाई सम्बोधन गर्दै थिए, कत्रो गौरव जी ट्वान्टी सम्मेलनको आयोजक राष्ट्र हुन पाउँदा त्यो देशलाई । ४० देशको प्रतिनिधित्व हुने यो सम्मेलनको तयारी १ वर्षदेखि नै गरेको हो उसले । आज विश्वले यसको कामलाई छताछुल्लरुपमा हेरिरहेको छ ।

दीपावलीले झलमल्ल भएको दिल्लीको नक्सा नै बदलिएको छ, राजस्थानको मार्बल, पार्क, प्रकृति, म्युजियमको फ्लेवर, रोशनीको अविरल वर्षा हुँदै छ दिल्लीमा । भारतीय तमाम संस्कृति उर्लिएको छ अहिले, अरुलाई देखाउन, कूटनीतिक सफलता त हुँदै होला, जहाँ जान्छन् मोदी खुसी छन्, खुसी गराउँछन्, उनको त्यो चेहरा कहिल्यै दुःखी देखिन्न र उनलाई भन्नुपर्छ आध्यात्मिक व्यक्ति हुन्, योग गर्छन्, ध्यान गर्छन्, गीता पढ्छन्, पश्चिमा देशमा बस्दा पानी, फलफूल मात्रै खाए रे पनि भनिएको थियो ।

पाहुना पुग्नासाथै भव्यरुपमा स्वागतमा सजिएका छन् हरस्थानहरु । सुत्ने कोटा उस्तै छ, व्यक्तिगत खानेकुरा त्यस्तै, अचम्म त के छ भने मिलेटको पकौडा, रोटी, दिव्य लाग्ने फलफूलहरु जिब्रो नै रसिलो हेर्दैमा, के बयान गर्ने ? भारतीय झल्को स्थानीय उत्पादनका सामान, त्यसो त एसियन पूmड, वेस्टर्न फूड, चिनियाँ खाना हरचिजले सजिएको छ त्यहाँ । दिल्लीको प्रगति मैदानमात्रै नभएर पूरै भारत सजिएको संकेत छ ।

दिल्लीमा ३ करोड जनता बस्छन् । कसरी म्यानेज गरिँदै छ होला ? हामीले के सिक्ने त्यहाँबाट ? कि खालि राजनीतिको झोला भिर्न मात्र हो ? कति वर्ष भयो त्यहाँको रहनसहन थाहा पाएको ? कतिपल्ट भयो त्यहाँ जातेआते गरेको ? मन्त्रदान शिक्षादीक्षा सबै त्यतैतिरबाट होइन, यहाँको संसद्लाई सम्बोधन गर्दा मोदीले ऋषिमन हुन् भनिएको कुरा कति लागू भयो ? अनि रातरात राखिरहन सक्ने सी जिन पिङ यहाँ ३ घण्टा बस्दा सुशासनको अर्ति–उपदेश पनि त दिएका थिए, त्यो पनि हामीले झ्वाम गरेका छौँ ।

यहाँ के भएन काण्डहरु ? के देखिँदै छ देशमा काला बादलहरु ? कस्तो छ यहाँको प्रगति ? ५ मिनेट पानी आए बाटो डुब्ने अनि महानगर प्रमुखले किन कटाक्ष गरे होलान् सिंहदरबारलाई ? हो, दिल्लीमा पनि प्रदेश प्रमुखहरु बस्ने आवास छ तर त्यहाँको प्रदेश कति टाढा छ अनि उत्तर प्रदेश विहारमा २५ करोड जनतामा एक प्रदेश छ कि ? हामीले के सिक्यौँ त भागशान्ति खानबाहेक ?
भारत हाम्रो अभिन्न र छिमेकी देश हो ।

त्यहाँको अर्थतन्त्रले यहाँको अर्थतन्त्रलाई सीधै असर पर्नु स्वाभाविक हो । भारतीय अर्थमन्त्री निर्मला सीतारमणबाट चालू वर्ष सन् २०२३ का लागि लोकसभामा बजेट प्रस्तुत भयो । निजको यो पाँचौँ लगातारको प्रस्तुत बजेट थियो भने प्रम मोदी सरकारको यो बजेट एघारौँ हो र उनको दोस्रो कार्यकालको अन्तिम पूर्ण बजेट पनि ।

आगामी मे, २०२४ मा त्यहाँ लोकसभाको चुनाव हुँदै छ । हालको बजेटमा ७ बुँदामा बढी जोड दिइएकोले भाजपाको आफ्नो दैवी स्लोगन, बजेटलाई सप्तर्षि आँखा पनि भनिएको छ । सहभागितासहितको बजेट, विपन्नलाई प्राथमिकता, कृषिका लागि डिजिटल पूर्वाधारलाई जोड, सीमान्तकृत समूहसम्मको पहुँच, सम्भावनाको पूर्ण उपयोग, दिगो ऊर्जा अभियान, युवामैत्री वित्तीय क्षेत्र, प्रधानमन्त्री गरिब कल्याण योजना अन्तर्गत केन्द्र सरकारको भारु २ लाख करोडको भारवहन क्षमता, अन्त्योदय योजनान्तर्गत गरिबलाई निःशुल्क खाद्यान्न उपलब्ध गराउने समयावधि एक वर्षको थपजस्ता विषयहरुले भारतीय बजेट यसपालिका लागि पनि लोकप्रिय बनेको छ ।

अस्ति जनै पूर्णिमाको अवसर पारेर भारु २ सय ग्यास प्रतिसिलिन्डर मूल्य घटायो उसले, यहाँ एकैचोटि २३५ बढाइयो, कस्तो जनता मार्ने लोकतन्त्र हाम्रो ? संविधान दिवसको पूर्वसन्ध्यामा भन्न पनि घिन लाग्छ । आपूmसुखी र समृद्धको चाहना राख्दै गर्दा नजिकका छिमेकीलाई पनि चिढ्याउनुहुन्न भन्ने थाहा छ भारतलाई र विगतमा जस्तै हामीलाई पनि अनुदान दिने बजेट आयो । विगत वर्षको बजेटले नेपाललाई दिइने अनुदान ७ अर्ब ५० करोड भारु, अर्थात् नेरु १२ अर्ब भनियो, संशोधन गरेर ४ अर्ब ५० करोड गराएको थियो ।

यसमा यस वर्ष उसले हामीलाई २ अर्ब थपेको छ । सबैभन्दा धेरै उसले भुटानलाई दिएको छ २४ अर्ब । अफगानीस्तान र बंगलादेशलाई २–२ अर्ब, श्रीलंकालाई डेढ अर्ब र माल्दिभ्सलाई पनि । अहिलेको भारतको कुल बजेट ४५ लाख करोड हो, अर्थात् ४ नील ५० खर्ब ३० अर्ब ९७ करोड । यसमा पूँजीगत खर्च ७३ लाख करोडको छ र सुरक्षा खर्च छ ५ खर्ब ९४ अर्ब । त्यसमा राजस्वबाट उसले २३ः३ लाख करोड व्यवस्थापन गर्ने र अपुगमा ऋण, अनुदान, गैरराजस्व संकलन गर्ने भनेको छ ।

गतवर्ष उसको आर्थिक वृद्धि दर ७ प्रतिशत भनिरहँदा यस वर्ष उसले आफ्नो आर्थिक वृद्धिको लक्ष्य ६ः५ प्रतिशतको छ । मोदी कार्यकालको एक दशकमा भारतमा प्रतिव्यक्ति आय दोब्बरले बढेर १ः९७ लाख पुगिसकेको छ भने विश्वको पाँचौँ अर्थतन्त्रको देश भइसकेको छ र चौथो अब्बल दर्जामा जाने प्रयत्न गर्दै छ ।

हाम्रो अर्थतन्त्र उतैको भर छ । कनेक्टिभिटी, सडक, रेल एवं जल र हवाईमार्गका लागि उसले व्यापक लगानी गर्ने गरेको छ भने पूर्वाधारमा नडराईकन खर्च गर्न सकेको छ । र त भारत उदीयमान अर्थतन्त्रको देश भएको हो । आन्तरिक र बाह्य व्यवसाय केन्द्रित, स्वनिर्भर छ ऊ । यसको लाभ हामीले लिन सकेनौँ ।

भारतले घरमै बसी–बसी व्यवसाय खोल्न सक्ने व्यवस्था मिलाएको छ भने स्टार्टअपको प्रोत्साहनलाई ४ वर्ष थप गरेको छ । भन्सार दर घटाएको छ, डिजिटल करेन्सीलाई मान्यता दिएको छ । धेरै वस्तुमा कर घटाएको र सहुलियत बढाएको छ । कृषिक्षेत्रमा अनुदान बढाएको छ । यसै पालि पनि उसले आयकर छुटको सीमालाई ५ लाखबाट बढाएर ७ लाख पु¥याएको छ । सुन र प्लेटिनमबाट बनेका वस्तु, चाँदी र यसका सामान, मिश्रित रबर, चुरोट, विद्युतीय किचन सामग्रीमा कर बढाएको छ ।

कतिपय सामानको आयात महसुल ६ः५ प्रतिशतबाट १५ प्रतिशत पु¥याएको छ । पूर्वाधार, ढुवानी आदिमा त्यहाँ दिइएको अनुदानको तुलनामा हाम्रो कृषि र पूर्वाधार अनि ढुवानी सहज छैन, सस्तो छैन । त्यहाँको रेल्वे बजेट हेर्दा र यहाँको ग्रामीण अवस्थाले सोको पुष्टि गर्छ । उताको जस्तो जीडीपी हामीकहाँ कम छ, हामीलाई सहज भने छैन ।

हामीकहाँ कर्जाको सुविधा कम, सिंचाइ कम, मलको हाहाकारले पनि उत्पादित वस्तु निर्यातको सम्भावना हुँदाहुँदै निर्यात गर्न सकेको अवस्था छैन । त्यहाँको जस्तो कर छुट, ऋणमा सहजता, ज्येष्ठ नागरिकप्रतिको आयकर छुटको प्रावधान हामीसँग छैन ।

दिल्ली र पन्जावको घनाबस्तीमा समेत धारा–बत्तीको महसुलमा छुट कसरी दिन सक्यो होला उसले ? हामीकोमा भने जनताको ढाडमात्रै सेक्ने अनि मिसन चौरासी भन्दै उफ्रने मात्र ? हाम्रा नेताहरुले दिल्लीतिर दौडने मात्र नभई त्यहाँबाट सिकेर आफ्नो मुलुकलाई पनि बनाउन खै सकेको ?

प्रतिक्रिया दिनुहोस्