असफल राजनीतिज्ञ तर सफल साहित्यकार बीपी



स्वर्गीय बीपी कोइरालाको पूरा नाम विश्वेश्वरप्रसाद कोइराला । उनी कसैका सान्बाबु, कसैका सान्दाजु आदि पनि हुन् । उनी बहुमुखी प्रतिभाका धनी हुन् । यसै कारण हामी सबैले कदर गर्नलायककै व्यक्तिमा उनी गनिन्छन् । बीपीलाई धेरैले राजनेताको नाममा समेत सम्मान प्रकट गरेको पाइन्छ । तर अलिक दुःखका साथ भन्ने हो भने उनी सफल साहित्यकार र असफल राजनेता हुन् भन्दा फरक नपर्ला । यदि उनी राजनीतिमा सफल राजनेता भएका हुन्थे भने नेपालमा १०४ वर्षीय निरङ्कुश राणा शासन पतन भई उज्यालो दिनका रुपमा आएको राजनीतिक परिवर्तनमा २०१७ सालमा अंकुश लाग्दैनथ्यो । विशेषतः बीपीकै पदलोलुपताका कारण मातृका कोइरालासँग कचिङ्गलो बढेर जान थालेका कारण तत्कालीन राजा महेन्द्रले एक दशक लामो समय पनि अभ्यस्त हुन नपाउँदै निर्दलीय पञ्चायती व्यवस्थाको घोषणा गर्न बाध्य हुनुपरेको घटनाले पनि यो कुरा प्रस्ट पारेको छ । यदि बीपी राजनेता हुन्थे भने आफूले कुनै पदको लालच नगरी प्रजातन्त्रलाई जोगाउने र हुर्काउने कर्ममा लाग्ने थिए । यही कारणले केवल राजनीतिक कार्यकर्ता र राणा शासन ढाल्नमा एउटा सहयोगी पात्रको रुपमा बीपीको मूल्याङ्कन गरिँदा अन्याय हुन्छ जस्तो लाग्दैन ।

वि.सं. १९७१ भदौ २४ गते भारतको बनारसमा जन्मन पुगेका बीपी कोइरालालाई नेपाली आख्यान (कथा, उपन्यास) साहित्यमा नौलो आयाम थप्ने सफल साहित्यकारका रुपमा बढी सम्मानसाथ लिइन्छ । उनले नेपाली कथा, उपन्यास आदि क्षेत्रमा आम मान्छेका परिस्थितिजन्य मनोभावहरु दबिएर रहेका हुन्छन् र अनुकूल समय भएपछि ती स्वतः प्रकट हुन थाल्छन भनेर आम मानिसको मानसिकतालाई उधिनेर देखाउने काम गरेका छन् । त्यतिमात्र होइन कि उनले उमेर पुगेका वा वयष्क उमेरका मानिसलाई उनीहरुका चाहनानुसारको यौनाभाव भयो भने के–कस्ता विकृतिहरु देखा पर्दछन् भनेर निकै राम्ररी विश्लेषण गरेका छन् । उनी पाश्चात्य साहित्यकार वा यौन मनोविश्लेषणका दार्शनिक मानिने व्यक्तित्व सिग्मन्ड फ्रायडका यौनदर्शनबाट निकै प्रभावित भएका देखिन्छन् । आम युवायुवती होऊन् कि आम वयष्क मानिस होऊन्, उनीहरुमा विपरीत लिङ्गी यौनदर्शनको र भोगको चाहना दबिएरै रहेको हुन्छ । यसरी दबिएर रहेको यौनेच्छा अनुकूल समय आएपछि र कहिले त प्रतिकूल समयमै पनि विकृतरुपमा देखा पर्न थाल्छ भन्ने भाव बीपीका कथा र केही उपन्यास सहित्यमा पाइन्छ ।

हामी आम मानिस जङ्गली अवस्थाबाट थोरै–थोरै विकास हुँदै र सभ्य हुँदै आजको वैज्ञानिक र प्राविधिक युगमा आइपुगेका छौँ । अपितु हामीभित्रको बर्बर जङ्गली सोच, समझ तथा व्यवहार यदाकदा प्रकट भएरै हाम्रो वास्तविकता प्रकट गरिरहेको हुन्छ भन्ने कुरा घुमाउरो तरिकाले सिग्मन्ड फ्रायडले बताएका छन् । हाम्रा धर्मशास्त्रमा पनि हामी आम पशु र मानवभित्र यौनेच्छा पनि निहित हुन्छ र बेला–बेलामा प्रकटसमेत भइराखेको हुन्छ भन्ने कुरा हामी सबैले भोगेको विषय हो । कथाकार बीपीले यसै विषयलाई लिएर विविध पात्रहरु सिर्जना गर्दै तिनैका हाउभाउ र वार्तालाप वा एकालापको माध्यमबाट तिनका हृदयमा परिस्थितिले पारेको प्रभावको शृङ्खला देखाएका छन् ।

साहित्यकार बीपी कोइरालाले शुद्ध मनोविश्लेषण गरेर लेखेका कथाहरुमा दोषी चस्मालगायतका कथा पर्दछन् भने शुद्ध यौन मनोविश्लेषण गरेर लेखिएका कथाहरुमा कर्नेलको घोडा, श्वेतभैरवी, पवित्रा आदि पर्दछन् । दोषी चस्मा जुन शुद्ध मनोविश्लेषण गरिएको कथामा केशवराज नामका युवा तर मानसिकता निकै कमजोर भएका र दासत्वको भाव बोकेर बाँच्ने एक युवाको मनको विश्लेषण निकै रचनात्मक तरिकाले गरिएको छ । दोषी चस्मा कथाका ती नायक पात्र केशवराज राणा शासनकालमा आम नेपाली जनताको आर्थिक अवस्था कस्तो थियो, उनीहरु कस्तो मानसिकता बोकेर बाँच्थे ? भन्ने कुरा देखाउन खोजिएको छ । ती युवा केशवराज पात्र राणा जर्नेल साहेबको चाकरी गर्न दैनिक जर साहेबको दरबारमा जान्छन् । केशवराजजस्ता जर साहेबको चाकरी गरेर कुनै दिन बक्सिसको रुपमा केही थोरै रुपियाँ, पैसा, पाए भने त्यसै पैसाले आफ्नो गुजारा चलाउन खोज्ने पात्रका रुपमा देखिन्छन् केशवराज । चाकरी गर्न दैनिक जर साहेबको आलिसान दरबारको तल्लो चौरमा भेला हुने धेरै चाकरीबाजमध्येका एकजना पात्र केशवराज हुन् । त्यो दिन अर्थात् भदौ महिनाको अन्त्यतिरको कुनै दिन पसाउँदै गरेको मगमग वासना आउने धानको फूलको मीठो बासनाको आनन्द लिँदै, फोक्सो स्वच्छ हावाले भर्दै केशवराज जर साहेबको दरबारतिरको बाटोमा जाँदै हुन्छन् । यसै बेला बीचबाटोतिर पुग्दै गर्दा एउटा ठूलै मान्छेको गाडी हर्न बजाउँदै आउँछ । केशवराजले मनमा कुरा खेलाउँदै त्यो गाडीतिर नजर दिए पनि वा नियालेरै हेरे पनि गाडीको नम्बर प्लेट राम्ररी देख्न र जर साहेबकै गाडी हो भनेर ठम्याउन नसकेपछि गाडीको अगाडिको सिटमा बसेका जर साहेबलाई राम्ररी ठम्याएर देख्न र चिन्न सक्दैनन् । पछि गाडी अलि पर पुगेपछि उनी हतार–हतार गाडीको नम्बर प्लेट हेरेर गाडीमा सवार भइराखेका जर साहेबलाई सलाम गरे पनि उनको मनमा एउटा न एउटा विष्मय वा पछुतो रहेरै तुस बनेर उनलाई दुःख दिइरहन्छ । उनको मनले ठान्छ कि चस्माको पावरले नभेटेर मैले जर साहेबलाई अगाडिबाट सलाम गर्न पाइन, अब जर साहेब मदेखि असाध्यै रिसाएर मलाई केही न केही सजाय अवश्य दिनुहोला । यस्तो विचार आएपछि नजानिदो भयले उनलाई दुःख दिन थाल्छ । बेलुका घरमा पुगेर आफ्नी धर्मपत्नीलाई अनेक गाली गर्ने, खाना नखाई सुत्न खोज्ने र श्रीमतीले चिन्ताको कारण सोध्दा पनि गोलमटोल कुरा गरेर यथार्थ कुरा बताउन चाहँदैनन् उनी । त्यतिमात्रै होइन, जर साहेबलाई अगाडिबाट सलाम नगरेको अपराधमा अब आफूले कस्तो सजाय पाइने होला ? भन्ने भयले समेत उनको मानसपटललाई हायलकायल पारेको हुन्छ । यसरी आफैँले गरेको कमजोर कामका कारण उनीभित्र विकास भएको डर–त्रासले गर्दा दुई–तीन छाक खानासमेत खाएनन् । उनी आफूलाई कमजोर ठानेर निरीहसमेत बन्न पुग्छन् । उनलाई आफ्नी प्यारी श्रीमतीदेखि समेत भयङ्कर रिस उठ्न थाल्छ । यसरी रिस उठेपछि श्रीमतीलाई अनेक गालीगलौजको भाषा प्रयोग गर्नसमेत उनी पछि पर्दैनन् । बेलुका आराम गर्दा पनि उनी बिरामी मान्छेको जसरी हँहँको आवाज निकाल्छन् । यसरी चाकरीमा भूलचुक हुँदा वा अगाडिबाट सलाम गर्न नपाउँदा केशवराजको मनमा पैदा भएको आशङ्काले उनको हृदयलाई जलाएर छियाछिया बनाएको जस्तो लाग्छ ।

बेलुका श्रीमतीले फेरि राम्ररी केरेर सोधेपछि आफूले गरेको गलत काम र यसको परिणाम आफू चाकरीबाजबाट बाहिर रहनुपर्ने अवस्था सिर्जना हुने कल्पना गर्दै उनको मन निकै बिथोलिन खोज्छ । जब उनकी धर्मपत्नीले थाहा पाएपछि जर साहेबसँग गएर माफी माग्नुपर्ने कुरा बताएपछि उनी केही मात्रामा आश्वस्त हुन त पुग्छन् तर रातिको समय हुनाले कहिले उज्यालो होला र जर साहेबको ढोकामा पुगेर माफी मागौँला भनी हतारिन्छन् । हतारिएर जर साहेबको दरबारको ढोकामा पुग्नुअगावै जर साहेब कसैलाई निकै घृणित शब्दमा हकारिरहेका हुन्छन् । जर साहेबले अरु कसैलाई नभएर मलाई नै हकारेका होलान् भन्ने मानसिक सोचका कारण केशवराज माफी माग्ने कुरा बिर्सेर हतार–हतार घरतिरै फर्केर दौडन्छन् । अर्को दिन मौका मिलाएर जर साहेबको नजिकै पुगी माफी माग्दै चस्माको कारणले स्पष्टसँग नदेखेकाले अगाडिबाट सलाम गर्न नसकेको कुरा बताउँछन् । तर जर साहेबलाई केशवराजले सलाम नगरेकोमा कुनै गुनासो त के चासो वा वास्तासमेतको आभास भएको हुँदैन । जर साहेबको यस्तो मानसिकता भएको कुरो बुझेका केशवराज १० वर्ष जेल परेर मुक्त भएको मानिस जति धेरै खुसी हुन्छन् त्योभन्दा पनि धेरै गुना बढी खुसी हुँदै घरतिर फर्कन्छन् । घर फर्कंदा आफ्नी श्रीमतीको हालत देखेर उनलाई धेरै दया लाग्छ । उनी आफैंलाई पनि जर साहेबको चाकरी गरेर सुख नपाएको गहन अनुभूति हुन्छ । तथापि त्यस्तो अनुभूति भए पनि उनको चाकरीबाजको मानसिकतामा रुमलिएको मानसिकताले अरु कुनै काम गरेर भए पनि आफू बाँच्न सक्छु भन्ने आँट उनको मनमा आउनै सक्दैन ।

यसरी बीपीले अर्को मानिसको मनभित्रका भावनालाई मौन तबरले चोरेर सर्वाङ्ग र उदाङ्ग बनाइदिएका छन् । आफूभन्दा अग्रज कोही पनि साहित्यकारले अरु नै गोरेटो बाटो हिँढ्दै गरेका बेला यौन मनोविश्लेषण होस् कि मनोविश्लेषण मात्र होस्, यसको धारलाई अँगालेर सफल साहित्य सिर्जना गर्न सक्नु मात्र होइन सर्वत्र लोकप्रिय बनाउन सक्नु पनि साहित्यकारको चामत्कारिक खूबीको विषय हो ।

बीपीले मनोविश्लेषणवादीभन्दा यौन मनोविश्लेषणवादी कथाहरु अधिक लेखेका छन् । संख्यात्मकरुपमा मात्र नभएर गुणात्मक रुपमा पनि उनका यौन मनोविश्लेषणवादी कथाहरु निकै उत्कृष्ट रहेका छन् । जसको ज्वलन्त उदाहरण प्रस्तुत गर्नुपर्दा कर्नेलको घोडा कथालाई अग्रपङ्तिमा राख्नु उपयुक्त हुनेछ । एकजना अवकाशप्राप्त सैनिक जर्नेल, जो ६० वर्षको उमेर पार गर्दै गरेकाले एकजना २०–२२ वर्षकी तरुनी विवाह गर्न पुग्छन् । तिनलाई हरेक प्रकारका सुविधा दिएर खुसी बनाउन खोजे पनि यौन असन्तुष्टिका कारण कर्नेल्नी कहिल्यै खुसी हुन सक्दिनन् । बरु उनी कर्नेलको तबेलामा बाँधेको तरुनो घोडाको चाकर गरेर आफ्नो यौन असन्तुष्टिलाई सन्तुष्टिमा बदल्न खोज्छिन् । यो कुरा कर्नेल साहेबलाई मन नपरेर घोडाको चाकरीबाट कर्नेल्नीलाई छुटाउन खोज्दा कर्नेल्नी रिसाउनुका साथै अझै निर्लिप्त भएर घोडाकै चाकरीमा लाग्न थालेपछि कर्नेलले अरु प्रयास गर्न छोड्छन् । एक दिन घोडसवार भएका कर्नेललाई घोडाले बिठ्याइँ गरेर लडाउँदा कर्नेल्नी आफूले जितेको र कर्नेलले हारेको भाव अनुहारमा छरेर निर्धक्कसँग खित्का छोड्दै हाँस्छिन् । कर्नेल्नीको यो हाँसोले कर्नेललाई असह्य पीडा र अपमानबोध हुन्छ । त्यसपछि कर्नेल्नी निकै फूर्तिसाथ घोडसवार हुन्छिन् । घोडाले अलिकति पनि बिठ्याइँ नगरी कर्नेल्नीलाई सवार गराउँछ । यो सबै परिवेशले कर्नेलको मानसमा क्रोधको पारो ह्वात्तै माथि चढ्न पुग्छ । कर्नेल्नीले रोक्न खोज्दा पनि कर्नेलले राइफलको गोली हानेर बलजफतसँग घोडा मार्छन् । यसरी आफ्नो अपमान गरेको र रिस उठेको दुवै परिवेशलाई शान्त पार्ने प्रयासमा कथा सकिएको छ ।

कथाकार बीपीका मनोविश्लेषणवादी कथाभन्दा पनि यौन मनोविश्लेषण गरिएका कथाहरु नेपालको त्यस बेलाको परिवेशमा समेत ग्राह्य हुने गरी सिर्जना गर्न सक्नु उनको कलमको चामत्कारिक विशेषता मान्न सकिन्छ । त्यसैले बीपीलाई असफल राजनीतिज्ञ र सफल साहित्यकार भन्न मन लाग्छ ।

प्रतिक्रिया दिनुहोस्